शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिन्छौं : अध्यक्ष भट्टराई

शुक्रबार, ०३ असोज २०७६, २१ : १०
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं – समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले  संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने बताएका छन् ।  

शुक्रबार राजधानीमा आयोजित संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तक्रिया कार्यक्रममा अध्यक्ष भट्टराईले संविधान संशोधनको सर्तमा आफूहरु सरकारमा सहभागी भएकाले संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने बताएका हुन् ।

‘हामी संविधान संशोधनको शर्तमा सरकारमा सहभागी भएका हौं, अध्यक्ष भट्टराईले भने, ‘एक चरण सरकारसँग राम्रोसँग हामी कुरा गर्छौं । संविधान संशोधनका लागि अल्टिमेटम पनि दिन्छौं यदि सरकारले समयमा नै संविधान संशोधन गरेन भन्नुभयो हामी सरकारबाट बाहिरिन्छौं ।’

उनले तत्कालीन एमाले र अहिलेको कांग्रेस संविधानको पक्षमा नरहेको भन्दै माओवादीको जोडबलमा संविधान बनेको स्पष्ट पारे ।

अहिलेको संविधान जनताले बाहेक कसैले खोस्न नसक्ने भट्टराईको भनाइ थियो । अध्यक्ष भट्टराईले नीति नियम बनाउने ठाउँबाट नै भ्रष्टाचार हुने गरेको भन्दै लोकपालको व्यवस्था नहुनेजेलसम्म नरोकिने जोड समेत दिए ।

संविधानमा रहेको अपूर्णता पूरा नगरी सर्वस्वीकार्य हुन नसक्ने बताउँदै उनले संविधानमा रहेका कमजोरीलाई सच्याउने र सवल पक्षको रक्षा गर्न समाजवादी पार्टीको उद्देश्य रहेको स्पष्ट पारे ।

‘संविधान घोषणा गर्ने बेला आफूले भन्नुभयोको संविधान ‘आधा गिलास भरी, आधा गिलास खाली’ को भनाईमा मेरो अडान यथावत छ,’ उनले भने, ‘बाँकी आधा गिलास भरेपछि मात्र स‌ंविधान सर्वस्वीकार्य हुन्छ ।’

उनले स‌ंघीयता भएपछि पहिचान किन चाहियो भनेर प्रश्न गर्नेहरुलाई जवाफ दिँदै भने,  ‘पहिचान भएर नै संघीयता हुने हो, पहिचान बिना संघीयता नै हुँदैन ।’

समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष अशोक राईले संविधान दिवसको उत्सव मनाउने र कालो दिनको रुपमा मनाउनेहरुलाई समाजवादी पार्टीले जोड्न चाहेको बताए ।

उनले संविधान दिवसलाई उत्सव पनि नमनाउने र कालो दिवस पनि नमनाउने पार्टी नीतिको बचाउ गर्दै उनले भने, ‘हामीले एकप्रकारको भद्र अवज्ञाको बाटो लिएका छौं ।’

‘एउटा बच्चालाई दुईटा आमाले दावी गर्छन्, न्यायाधीशले आधाआधा काटेर लिन आदेश दिएपछि सक्कली आमाले बरु बच्चा मलाई चाहिँदैन, बच्चा नकाट भनेजस्तै भयो,’ उनले संविधान घोषणाका दिनहरु स्मरण गर्दै भने, ‘डा. भट्टराईले यस्तै अवस्थामा संविधान घोषणा गर्ने कामको नेतृत्व गर्नुभयो ।’

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संविधान परिवर्तनीय दस्तावेज भएकोले संविधान संशोधन अपरिहार्य रहेको बताए ।

‘संविधान संशोधनको माग गर्नेहरुको शक्ति कमजोर हुँदै गइरहेको सत्ताशीनहरुको बुझाई छ,’ उनले भने, ‘यो एजेण्डा उठाउनेहरुले पनि हिजो शक्ति सन्तुलन बिर्सिएर आजको अवस्थालाई मध्यनजर गर्नुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप