बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा एकैपटक पाँच सय ट्राफिक स्वयंसेवक परिचालन

आइतबार, ०५ असोज २०७६, १५ : ००
आइतबार, ०५ असोज २०७६

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एकैपटक पाँच सय ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ गरेको छ ।

ट्राफिक सवारी क्यू, जाम र सडक यात्रुहरुलाई मध्यनजर गर्दै महाशाखाले एकैपटक पाँच सय ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । 

महाशाखाको नेतृत्व सम्हालेसँगै महाशाखा प्रमुख अर्थात एसएसपी ढकालले १५ दिनसम्म चल्ने अभियानमा ट्राफिक स्वयंसेवकले जेब्रा क्रसिङमा यात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ तथा आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, ‘पिक एण्ड ड्रप’ व्यवस्थित गर्ने, लेन व्यवस्थापन गर्ने र यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने काम गर्ने जानकारी दिए । 

अभियान उपत्यकाको दरबारमार्ग, केशरमहल, जमल, वीर अस्पताल, न्यूरोड, त्रिपुरेश्वर, कलंकी, महाराजगञ्ज, बीएण्डबी अस्पताल, कोटेश्वरलगायतका २५ स्थानमा सञ्चालन हुनेछ । २५ स्थानमा २० जनाको दरले स्वयंसेवक परिचालन हुनेछन् । 

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन झण्डै २ दर्जन विद्यालय, दुई युवा क्लब, १६ यातायात प्रा.लि., १० ख्यातिप्राप्त कलाकार, १२ एयरहोस्टेससहित ५०० स्वयंसेवकको सहभागिता रहने बताइएको छ । 

महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आइतबारदेखि ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका : गृहमन्त्री थापा

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताए । गृहमन्त्री थापाले संसार बदल्ने युवा जनशक्ति भएकाले युवालाई समावेश गरेर अगाडि बढ्न जरुरी रहेको बताए । 

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो अभियानले सहयोग पुग्ने उनको भनाइ थियो । उनले सडक दुर्घटनाका कारण वर्षेनी दुई हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरको भन्दै यस्ता अभियानलाई १५ दिनमात्र नभएर वर्षभरि चलाउनसके दुर्घटनामा समेत कमी आउने बताए । 

यस्तै कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले चालु आ.ब.लाई सरकारले युवा परिचालन वर्षका रुपमा घोषणा गरेकाले समृद्ध मुलुक निर्माणका लागि युवालाई परिचालन गर्ने बताए । 

उनले यस वर्ष परिषद्ले युवामुखी ११ कार्यक्रमलाई अगाडि सारेको भन्दै सभ्य र अनुशासित युवा निर्माणमा यस्ता अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यस्तै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष नजिकिएसँगै विदेशी पर्यटकको पहिलो नजरमा ट्राफिक व्यवस्थापन र ट्राफिक प्रहरी पर्ने भएकाले यसलाई चुस्त, दुरुस्त बनाउन मातहतलाई निर्देशन दिएका छन् । 

‘राजधानीको प्रमुख पर्यटकीयस्थल ठमेल र प्रमुख धार्मिकस्थल पशुपतिनाथमा सवारी प्रवेश निषेध गरेकाले यहाँको सौन्दर्यता बढेको छ’, उनले भने । 

कार्यक्रममा हास्य कलाकारद्वय मनोज गजुरेल र जीतु नेपालले ट्राफिक नियमलाई चुस्त, दुरुस्त बनाउनका लागि हरेक व्यक्तिमा जनचेतना आवश्यक रहेको उल्लेख गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप