बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्याड्रिड फर्कने हल्लाबारे यसो भन्छन् मोरिन्हो

शनिबार, ०४ असोज २०७६, ११ : ३६
शनिबार, ०४ असोज २०७६

एजेन्सी । ट्रान्सफर मार्केटमा ठूलो धनराशी खर्च गरेपनि स्पेनिस महारथी रियल म्याड्रिडले नयाँ सिजनमा सुखद सुरुवात गर्न सकेको छैन ।

घरेलु लिगमा भालाडोलिड र भिल्लारियालसँग बराबरीमा रोकिएको रियल च्याम्पियन्स लिगको पहिलो खेलमा पेरिस सेन्ट जर्मेनसँग ३–० को लज्जास्पद हार बेहोर्न बाध्य बन्यो ।

योसँगै पूर्व प्रशिक्षक जोसे मोरिन्हो जिनेदिन जिदानको स्थानमा पुनः रियल म्याड्रिड फर्कने चर्चा चल्न थालेको छ ।

यद्यपि, पोर्चुगिज प्रशिक्षकले ती हल्लाहरुलाई खारेज गरेका छन् । रियलकै पूर्व म्यानेजर रहिसकेका मोरिन्हो रियलको स्थिति सोचेजस्तो खराब नभएको जिकिर गर्छन् ।

ला लिगामा रियल शीर्ष स्थानमा रहेको सेभियाभन्दा मात्र दुई अंकले पछि रहेको छ । ‘उनीहरु तेस्रो कि चौथो छन्, होइन ? पहिलोभन्दा निकै नजिक,’ डेर्पोटेस कुआर्टोसँग कुरा गर्दै मोरिन्होले भने ।

‘यो खराब स्थिति होइन । लिगको टेबललाई हेर्ने हो भने उनीहरु शीर्ष स्थानभन्दा टाढा छैनन् । अब सेभियालाई हराएको खण्डमा उनीहरु शीर्ष स्थानमा पुग्न सक्छन् । बार्सिलोना उनीहरुभन्दा पछि छ भने एथ्लेटिको मात्र एक अंकले अघि छ ।’

जिनेदिन जिदानको स्थानमा रियल जाने मिडिया रिपोर्टलाई खारेज गर्दै उनले फ्रेन्च म्यानेजरले यो सिजन रियलमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे ।

‘जिदानले आफ्नो जीवन फुटबलमा बिताएका छन् । र, मेरो नाम त्यहाँ जोडिँदा मलाई मनपर्दैन । धेरै ठाउँमा समस्या हुन्छ । तर, सम्मान भन्ने कुरा पनि हुन्छ,’ उनले भने ।

‘म त्यहाँ फर्कन चाहन्न किनभने उनीहरुसँग अहिले म्यानेजर छ । पहिले नै म्यानेजर भएको टोलीलाई म प्रशिक्षण गर्न सक्दिनँ । कसैले केही बोल्दा क्लबको सम्मान गर्नुपर्छ अनि म्यानेजरको पनि किनभने उनी कुनै अर्को म्यानेजर मात्र होइनन् । मलाई आशा छ सबै समस्या समाधान हुनेछ ।’

उनले म्याड्रिड, बार्सिलोना, एथ्लेटिको, म्यान्चेस्ट युनाइटेड र चेल्सीजस्ता टोलीहरुमा ठूलो अपेक्षा हुने भएकोले यस्ता हल्ला फैलिने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप