शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानबाट भागेर अमेरिका पुगेकी गुलालाई इस्माइल

आइतबार, ०५ असोज २०७६, ०८ : ५९
आइतबार, ०५ असोज २०७६

सेनाविरुद्ध आवाज उठाउने पाकिस्तानी मानवाधिकार कार्यकर्ता महिनौंसम्म लुकेपछि पाकिस्तान छोडेर भागेकी छिन् ।

पाकिस्तानी मानवाधिकार कार्यकर्ता गुलालाई इस्माइल अब अमेरिकामा छिन् । इस्माइल पाकिस्तानी सरकारको निशानमा थिइन् तर उनीमाथि लगाएको यात्रा प्रतिबन्धबाट बचेर देश छोडेर भाग्न सफल भएकी छिन् ।

पाकिस्तानले इस्माइलमाथि ‘राज्य विरोधी गतिविधी’ र ‘हिंसा भड्काएको’ गम्भीर आरोप लगाएको छ ।

इस्लाइलले आफ्नो ज्यानमाथि खतरा भएकाले देश छोडेर भाग्न बाध्य भएको बताइन् । समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले भनिन्, ‘यदि मलाई जेलमा राखेर वर्षौंसम्म प्रताडित गरिएको भए मेरो आवाज दबिन्थ्यो ।’

उनका पिता मुहम्मद इस्माइलले बीबीसी उर्दूसँगको कुराकानीमा इस्माइलविरुद्ध पाकिस्तानी अदालतमा ६ मुद्दा दर्ता भएको र छोरीको ज्यानमाथि गम्भीर खतरा भएको बताए ।

उनले भने, ‘गुलालाइले यतिबेला देश छोड्ने निर्णय गरिन् किनभने उनको ज्यानलाई खतरा भएको महसुस भयो । तत्काल देश नछोडे उनीमाथि जे पनि हुनसक्ने उनलाई भित्रैदेखि भान भयो ।’

इस्माइलले एक बयानमा भनिन्, ‘पछिल्ला केही महिना निकै मुश्किल रहे । मलाई धम्की दिइयो र अत्यधिक तनावमा पारियो । म भाग्यमानी हुँ कि म जिउँदो रहन सकेँ ।’

इस्माइलले यात्रामा प्रतिबन्ध लगाइए पनि देश छोड्न कसरी सफल भइन् भनेर स्पष्ट पारेकी भने छैनन् । तर उनले द न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भनिन्, ‘म हवाई अड्डाको बाटो भएर देशबाट निस्किएकी होइनँ ।’

३१ वर्षीया मानवाधिकार कार्यकर्ताले अब राजनीतिक शरणका लागि अनुरोध गरेकी छिन् र अहिले उनी न्यूयोर्कमा आफ्नी बहिनीसँग बसिरहेकी छिन् ।

पछिल्ला केही वर्षदेखि इस्माइल मानवाधिकारको हननको मुखर आलोचक हुन् । इस्माइल विशेषगरी महिला र युवतीहरुविरुद्ध भइरहेको अत्याचारविरुद्ध आवाज उठाउने गर्छिन् ।

यद्यपि, यस्तो लाग्छ कि उनले पछिल्लो वर्ष नै सरकार र आधिकारीको ध्यान आफूतर्फ खिचेकी छिन् । जब इस्माइलले अफगानिस्तान सीमा नजिकै सेनाको कारवाहीमा यौन शोषणको शिकार भएका महिलाको वकालत गर्न थालिन् तब उनी सरकारको नजरमा परेकी थिइन् ।

जब एक बालकले सुरक्षा बलले आफ्नी आमामाथि गरिरहेको व्यवहार बारे उनलाई जानकारी दिए तब उनलाई यो विषयले अत्यधिक बेचैन गरायो ।

उनले यस हप्ता वासिङ्टनमा एएफपीलाई भनिन्, ‘दर्जनौं महिलाले यौन उत्पीडनको घटना नयाँ कुरा नभएको बताए । यो व्यवस्थित तरिकाले वर्षौंदेखि हुँदै आइरहेको छ ।’

इस्माइललाई पहिलो पटक अक्टोबर सन् २०१८ मा लण्डनबाट फर्किरहेका बेला इस्लामाबाद हवाई अड्डामा पक्राउ गरिएको थियो । त्यतिबेला उनी पश्तून तहफ्फुज (संरक्षण) आन्दोलन वा पीटीएमद्वारा आयोजित एक र्‍यालीमा राज्य विरोधी भाषण दिने आरोपित १९ व्यक्तिमा समावेश थिइन् ।

यो वर्ष फेब्रुअरीमा उनलाई पुनः पक्राउ गरियो जब उनी पीटीएम कार्यकर्ता अरमान लूनीको मृत्युमाथि भइरहेको विरोधमा समावेश भएकी थिइन् । अरमान लूनीको मृत्यु जेलभित्र भएको थियो जबकी पुलिसले उनीमाथि कुटपिट गरिरहेको कुरा लगातार अस्विकार गरिरहेको छ । समूहका थुप्रै सदस्य अहिले पनि हिरासतमा छन् ।

इस्माइलले एएफपीसँगको कुराकानीमा उनलाई दुई दिनसम्म चिसो कोठामा केही खान पिउन नदिइ राखिइको बताइन् ।

तर मे मा पक्राउ परेपछि उनले लुक्ने निर्णय गरिन् । त्यतिबेला उनी एक इस्लामिक उपनगरमा १० वर्षीया पश्तून बालिका फरिश्ताको बलात्कार र हत्यामाथि भइरहेको विरोधमा समावेश थिइन् । यतिबेला उनीविरुद्ध ‘राज्य र अन्य राष्ट्रियताविरुद्ध ’ उक्साएको आरोप लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप