शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के उपेन्द्र यादव मधेससँग ‘डबल गेम’ खेल्दैछन् ?

समाजवादी पार्टीका उपाध्यक्ष भन्छन्ः हामीले डबल स्ट्याण्ड लिएकै छैनौं !
बिहीबार, ०२ असोज २०७६, १६ : ४०
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि मधेसमा ‘डबल स्ट्यान्ड’को नीतिको राजनीति गरेको आरोप लाग्न थालेको छ ।

उनले मूलधारको राजनीतिमा आएदेखि दोहोरो नीति लिँदै आएका छन् । मधेस आन्दोलन, सरकारमा जाने कुरा या चुनावमा जाने कुरा होस्, हरेक कुरामा उनले दोहोरो नीति लिएको देखिन्छ । 

असोज ३ गते संविधान दिवस मनाउने कि कालो दिवस मनाउने भन्ने विषयमा उनी र उनको पार्टीले स्पष्ट धारणा बाहिर नल्याएका कारण जनता झन् भ्रमित भएको प्राध्यापक एवं राजनीतिक विश्लेषक सुरेन्द्र लाभले बताए । 

उनले भने, ‘राजनीतिक दलका नेताहरू यसरी दोहोरो भूमिकामा भएपछि आम जनता झन् अन्योलनमा पर्छन् ।’ 

स्मरण रहोस्, समाजवादी पार्टीले असोज ३ गते सरकारले मनाउने संविधान दिवसमा पनि सहभागी नहुने र अरु मधेशवादी दलहरुले आह्वान गरे जस्तै गरी उक्त दिनलाई कालो दिवसको रुपमा पनि नमनाउने निर्णय गरेको छ । 

समाजवादी पार्टीले भदौ ३० गते विज्ञप्ति जारी गरी ‘असोज ३ गतेको सन्दर्भमा खुशीयालीको रूपमा दीपावली वा विरोधका रूपमा कालो दिवस दुवै नमनाउने’ निर्णय गरेको जनाएको थियो । संविधान दिवस वा कालो दिवसको कार्यक्रममा सहभागी नहुने समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले निर्णय गरेको सो विज्ञप्तिमा उल्लेख थियो । 

सरकारमा सहभागी भएका कारण कालो दिवस नमनाउने र मधेसमा विरोध हुने डरले संविधान दिवस पनि नमनाउने नीति समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लिएको बुझिएको छ । 

अर्को कुरा, संविधानको विरोध गर्दै मधेसमा कालो दिवस मनाएको भए पहाडमा पार्टीको विरोध हुने डर पनि उपेन्द्र यादवसँग रहेको छ ।

सबैलाई ‘ब्यालेन्स’ मा राख्नका लागि यस्तो निर्णय लिएका हुन् । उपेन्द्र यादवले अशोक राई र डा. बाबुराम भट्टराईसँग एकीकरण गरे पनि उनको प्रभाव हिमाल तथा पहाडमा देखिँदैन । नाकाबन्दी लगाउने तथा मधेसमा आतंक सिर्जना गर्ने  यिनै उपेन्द्र यादव हुन् भनी आलोचना अहिले पनि हुने गरेका छन् । त्यसले गर्दा दुईतिरका जनतालाई चित्त बुझाउन उनले बेलाबेलामा यस्तो निर्णय लिने गरेको उनकै पार्टीका नेताहरू बताउँछन् । 

सप्तरीमा हिजो मात्र उपेन्द्र यादवको क्षेत्र घुमेर जनकपुर फर्केका पत्रकार चन्द्रकिशोर भन्छन्, ‘उपेन्द्र यादवको यो निर्णयले उहाँका कार्यकर्तामा कुनै उमङ्ग छैन । जनताहरू निराश छन् ।’ 

उनले संविधान संशोधन मात्र होइन, आन्दोलनको समयमा पनि ‘डबल स्ट्यान्ड’ लिई काम गरेका थुप्रै उदाहारण छन् । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएर आन्दोलन गरे पनि उपेन्द्र यादवले आफ्नो ढङ्गबाट अगाडि बढ्दा जहिले पनि मोर्चाका अन्य घटकहरू हैरान हुन्थे । 

मोर्चाको बैठकमा एउटा निर्णय हुन्थ्यो भने सत्ताधारी दलसँग उपेन्द्र यादव भित्रभित्रै अर्कै सहमति गर्थे । यसले गर्दा आन्दोलन कहिल्यै सफल भएन । पत्रकार चन्द्रकिशोरले भने, ‘उपेन्द्र यादवले सुरुदेखि नै यस्तै दोहोरो नीति लिएर काम गर्नुभयो, जसले गर्दा कतै न कतै मधेसको आन्दोलनमा क्षति पुगेको छ ।’

यादवको त्यही प्रवृत्तिले गर्दा उनको सम्बन्ध मोर्चासँग कहिल्यै राम्रो रहेन । मोर्चामा आउने जाने क्रम उनको निरन्तर रही रहन्थ्यो । उनी मोर्चाबाट पटक पटक बाहिर निस्किने र पटक पटक भित्रिने गर्नाले मधेसको मुद्दा कमजोर भएको राजपा नेपालका एक नेताले बताए । 

२०६७ सालको प्रधानमन्त्री निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट उपेन्द्र यादवले ‘डबल गेम’ खेलेका थिए । काँग्रेसका तर्फबाट रामचन्द्र पौडेल प्रधानमन्त्रीका उम्मेदवार थिए भने तत्कालीन माओवादीका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार थिए । 

तत्कालीन फोरम आधिकारिक रूपमा माओवादीका साथमा थिए । तर त्यतिबेला भारतले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन चाहेको थियो । उपेन्द्र यादव माओवादीका साथमा भए पनि भारतलाई खुसी पार्न आफ्ना केही सांसदहरुलाई ‘फ्लोर क्रस’ गर्न लगाएका थिए । 

त्यतिबेला त्यसका लागि रकमको खेल भएको निकै चर्चा चलेको थियो । अँध्यारो कुनामा अत्यन्तै भूमिगत ढंगले हुने त्यो चलखेको अझै पुष्टि भएको छैन र पुष्टि हुने सम्भावना पनि कमै छ ।

त्यसबेला दोहोरो भूमिका निर्वाह गरेको भनी भारतले पनि उपेन्द्र यादवसँग चित्त दुखाएको चर्चा राजनीतिक वृत्तमा निक्कै चलेको थियो । त्यसबेला यादवले भारतलाई खुसी पार्न ‘फ्लोर क्रस’ गर्न लगाएको र चीनलाई खुसी पार्न माओवादीलाई साथ दिएको कुरा निकै उठेको थियो । 

त्यति मात्र होइन, २०७४ मा भएको तीनको चुनावमा पनि उपेन्द्र यादवले ‘डबल स्ट्यान्ड’ देखाएका थिए । संविधान संशोधनका मुद्दा लिएर राजपा र समाजवादी पार्टी आन्दोलनमा थिए । 

संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने दुवै दलको संयुक्त निर्णय थियो । तर उनी भित्रैभित्रै चुनावको तयारीमा जुटिसकेका थिए । 

चुनावको तयारी गरिरहँदा राजपा नेपालका नेताहरू प्रश्न गर्दा उनले पहाडका जनतालाई चित्त बुझाउन आफूले त्यस्तो गरेको तर चुनावमा नजाने कुरामा ढुक्क रहन नेताहरूलाई भनिरहन्थे । 

त्यतिबेला आन्दोलनमा चुनावको सबभन्दा चर्को विरोध गर्ने उपेन्द्र यादव नै थिए । राजपा नेपालका नेताहरूसँग हिँड्थे भाषण गर्थे तर भित्रभित्रै सरकारसँग आन्तरिक सहमति गरेर उनी चुनावको पूर्ण तयारीमा जुटिसकेका थिए ।

त्यतिबेला राजपा नेपालका नेताहरूले उपेन्द्र यादवमाथि सत्तापक्षसँग पैसा लिएर चुनावमा गएको आरोप लगाएको थियो । पहाडलाई रिझाउन चुनावको कुरा गर्ने र मधेसलाई रिझाउन आन्दोलनको कुरा गर्ने उपेन्द्र यादवको त्यही ‘डबल स्ट्यान्ड’का चुनावमा पार्टी पराजित भएको थियो र प्रदेश २ मा मात्र सीमित भयो ।

उपेन्द्र यादवले संविधान संशोधनको विषयमा पनि मधेससँग डबल गेम खेलेका छन् । २०७२ मा संविधान जारी भएपछि सबभन्दा कडा रूपमा उत्रेका थिए उपेन्द्र यादव । उनले पटक पटक ‘यो संविधानलाई रद्दीको टोकरीमा फ्याल्नुपर्छ । यसको कामै छैन, संविधान संशोधन होइन, पुनर्लेखन गर्नुपर्छ भने । उक्त आन्दोलनमा राजपा नेपालसँग मिलेर सबैभन्दा बढी चर्को भाषण उनैले गर्थे । तर भित्रभित्रै केपी शर्मा ओलीसँग सरकारमा जान बार्गेनिङ गरिरहेको कुरा राजपा नेपालले पत्तै पाएन । 

आन्दोलन गरिरहेको समयमा पनि उनी सरकारमा जान तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निरन्तर वार्तामा थिए, जुन कुराको भेउ राजपाले मात्र होइन, मधेसले पनि थाह पाएको थिएन ।

उनले सरकारको विरोध गर्नुको साथै संविधान संशोधन होइन, संविधान पुनर्लेखन नै गर्नुपर्छ भन्दै चर्को भाषण गरेका थिए । तर पुनर्लेखनको त कुरै छोडौँ संविधान संशोधनको पनि अत्तोपत्तो छैन । अहिले त उनले संविधान संशोधनको कुरा पनि उठाउन छाडे । 

सरकारमा सहभागी हुन उनले दुई बुँदे सम्झौता गरेर सरकारमा सहभागी भएका थिए । तर अहिलेसम्म संविधान संशोधनको कुनै पनि प्रक्रिया सुरु भएको छैन । संविधान संशोधनको माग गर्दै अहिले पनि मधेस आन्दोलित छ । तर उपेन्द्र यादवले सरकारमा बसेर संविधान संशोधन नभए सरकार छाड्ने धम्की दिनुबाहेक अरू केही गर्न सकेका छैनन् ।

अहिले तराई मधेसमा संविधान दिवसको विरोध भइरहँदा समाजवादी पार्टीले कालो दिवस पनि नमनाउने र संविधान दिवस पनि नमनाउने भनी ‘डबल स्ट्यान्ड’ अपनाएको आरोपलाई  सो पार्टीका उपाध्यक्ष रकम चेम्जोङले ठाडै अस्वीकार गरेका छन् । 

यसबारेमा प्रष्ट पार्दै उनी भन्छन्, ‘यो डबल स्ट्यान्ड होइन । हामीले संविधानलाई पूर्ण समर्थन गरेका पनि छैनौँ र कालो दिवसलाई पूर्ण समर्थन पनि गरेका छैनौँ । त्यही भएर यस्तो निर्णय गरेका हौँ ।’ 

उनी भन्छन्, ‘कालो दिवस मनाउनुको अर्थ संविधानलाई पूर्ण अस्वीकार गर्नु हो र संविधान दिवस मनाउनुको अर्थ संविधानलाई पूर्ण स्वीकार गर्नु हो तर समाजवादी पार्टीले दुवैलाई पूर्ण रूपमा स्वीकार गरेको छैन ।’ दुवैमा अहमति रहेको कारण यस्तो नीति लिइएको उनको प्रष्टोक्ति छ ।

संविधान दिवस मनाउने–नमनाउने सन्दर्भमै समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष  डा. बाबुराम भट्टराईले पनि एक ट्वीट गरेका छन् । डा. भट्टराईले आफ्नो ट्वीटमा भनेका छन्ः
संविधान जारी भएको दिनमा पंचायती शैलीमा उर्दी जारी गरेर सबैलाई दीपावली गर्न लगाउनु वा संविधान च्यातेर कालोदिवस मनाउनु दुवै अतिवाद हुन् ! सत्य कालो वा सेतो नभै खैरो हुन्छ !  अत: संविधानका सबल पक्षको रक्षा गर्दै दुर्बल–अपूर्ण पक्षबारे संविधान संशोधन गरेर पूर्णता दिनु नै सही बाटो हो । सपाको अडान !


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप