बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मधेशमा कालो दिवस मनाइरहँदा एकजना अध्यक्ष अमेरिका, अर्का भारत

शुक्रबार, ०३ असोज २०७६, १६ : ४४
शुक्रबार, ०३ असोज २०७६

काठमाडौँ । देशमा संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाइरहँदा तराई मधेशमा यसको विरोधमा नाराजुलुस तथा कालो झण्डा प्रदर्शन भइरहेको छ ।

तर तराई–मधेशमा विरोधका कार्यक्रमहरु राख्ने राजनीतिक दलका कुनै पनि अहिले अध्यक्ष नेपालमा छैनन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा छन् भने राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव भारतमा छन् ।

विरोध कार्यक्रमको अगुवाई गनुपर्ने बेलामा राजपा अध्यक्षमण्डलका संयोजक यादवले यतिखेर दिल्लीमा छन् । हुन त उनकै नेतृत्वमा बसेको अध्यक्षमण्डलको बैठकले नै असोज ३ गते विरोध दिवस मनाउने निर्णय गरेको थियो ।

उनले नै कार्यक्रमका लागि नेताहरुलाई विभिन्न जिल्लामा जिम्मेवारी दिएर खटाएका छन् । तराई मधेशमा विरोधका कार्यक्रम चलिरहँदा पार्टीका नेतृत्व नै देश बाहिर हुँदा पार्टीका कतिपय नेताले आलोचना गरेका छन् ।

राजपाका एक नेताले भने, ‘आन्दोलनका लागि अरुलाई खटाएर आफू विदेशमा गएर रमाउने ? यो तरिकाले आन्दोलन अगाडि बढ्दैन ।’ पार्टीको नेतृत्व आफै उपस्थित भएको भए नेता तथा कार्यकर्ताको मनोबल उच्च रहने उनको थियो ।

यता, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा छन् । असोज ५–६ गते हुने कार्यक्रमका लागि उनी असोज १ गते नै अमेरिका पुगेका हुन् । संविधान दिवसको कार्यक्रमलाई छल्नकै लागि उनी चारदिन अगावै अमेरिका पुगेको बताइन्छ ।

उनी सरकारका उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुन् । सकरारले आज विशेष कार्यक्रम गरी दिवस मनाएको छ । सो कार्यक्रममा मन्त्रीपरिषद्का सम्पूर्ण सदस्य, सवैधानिक निकाय, सरकारका कर्मचारीलाई उपस्थितिका लागि सरकारले निर्देशन दिएको थियो । नेपालमा भएको भए उनी कार्यक्रममा उपस्थित हुनै पथ्र्यो भने अर्कोतिर नेपालमा भएर संविधान दिवसको विरोधमा हुने कार्यक्रममा पनि सहभागी नहुँदा मधेशमा पनि उनको आलोचना हुने थियो । त्यही भएर उनी कार्यक्रमको मितिभन्दा अघि नै नेपाल छाडेर अमेरिका गएर बसेका हुन् ।

संविधान दिवस र कालो दिवसमध्ये कुनै पनि नमनाउने निर्णय गरेपनि समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु कोही विरोधमा त कोही समर्थनमा कार्यक्रम गरिरहेका छन् ।

सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्वयम् संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् । उनले आफ्नो ट्वीटरमा भनेका छन्, ‘जनयुद्ध, मधेश आन्दोलन लगायतको बलमा नेपाली इतिहासमा पहलिो पटक सर्वभौम नेपाली जनताले संविधानसभाबाट संविधान जारी गरेकोमा गर्व गर्दै संघीयता, शासकीय स्वरुप, नागरिकता यी विषयमा अग्रगामी संशोधन गरेर संविधानलाई सबै जनताको साझा दस्तावेज बनाऔँ ।’

समाजवादी पार्टीले भने औपचारिक रुपमा संविधान दिवस नमनाउने निर्णय गरेको छ । उनले यो शुभकामना सन्देश सप्रेशण गरेकोमा पार्टीपंक्तिमा आलोचना भइरहेको छ । 

यो विषयमा पार्टीका सहमहासचिव एवं पार्टी कार्यालय प्रमुख प्रकाश अधिकारीसँग प्रतिकृया लिँदा उनले यसमा विषयमा कुनै प्रतिकृया दिन मानेनन् ।

उता, संविधान दिवसको विरोधमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत स्वयं आफै सहभागी भएका छन् । नेपालको संविधान २०७२ मा जनताको अवधारणा विषयक अन्तरक्रिया कार्यक्रममा लालबाबु राउत सहभागी भएर वर्तमान संविधानमा त्रुटी रहको र यसलाई सर्वस्वीकार्य बनाउनुपर्ने धारणा राखेका थिए ।

सो कार्यक्रममा मधेश आन्दोलनमा शहिद भएका परिवारका सदस्यलाई प्रमुख अतिथि बनाएको थियो भने मधेश आन्दोलनको तस्विर, वृतचित्र प्रदर्शनका साथै शहिद परिवारलाई सम्मान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप