केन्द्रीय संस्करण

कथा : पाले दाइ

person explore access_timeअसोज ४, २०७६ chat_bubble_outline0

-जितु खड्का

बिहान साढे नौ बजे मात्र बस्नुपर्ने प्रार्थना आज बेलुका पनि बस्नुपर्ने भयो । हामी अलमल्लमा पर्यौँ । प्रार्थनामा सबै विद्यार्थीहरू आआफ्ना कक्षाअनुसार लहरै मिल्दै आउँथ्यौँ । मिलेर बस्यौँ तर स्कुलमा पाइला टेकेपछि गेटनजिकै टक्क उभिएर हामीलाई स्वागत गर्ने पाले दाइ आज आफ्नो ठाउँमा थिएनन् । उनी बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । यो कुरो सुनेपछि मेरो मन अमिलो भयो । 

‘आखिर के भयो उनलाई ?’ मनमा विभिन्न प्रश्नहरू जन्मिरहे । आज म कसैको सम्झनामा व्यथित बन्दै थिएँ । सर आउनुहुन्थ्यो । पढाएर जानुहुन्थ्यो । मैले कति पढेँ भन्न सक्ने अवस्थामा थिइनँ । पाले दाइलाई बस्न गेटनजिकै जस्तापाताको छानो भएको एककोठे सानो घर थियो । दिनभरजसो मैले झ्यालबाट उनैलाई खोजिरहेँ । 

‘पाले दाइलाई त अस्पताल लगेका छन् रे !’ म बारम्बार सम्झिरहन्थेँ ।

कक्षामा नबोली धुम्धुम्ती बसेको देखेर सरले सोध्नुभएको थियो– ‘वरुण, तिमी किन पढाइमा ध्यान दिँदैनौ ?’ त्यसवेला म कुनै जवाफ नदिई मौन भएर बसिरहेको थिएँ । मलाई लागिरहेको थियो– पाले दाइ भएको ठाउँमा पुगूँ, थपक्क बसूँ । विडम्बना ! उनी सधैँ बस्ने मेचमा थिएनन् तर मेरो मनले उनलाई त्यहीँ देखिरहेको थियो ।  

गाढा नीलो पाइन्ट र हल्का नीलो रङको सर्ट, कम्मरमा चौडा बेल्ट, शिरमा भादगाउँले टोपी, कडा पावर झल्किने बाक्लो चस्मा, गलामा हरदम एउटा सिटी र हातमा सानो छडी । यसैले उनको परिचय दिन्थ्यो । 
म कक्षामा सर–म्यामका अघि प्रस्तुत हुन डराउँथे, जब कि पालेदाइका सामु हर्षित भएर उभिन्थेँ । कहिले गृहकार्य खोई भन्दै, कहिले कक्षामा हल्ला गर्छस् भन्दै अनि कहिले कस्तो नराम्रो ‘हेनराइटिङ’ भन्दै मलाई सर–म्यामले गाली गर्नुहुन्थ्यो । यो घेराबाट कहिले फुत्किने होला, म यही सोचिरहन्थेँ । 

गेटमा स्वागत गर्न बसेका पाले दाइ हामीलाई न सजाय दिनुहुन्थ्यो न कहिल्यै रिसाउनुहुन्थ्यो । हामीले खेल्ने बास्केटबल, टीटी बल, क्यारमबोर्ड उनैका अधीनमा हुन्थे । हामीले माग्नासाथ उनी दिइहाल्थे । त्यसै पनि पढ्नमा भन्दा खेल्नमा रुचि राख्ने हामी, उनको मायालु व्यवहारबाट खुसी नहुने कुरै आउँदैनथ्यो । कहिलेकाहीँ घण्टी लागिसकेको हुन्थ्यो ।  हामी खेल्न छोड्दैनथ्यौँ । हातको सानो लट्ठीले पिट्न खोज्दै हामीलाई घण्टी लागिसक्यो, अझै खेलेर बस्छौ भनी कक्षामा जान पे्ररित गर्थे उनी । हामी पनि कम थिएनौँ  । उनको सोझोपनको फाइदा उठाएरै छोड्थ्यौँ । हामीबाट बास्केटबल खोस्न उनलाई निकै गाह्रो पथ्र्यो । 
एक दिनको कुरा हो । पुसको महिना थियो । स्कुलमा खेलकुद सप्ताह चलिरहेको थियो । अघिल्लै दिन सर–म्यामहरुले भोलि चाहिँ फुट्सल जानुपर्छ खेल खेल्न, सबैले ‘होम मेड टिफिन’ ल्याओ है भन्नुभएको थियो । हामीले सोहीअनुसार गरेका थियौँ । स्कुल बसले एघार बजेतिर हामीलाई फुटसलमा पुर्याएको थियो । खेल खेलिसकेर हामी बेलुका तीन बजेतिर स्कुल फर्केका थियौँ । बस स्कुलमा पुगेर रोकिएपछि हामी तितरबितर भयौँ र लाग्यौँ आआफ्ना घरतिर । घर पुगेर खाना पनि नखाई म त चाँडै निदाएछु । दिनभरको थकानले भोकै मरिसकेको थियो होला सायद । बेलुका आमाले मेरो ब्याग खोल्नुभएछ । हेर्दा उहाँले थाहा पाउनुभएछ मेरो टिफिन बक्स, बाटर बोटल झोलामा रहेनछ । 

भोलिपल्ट स्कुलमा पुगेर मैले साथीहरुसँग सोधेँ । तर कसैबाट पनि पत्ता लाग्न सकेन । म निन्याउरो अनुहार लिएर कक्षामा बसिरको थिएँ । त्यसैवेला हस्याङ्फस्याङ गर्दै पाले दाइ आएर यो ‘तिम्रोे सामान हैन’ भनी वाटर बोटल र टिफिन बक्स मेरो हातमा राखिदिए । त्यति वेला गाह्रो लामो उकालो काटिसकेपछि भारी बिसाएजस्तो लाग्यो मलाई । म धेरै खुसी भएँ । 

त्यो घटनाले झस्काइरेछ आज पनि मलाई । म अनायसै त्यही अनुहार सम्झिन पुग्छु । मेरा आँखा गेटनेरै पुग्छन् । त्यसो त म यस स्कुलमा भर्ना भएको दिन पहिलो पल्ट कक्षाकोठासम्म पु¥याइदिने उनै थिए । 

उनी निरक्षर थिए । तैपनि बाहिरी ज्ञान उनमा धेरै थियो । ज्ञानगुनका कुरा गरेर हामीलाई मन्त्रमुग्ध पार्थें । त्यसो त सर–म्यामहरूले पनि उनलाई असाध्यै मन पराउनुहुन्थ्यो । 

लेखक

घरर्र स्कुलको गेट करायो । मेरा आँखा चनाखा भए । मैले ठूला–ठूला आँखा पारेर चारैतिर नजर डुलाएँ । तर मेरा आँखा रित्ता फर्किएँ । 

‘वरुण’ सरले मतिर सङ्केत गरेर पढाइतर्फ लाग्न निर्देश गर्नुभयो । म ढुक्क थिएँ– अझै पनि छुट्टीपछि पाले दाइलाई गेटमा पक्कै भेट्नेछु । उनी हामीलाई पर्खिरहेका हुनेछन् । 

साठी नाघिसकेका पाले दाइ उमेरले बूढो भएर के भो उनी हाम्रा साथी समान थिए । हामीसँग १० वर्षको बालक भएर खेल्थे । म गाउँका हजुरबा सम्झिन्थेँ उनलाई । 

हामी बेलौतीको बोटमा चढेर बेलौती झाथ्र्यौँ । माथि घरबाट बारीका कान्लामा तलसम्म फाल्हान्दै खेल्थ्यौँ । बा बाँसका चोया काढ्दै डोकोडालो बुन्नुहुन्थ्यो । म निकै जिज्ञासु भएर बाले गरेको काम हेरिरहन्थेँ । 
बा गाई चराएर घर फर्किएपछि बेलुका दूध तताउनुहुन्थ्यो र हामीलाई कुराउनी खान दिनुहुन्थ्यो । हामी सानासाना केटाकेटीले बालाई कति दुःख दियौँ होला । उनका काँधमा चढेर हामी परपरसम्म जान्थ्यौँ ।
स्कुलमा बाकै रूपमा पाले दाइलाई पाएको थिएँ मैले । 

टिफिन समय सकिएलगत्तै हामी कक्षामा पुगिसकेका थियौँ । कक्षा सुरु मात्र भएको थियो । त्यति नै वेला पियन दिदीले सूचना पत्र सरको हातमा थमाइदिनुभयो । पढ्दापढ्दै सरले अँध्यारो अनुहार लाउनुभयो र हामीलाई सूचित गर्नुभयो– पाले दाइ अब रहनुभएन यस संसारमा । हामी केटाकेटीले सरको कुरा राम्ररी बुझेनौँ । त्यति भनेपछि गोकुल सरले सबैलाई तल चौरमा लाइन लाग्न हिँड भन्नुभयो । हामीले त्यसै ग¥यौँ । 

सबै मौन थिए । मैले सानै भए पनि प्रस्ट रूपमा बुझेँ । महँगो उपचारको भार थेग्न नसकी पाले दाइले उपचारलाई निरन्तरता दिन नसक्दा संसारै त्याग्नुपर्ने कारुणिक अवस्था आयो । हामी शोकमग्न भयौँ । एक मिनेटको मौनधारण सकेर चौरबाट शोकसभा तितरबितर भयो । 

म गेटनेर पुगेर टोलाइरहेँ ।

कसैको स्वागत रुँघेझैँ, कसैको बिदाइ पर्खेझैँ मेरा लागि अझै पनि स्कुलको मूलद्वारमा थिए उनी । मान्छे उनलाई मूलगेटमै छोडेर ओहोरदोहोर गरिरहेका थिए । मलाई स्कुलको घण्टी बजिरहेजस्तो लाग्यो । 

जसले कर्मको धागाले धेरैका सपनाहरू सिलाए तर आफै फाटेको चालै पाएनन् । मैले कसैलाई आफ्नो भावना व्यक्त गर्न सकिनँ । कसैका सामु आफ्नो वेदना पोख्न सकिनँ । कसैलाई मेरो निमोठिएको हृदय देखाउन सकिनँ । थाहा छैन मेरा निम्ति उनी किन यति प्रिय भए । म संवेदित भएँ । केही बोल्नै सकिनँ । साँच्चै पाले दाइ दुवै हात हल्लाइरहेका थिए । 

हेर्दाहेर्दै उनी मेरा आँखाबाट ओझेल परे तर बाटाभरि मलाई मेरै आँसुले रुझाइरह्यो । 



 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...