केन्द्रीय संस्करण
डाक्टरका कुरा

के हो आर्थोस्कोपी र पोलीट्रमा ?

person explore access_timeअसोज ४, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

हाड जोर्नीको समस्यालाई सामान्य समस्याको रुपमा लिने गरिन्छ । किनभने नेपालमा हरेक व्यक्तिमा कुनै न कुनै समयमा हाड जोर्नीको समस्या हुने गरेको पाइन्छ ।

तर पहिले जस्तो हाड जोर्नीको समस्या भएमा थलिएर बस्नुपर्ने अवस्था अब छैन । नेपालमा हाड जोर्नीको उपचारका विभिन्न विधिहरु लोकप्रिय छन् । सँगै नयाँ नयाँ प्रविधिले पनि प्रवेश पाएका छन् ।

विदेशमा प्रचलित स्वास्थ्य सेवालाई नेपालमै उपलब्ध गराएको नेपाल मेडिसिटी अस्पतालले पनि हाड जोर्नीको उपचारमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै आइरहेको छ ।

हाड जोर्नीको उपचारमा प्रयोग भएका नयाँ प्रविधि र पद्वतिबारे हामीले नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. शिशिर लाखेसँग गरेको कुराकानीको केही अंश ।

आर्थोस्कोपी

आज मानव शरीरका जोर्नीमा हुने कुनैपनि समस्याको सहज उपचार सम्भव छ । नयाँ नयाँ प्रविधि भित्रिएसँगै नेपालमा जोर्नीमा हुने समस्यामा उक्त उपचार पद्धतिको रुपमा विकास भएको एक पद्धति हो आर्थोस्कोपी ।

शरीरको कुनै पनि जोर्नीमा सानो प्वाल पारी त्यस प्वालको माध्यमबाट दुर्विन छिराएर जोर्नीको उपचार गर्ने प्रविधि नै आर्थोस्कोपी हो ।

दुर्घटनाको कारण वा मर्केर वा व्यायामको समयमा चोट लागेर जोर्नीमा समस्या भएमा (लिगामेन्टमा समस्या भएमा) आर्थोस्कोपी प्रविधिको प्रयोग गरिन्छ ।

नेपाल मेडिसिटीले आर्थोस्कोपीको माध्यम जोर्नीको उपचार गर्दै आइरहेको छ । सामान्य रुपमा भन्नुपर्दा घुँडाको चोट सबैको साझा समस्या नै हो ।

हिँड्दा, व्यायाम गर्दा, खेलकुदका क्रममा सहि सन्तुलन नहुँदा घुँडाको कुरकुरे हड्डी च्यातिन सक्छ । कतिजनाको घुँडा भित्रको नशा पनि च्यातिन सक्छ । त्यस्तो अवस्थामा त्यसको उपचार कहिले काँही अपरेशनबाट नै गर्नुपर्ने हुन्छ ।

३० औँ वर्षअगाडि घुँडालाई चिरेर, अपरेशन गरेर, च्यातिएको भागलाई सिलाउने वा निकाल्ने गरिन्थ्यो । त्यो निक्कै झन्झटिलो, पीडादायी र समय लाग्ने खालको हुन्थ्यो । तर आजभोलि त्यसो गरिबस्नै पर्दैन । दुरविनको प्रविधिबाट नै उपचार गर्न सकिन्छ, जुन सहज र कम पीडादायी हुने गर्छ । यसका लागि घुँडामा दुई वा तीन प्वाल पारेर दुरविनकाय न्त्रहरु भित्र पसाएर हेरिन्छ र अपरेशन यन्त्रहरु पनि प्रवेश गराएर अपरेशन गर्ने गरिन्छ । यो प्रविधिले अपरेशनलाई सहज बनाइदिएको छ । अझ भन्नुपर्दा यो प्रविधिले ठूलो अपरेशनलाई सानो बनाइदिएको छ ।

यसको अर्को फाइदा भनेको धेरै चिरफार गर्नु पर्दैन । सानो अपरेशनमा नै उपचार हुन्छ । यो उपचार पद्धतिलाई आर्थोस्कोपी सर्जरी भनिन्छ । यो प्राय घुँडामा गरिन्छ साथै, पाखुरा र गोलीगाँठामा पनि गरिन्छ ।

आजभोलि कुहिनामा, करङ र तिघ्रामा पनि गर्न थालिएको छ । ९० प्रतिशत अपरेशन त कुम र गोलिगाँठामा नै गर्ने गरिन्छ ।

अपरेशन गर्नुपर्ने अवस्था

यदी कुरकुरे हड्डी च्यातिएको छ, नशा चुडिएको छ, झिल्लीहरु सुन्निएको छ भने आर्थोस्कोपीको प्रयोगबाट अपरेशन गरिन्छ ।

झिल्लीहरु सुन्निएको खण्डमा भने ठूलो अपरेशनको जरुरत पर्दैन । दूरविनको माध्यमबाट दुइ वा तीनवटा प्वाल बनाएरै सामान्य अपरेशन गर्न सकिन्छ । यीबाहेक बाथरोगी, टिभी रोगमा बायोस्पी गरी पत्थर बनेको छ भने पनि निकाल्न सकिन्छ ।

यो अपरेशन निकै प्रभावकारी मानिएको छ ।  हालसम्मको तथ्याङ्क हेर्ने हो भने ९५ प्रतिशत भन्दा बढी अपरेशन सफल भएका छ ।

ओपन अपरेशन एवं आर्थोस्कोपी

आजभोली ओपन अपरेशन निकै कम हुन्छ । प्रविधिको विकाससँगै यसको प्रयोग बढेको छ र नयाँ प्रविधि बढी प्रभावकारी पनि देखिन्छ ।

पहिले अर्थोपेडिक सर्जन कम थिए, उपचार पद्धति थिएन । जनरल सर्जनलेनै अर्थोपेडिक्सका विरामी हेर्ने गर्दथे । प्रविधिहरुको विकास पनि भएको थिएन । तर २०÷२५ वर्ष यता प्रविधिमा धेरै नै विकास भएको छ । र, त्यही अनुसार यो सबै उपचार पद्धतिबाट उपचार गरिन थालिएको छ । र यो निकै सुरक्षित पनि छ ।

पहिले पहिले नशा चुडिँएको थाहा नै हुन्न थियो । मर्कियो भनेर बस्ने चलन थियो र सामान्य ब्यान्डेज वा नी क्याप लगाएरै बस्ने प्रचलन थियो । घुँडामा के समस्या भयो भन्ने थाहा पनि हुँदैन थियो ।

यो समस्या बढी खेलाडीहरुमा देखिन्छ । तर हाम्रो देशमा भने परिश्रम गर्दा नै यस्ता समस्या बढी आउँछ । उकालो ओरालो गर्दा, अग्लो स्थानबाट हाम्फाल्दा, गरुङ्गो उचाल्दा, बाईक चलाउँदा पनि यस्ता समस्या हुन सक्छ ।

समस्या भएमा डाइग्नोसिस गरेर उपचारमा लाग्ने हो भने समयमै निको हुन्छ भन्ने जानकारी सवैले राख्नुपर्छ । र, नेपाल मेडिसिटीले आर्थोस्कोपी पद्धतिबाट उपचार गराउँदै आएको छ ।

पोलीट्रमा

कहिकतै लड्दा वा सामान्य दुर्घटना भएमा एउटा मात्र हड्डी भाचिन सक्छ । तर, कहिलेकाँही दुर्घटना अलि ठूलो पनि हुन सक्छ ।

यो सँगै भिरबाट लड्यो या रुख वा कुनै अग्लो ठाउँबाट लड्यो भने हड्डी सामान्यबाट असामान्य रुपमा भाँचिन सक्छ । जस्तो एक वा सो भन्दा बडी हड्डीहरु भाचिन सक्छन् जसलाई मेडिकल भाषामा मल्टिपल फ्याक्चर भनिन्छ ।

हाम्रो देशको भौगोलिक अवस्था र सडकका कारण सडक दुर्घटनाको संख्या धेरै हुने गरेको छ । र धेरै गम्भीर घाइतेहरु भइरहेका हुन्छन् । अर्को तर्फ हाम्रो देशमा मृत्युको सामान्य कारण भनेको दुर्घटना पनि हो । यो धेरै ठूलो समस्या हो ।

कुनै दुर्घटनामा परेर ढाड, घुँडा, तिघ्रा, टाउकोका हड्डी भाँचिन सक्छ साथै गम्भिर चोट पनि लाग्न सक्छ । र यस्तो फ्र्याक्चरले टाउको, आन्द्रा तथा शरीरका भित्री भागहरु फोक्सो, कलेजो, पिसाव थैली लगायतमा पनि चोट लाग्छ सक्छ, यस्तो चोट लागेको छ भने यसलाई पोलिट्रमा भनिन्छ । र जुन निकै खतरनाक किसिमको चोट हुन्छ ।

साधारण फ्याक्चर भनेको त एउटा हड्डी भाँचिनु मात्रै हो । दुई तीन चार पाँचवटा फ्याक्चर भयो भने त्यो मल्टिपल फ्याक्चरमा पर्छ । र, त्योभन्दा पनि ठूलो वा गम्भीर समस्या भनेको पोलीट्रमा हो । फरक फरक अंग घाइते हुनु हो । श्वासप्रश्वास नलीमा हुने चोट, आन्द्राको चोट, ब्रेनमा चोट धेरै अंगमा चोट लाग्नु पोलिट्रमा हो ।

बिरामीको हाडजोर्नीमा मात्रै समस्या छ भने अर्थोपेडिक सर्जनले उपचार गर्न सक्दछन् भने पोलिट्रमाको अवस्थामा चोटपटक लागेका अंगका विशेषज्ञ चिकित्सकहरूको समेत संलग्नताको आवश्यकता पर्दछ ।

पोलिट्रमाको अवस्थामा नेपालका अस्पतालहरुले उपचार गर्ने गरेका छन् । हुन त सडक दुर्घटनाको अवस्था हेर्दा नेपालमा धेरै ट्रमा सेन्टरहरु हुने पर्ने हो । तर त्यो अवस्थामा अहिलेसम्म हामी पुगिसकेका छैनौं । नेपालका मुख्य मुख्य शहरमा रहेका अस्पतालहरुले मात्रै ट्रमाको सेवा दिँदै आइरहेका छन् ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...