केन्द्रीय संस्करण

कविता : मेरा बा

person explore access_timeअसोज ४, २०७६ chat_bubble_outline0

-सुनिलबाबु श्रेष्ठ 

घुप्लुक्क घामका झुल्काहरु 
धतीमा पोखिन नपाउँदै मेरा बा कामका लागि
झिसमिसेमै घरदेखिको उकालो स्वाँ स्वाँ गर्दै 
माथि माथि डाँडाको थुम्कोमा पुग्थे ।
अनि त्यसरी नै हतार हतार उही बाटो ओरालो झर्दै झर्दै
निथ्रुक्क पसिनाले भिज्दै घर पुग्थे 
र, दुई चार गाँस तातो भात टिप्दै 
हतारिँदै हतारिँदै पुनः अर्को काममा पुग्थे ।

थाहा छैन मेरा बा’ले यो जागिरे जीवनमा 
कति चोटि सूर्य उदाएका देखे होलान् 
कति चोटी सूर्य अस्ताएका देखे होलान् ।
तर मेरा बा जोतिइरहे आफ्ना लालाबालाका अनुहारमा जुन ल्याउन
आफ्ना घरको झ्यालबाट न्याना घामका झुल्काहरु पसाउन
ताकि आफ्ना सन्तानका ओछ्यानहरुमा ढुसी नउम्रिऊन
चिसाले आतिएर आधा निन्द्रामा नउठून् भनेर ।

मेरा बा’को सबैभन्दा प्रिय र ठूलो सम्पत्ति थियो ‘इमान’ 
माल कमाउने अड्डा भनेर चिनिने अड्डामा हुँदा पनि कुनै गरिबको श्वास लुटेनन्  
छोराछोरीका लागि कुनै आमाले साचेर राखेको गाँस लुछेनन् 
कसैको घरको धुरी च्यातेनन् 
मेरा बा भन्नुहुन्थ्यो 
‘आफ्नै पसिना र मिहिनेतभन्दा पर गएर कुनै गरिबको आशा र आँसु नलुट्नू ।

मेरा बा निराशा नै निराशाका भारी बोकेर
फुटेका पैताला र च्यातिएका टोपी लगाएर कार्यालय आएका मान्छेहरुलाई 
जतिसक्दो चाँडो घर पठाऊन आतुर हुन्थे 
त्यसबापत आफ्नै सहकर्मीहरु
मेरा बा’लाई लुकीलुकी आँखा तर्थे र मौका पर्खेर बस्थे ।

पूर्वका मेरा बा’लाई इमान राखेबापत 
सरुवाको नाममा कर्णालीको कालिकोट हुत्याइन्थ्यो 
कहिले अनकन्टार गाउँमा फालिन्थ्यो 
राज्यले गौरव गर्नुपर्ने माया गर्नुपर्ने मेरा बा’लाई 
कहिले निलम्बन गरिन्थ्यो 
कहिले झुटा मुद्दा लगाइन्थ्यो 
आफ्नै देशमा लुकेर बस्नुपर्ने बनाइन्थ्यो 
विचारा रोगले च्यापेका मेरा रोगी बा 
जबर्जस्ती व्यवस्थाको विद्रोही बनाइयो ।

चालिसाँै जागिरे जीवन भरी आकासतिर हेरेर कुनै दिन 
मेरा बा’ले खुइया गर्दै सुस्केरा हालेको देखिएन 
कसैप्रति गुनासो गरेको पनि सुनिएन 
आफ्नै कर्ममा विश्वास गरिरहे 
त्योभन्दा पर पर गएर मेरा बा’ले अरू कुनै सन्तोष खोजेनन् ।
 
तर उत्ताद्र्धमा मेरा बा’ले 
आफ्नो अधिकार पाउन, बाँच्ने आधार बनाउन काठमान्डू आएर   
दुई चारवटा सयका दामहरु चडाउनुपर्यो
मेरो बा’लाई जबर्जस्ती इमान बेच्न लगाइयो
किनकि बाँकी जीवन मेरा बा’लाई आरामले बाँच्नु थियो ।

कहिले हात नथापेका मेरा बा 
आज कसैको हातमा दाम राख्दिनुपर्दा अफसोच मानिरहेका छन् 
किनकि ती हात थाप्नेहरु 
कोही असाहय थिएनन्, कोही रोगी थिएनन् 
थिए त ती लुटिएका आलिसान बङ्गलामा 
मोजमस्ती गरिरहेका सच्चा राष्ट्रसेवकहरू ।   

बल्ल आज मेरा बा’ले आकाशतिर हेरेर लामो सुस्केरा हाले 
छक्क पर्दै जडवत धर्तीमा उभिरहे...उभिरहे....


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...