केन्द्रीय संस्करण
मेरो जीवन

‘धनी र प्रतिष्ठित घरका महिला पनि गरिब छन्’

सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय अध्यक्ष भारती पाठकको जीवन

person explore access_timeअसोज ४, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय अध्यक्ष हुन् भारती पाठक । सामुदायिक वन उपभोक्ता समिति हुँदै उनी अहिले केन्द्रको नेतृत्वमा पुगेकी हुन् । नेपालका ग्रामीण महिलालाई आम्दानीको स्रोतसँग नजिक गराउने उद्देश्यले सामुदायिक वनमा होमिएकी उनी आफ्नो लक्ष्य प्राप्तीका लागि दिनरात नभनी लागिपरेकी छन् । 

जब महिलाहरू आम्दानीको स्रोतसँग नजिक हुन सक्दैनन् । तबसम्म नेपालको विकास असम्भव रहेको उनी बताउँछिन् । मकवानपुर हेटौँडा–४ निवासी भारतीको एउटै सपना सामुदायिक वनमा लाग्ने ग्रामीण महिलालाई उद्यमशीलतामा जोडेर सक्षम बनाउने रहेको छ । वनबाट यति महिला उद्योगका मालिक भएका छन् भनेको सुन्ने र हेर्ने सपनासमेत बोकेकी भारतीसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना
साधारण दालभात तरकारी नै मेरो मनपर्ने खाना हो । पिरो अमिलोतिर कहिल्यै इन्ट्रेस्ट भएन । पर्बलको तरकारी मन नपर्ने खानेकुरा हो ।

कार्यक्रम, मिटिङ लगायतले गर्दा रेस्टुरेन्ट जानैपर्ने हुन्छ । सौखले जाने गरेको छैन । जे खान मन लाग्छ । घरमै खानुपर्छ भन्ने मेरो धारणा हो । पकाउने मेरो रुचिको विषय । खाना पकाउन, भाडा माज्न मनपर्छ । मासुको परिकार जिब्रोमै झुन्डिने गरेर पकाउन सक्छु ।

मेरो पोसाक
पोसाकमा रुचि छैन । धेरै प्रयोग गर्ने कुर्था सुरुवाल नै हो । मनपर्ने पहिरन भने सारी । मनपर्ने कलर पिङ्क । रेडिमेट पहिरन कमै किन्छु । धेरैजसो सिलाएर नै लगाउँछु । पहिरनमा ब्रान्ड कन्सेस पनि छैन ।

मैले के लाउँछे । के मन पराउँछे भन्ने सबै परिवारलाई थाहा छ । त्यसैले उहाँहरूले किनिदिएको पहिरन लगाउँछु । सिलाउने बेला साइज नाप्ने काम मात्र मेरो हो । पहिरनमा वार्षिक ३०, ३५ हजार खर्च हुन्छ होला ।

मेरो फिट्नेस 
बिहान नियमित सामान्य योग गर्छु । पहिले एक घन्टा मर्निङवाकसमेत गर्थें । अहिले नभ्याएर गरेको छैन । एक्सरसाइज शरीरका लागि आवश्यक छ भन्नेमा म सचेत छु । 

मेरो अध्ययन
दैनिक बेलुका २ घन्टासम्म नियमित अध्ययन गर्छु । कानुनी प्रोसेसका कुरा, आफूले काम गरेको क्षेत्रको अन्तर्राष्ट्रिय प्रयोग केकस्ता छन् रहेका छन् भन्ने मेरो अध्ययनका विषय हुन् ।

मानिसमा परिवर्तन ल्याउने, ज्ञान बढ्ने र काममा सहयोग पुग्ने खालका किताब पनि पढ्छु । सामुदायिक वन महासङ्घको महाधिवेशनपछि मैले नियमित अध्ययन गर्न भ्याएकी छैन ।

मेरो घुमफिर
कामले घेरै ठाउँ घुमाउने गरेको छ । १२, १५ वर्ष भयो होला, व्यक्तिगत रूपमा घुम्न जान पाएकी छैन । स्कुल पढ्दा, कलेज पढ्दा साथीहरूसँग मिलेर पिकनिक, फिल्म हेर्न र विभिन्न ठाउँ घुम्ने निस्किरहन्थ्यौँ ।

सामुदायिक वन उपभोक्ता महासङ्घमा महासङ्घमा आबद्ध भएपछि संस्थाबाट २ पटक पिकनिक गएँ । त्यसपछि घुम्ने अवसर मिलेको छैन । कामको सिलसिलमा भने धेरै ठाउँ पुगेको छु । त्यस्तै देशको १०, ११ जिल्ला पुग्न बाँकी होला । विदेशका भने २०, २५ राष्ट्र टेकिसकँे ।

मेरो फुर्सद 
फुर्सद हँुदै हुँदैन । निकाल्ने हो । अहिले निकाल्न पनि सकेकी छैन । विशेष गरेर सामुदायिक वन उपभोक्ता महासङ्घमा जिम्मेवारी सम्हालेपछि परिवारलाई समेत समय दिन भ्याएकी छैन ।

मेरो खेलकुद 
मेरो परिवारको सदस्य बुबाआमाबाहेक सबै गेम खेल्छन् । म मात्र गेममा छैन । सानो छँदा खेलकुदमा धेरै रुचि थियो । विद्यार्थी जीवनमा भलिबल खेल्थेँ । प्रायः गेममा भाग लिन्थेँ । अहिले पनि भलिबल खेल मनपर्छ ।

मेरो मोबाइल 
अहिले म सामसुम ब्रान्डको एउटा मोबाइल छ । फोन गर्न समाचार पढ्न, फेसबुक र युट्युब चलाउन प्रयोग हुन्छ । नयाँ मोबाइल फर्ने भनेको पुरानो बिग्रिएपछि मात्र हो । परिवारका सदस्यले गिफ्ट दिने गरेकाले मोबाइल किन्नु परेको छैन ।

मेरो टीभी
टीभी हेर्छु । बेलुका समाचारको समय नियमित हेर्छु । सजिलोका लागि टीभी मोबाइलमा नै अपलोड गरेको छु । कोठामा पहिले टीभी राखेको थिएँ । अहिले छैन । टीभी कोठामा राख्यो, केबल जोड्यो । समयमा घर नफर्किने भएकाले महिनौँसम्म पनि हेर्न नपाउने । त्यसैले हटाएँ ।

मोबाइलमा भने जहाँबाट पनि हेर्न मिल्छ । टीभीमा समाचार, अन्तरवार्ता हेर्छु । आमा भन्ने कार्यक्रम नियमित हेर्छु । 

मेरो चलचित्र
चलचित्र खासै हेर्दिनँ । काठमाडौँ आएपछि हलमा गएर फिल्म हेरेका ४ वर्ष अगाडि हो । झोला भन्ने फिल्म हेरेकी थिएँ । जन्मेदेखि आजसम्मको कुरा गर्ने हो भने हलमा गएर ५ वटा फिल्म हेरेँ । मैले हेरेको पहिलो फिल्म ‘बलिदान’ । पछिल्लो समय हेरेको ‘झोला’ नै होला ।

फिल्म हेर्न मन लाग्छ । तर समय नभएर हेर्न नपाएको हो । समय पनि चाहियो, साथीहरू पनि चाहियो । एक्लै जाने कुरा पनि भएन । घरमा हेर्न समय नै हुँदैन । बिहान ६ बजेदेखि साँझ ९, १० बजेसम्म नै बिजी हुन्छु । फिल्म हेर्न कम्तीमा पनि तीन घन्टा समय चाहिन्छ । त्यो समय मसँग छैन ।

मेरो रोग
भगवानको कृपाले अहिलेसम्म रोग केही देखिएको छैन । कहिलेकाहीँ रुघाखोकी लाग्नु, टाउको दुख्नु सामान्य नै हो नि हैन र ?

मेरो भाषणशैली
नेपाली भाषा नै बोल्न ठीक लाग्छ । म सिधा कुरा गर्न रुचाउँछु । अरूले पनि घुमाएर कुरा गरेको, पछाडि कुरा गरेको पटक्कै मन पर्दैन । कामको सिलसिलमा विभिन्न मञ्चमा उभिएर मैले पनि भाषण गर्नुपर्छ । सो क्रममा छोटो र सन्देश जाने भाषण गर्न मन छ । तर सकेकी छैन । यो मेरो सुधार्नुपर्ने बानी पनि हो । आफूले थोरै बोलेको जस्तो लाग्छ । तर लामो भइरहेको हुन्छ । यो कामको अनुभवले पनि होला ।

मेरो गीतसङ्गीत
गीतसङ्गीतमा रुचि छ । ट्रेडिसनल गीत सुन्छु । हिन्दी नबुझेर हो कि धेरै सुन्दिनँ । नेपाली सबै प्रकारको गीत मनपर्छ । प्रायः बेलुका गीत सुन्ने गरेकी छु । स्कुल पढ्दा गीत गाएर नाचेकी थिएँ । सो क्रममा दोस्रो भएँ । गीतले भएकी, नाँचेर भए थाहा भएन । 

मेरो पेसा
स्कुल अध्ययन समयमा म क्लबमा बसेर समाज सेवामा अलिअलि काम गर्थें । सो समय सरसफाइ अभियानमा पनि जोडिएकी थिएँ । जब २०५३ मा एसएलसी दिएँ, हामी हेटौँडामा आएर बस्न थाल्यौँ । २०५० को बाढीपछि हाम्रो परिवार विस्थापित भएर हेटौँडामा सरेका थियौँ । सो समय मकवानपुर, धार्दिङ, नुवाकोट र सिन्धुपाल्चोक चेलीहरू धेरै बेचिने समस्या थियो ।

कलेज अध्ययन गर्न सुरु गरेपछि महिलाका विषयमा काम गर्नुपर्छ भनेर अस्मिता भन्ने संस्था खोलेर काम थालेँ । त्यसपछि सामुदायिक वनमा छिरेकी हुँ । महिलाहरूलाई सक्रिय बनाउनु पर्छ । उनीहरूको विकास गर्नुपर्छ भनेर सामुदायिक वनमा छिरेकी थिएँ । 

पहिले आफ्नो गाउँको समूहमा सदस्य, त्यसपछि सचिव हुँदै जिल्ला महासङ्घको कोषाध्यक्ष भएँ । त्यसपछि सिधै केन्द्रीय कोषाध्यक्ष दुई पटक जितेँ । एक पटक महासचिवसमेत भएँ । एक वर्ष अगाडि भएको महाधिवेशनबाट अध्यक्ष चुनिएकी हुँ । वनसम्बन्धी काम गर्न थालेको २२, २३ वर्ष भयो ।


     
मेरो प्रेम
अहिलेसम्म विवाह गरेकी छैन । मेरो व्यस्तता पहिलेदेखिकै भएकाले प्रेम, विवाहतिर समय भएन । वातावरण पनि बनेन । जब मानिस बिजी हुन्छ  तब प्रेम विवाहतिर ध्यान दिन सक्दैन । सङ्गत धेरैको गरियो, प्रेम कसैसँग बसेन । बसेको भए विवाह पनि हुन्थ्यो होला । 

अहिले जुन अवस्थामा छु, यही अवस्था ठीक हो भन्ने लाग्न थालेको छ । प्रेम गर्ने, विवाहको प्रस्ताव राख्ने धेरै थिए । तर मैले त्यसलाई प्रेसर र सिरियस्ली लिइनँ । प्रस्ताव आउनु नराम्रो हो भन्ने पनि लागेन । अहिले पनि कुरा आउँछन् तर नराम्रो लाग्दैन । 

मेरो भूल
भूल नगर्ने मानिस सायदै होलान् । काम गर्ने सिलसिलामा जीवनमा जानी नजानी भूल धेरै भएका पनि होलान् । मानिसले भूलबाटै सिक्ने हो । म गाउँमा पढेकी हुँ । म पढ्ने स्कुलको हेडमास्टर बुबा हुनुहुन्थ्यो । 
म कक्षा ७ मा पढ्दै थिए । सो समय स्कुल जान ३, ४ घन्टा हिँड्नुपथ्र्यो । त्यो दुःख जस्तो लागेर २, ४ महिना स्कुल छोडेकी थिएँ । पछि त्यो भूल सच्याएँ । अहिले लाग्छ, मैले त्यो स्कुल छोडेकी भए ठूलै भूल गर्थें । अहिले जुन क्षेत्रमा छु, त्यसमा सामान्य भूल भएका होलान् । तर अहिलेसम्म ठूलो भूल गरेकी छैन होला  ।
 
मेरो सपना 
अहिले ४० वर्ष पुगेँ । सामाजिक क्षेत्रमा धेरै काम गरेँ । सामुदायिक वनमा छिरेकै महिलाको हितका लागि हो । अहिले सामुदायिक वनबाट मानिसहरूले धेरै फाइदा लिन सकिरहेका छैनन् । कानुन लगाायत विभिन्न झन्झटले होला सायद । मेरो अहिलेका चाहना सामुदायिक वनले गरिब, विपन्न महिला लगायतको जीवनमा सपोर्ट गरोस् भन्ने छ ।

सामुदायिक वनमार्फत महिलालाई आर्यआर्जनमा जोड्ने कसरी भनेर अहिले म लागिपरेकी छु । धनी सम्पन्न घरका महिला पनि गरिब छन् । किनभने आम्दानीको स्रोतमाथि उनीहरूको पहुँच हुन सकेको छैन । सामुदायिक वनमा लाग्ने ग्रामीण महिलालाई उद्यमशीलतामा जोडेर सक्षम बनाउने मेरो सपना छ । वनबाट यति महिला उद्योगको मालिक भएका छन् भन्ने सुन्ने इच्छा पनि । 

मेरो मापसे 
म चिया, कफी त खाँदिनँ, मापसेको कुरै नगरौँ । पहिले एक पटक वाइन ट्राई गरेकी थिएँ । त्यसपछि केही छोएकी छैन । रुचि पनि लाग्दैन । खानैपर्ने बाध्यता परेको पनि छैन ।

मेरो राशि 
मेरो राशि वृश्चिक हो । ग्रहदशा हेराउने गरेकी छैन । कहिलेकाहीँ साथीभाइको सङ्गतमा हेराएकी छु । मन्दिर जान्छु । तर भोकै बस्न सक्दिनँ । त्यसैले व्रत बस्ने गरेकी छैन ।

मेरो मृत्यु
मृत्यु प्रकृतिक नियम हो । जन्म हुँनु नै मृत्युका लागि हो । बिमारी नपरी, अरूले स्याहार्नु नपर्ने अवस्थामै दुःख नपाइ, हिँडडुल गर्दागर्दै मृत्यु होस् भन्ने मेरो चाहना रहेको छ । 

        

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...