मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवस : समाजवादी पार्टीलाई ‘सत्ता’ले सकस, कालो दिवसको पक्षमा राजपा

बिहीबार, ०२ असोज २०७६, १६ : १७
बिहीबार, ०२ असोज २०७६

जनकपुर । संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रीत दल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवस मनाउने या नमनाउने भन्ने विषयमा समान धारणा बनाउन सकेका छैनन् । 
सरकारले शुक्रबार धुमधामसँग संविधान दिवस बनाउने आह्वान गरिसक्दा सरकारमा रहेको समाजवादी पार्टीले संविधान दिवस वा कालो दिवस दुबै नमनाउने निर्णय गरेको छ ।

यस्तै प्रदेश नम्बर २ को सरकारमा सहभागी राजपा नेपाल भने कालो दिवस मनाउने निर्णय गरेको छ । दुबै पार्टीले संविधान संशोधनको माग गर्दै ०७२ असोज ३ गते जारी भएको संविधानको विरोध गर्दै आएका छन् । यद्यपि यी दलले संविधान निवास बनाउने या नमनाउने भन्नेबारे साझा निर्णय गर्न नसकेका हुन् । 

यता समाजवादी पार्टी नेतृत्वमै गठन भएको प्रदेश २ को सरकारले भने संविधान दिवस मनाउने निर्णय गरेको छ । समाजवादी पार्टी नेतृत्वकै प्रदेश सरकारमा सहभागी भएको राजपा नेपालले चाहिँ संविधान दिवसको विरोध गर्दै कालो दिवस मनाउने निर्णय गरेको हो । 

राजनीतिशास्त्रका प्राध्यापक एवं मधेस मामिलाका जानकार विजयकान्त कर्णले संविधान दिवस मनाउने या कालो दिवस मनाउने भन्नेमा मधेसवादी दलमा अन्योलता देखिएको बताए । ‘जुन प्रकारका निर्णय बाहिर आएको छन् त्यसले ती दलहरू पनि संविधानप्रति प्रष्ट नरहेको बुझ्न सकिन्छ’ कर्णको टिप्पणी छ । 

प्रदेश २ को सरकारको नेतृत्व गरिरहेका समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा गत वर्षझैँ यस वर्ष विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय भएको हो ।  अहिले पनि मुख्यमन्त्री राउतले नेतृत्व गरेको मूल समारोह समितिले केन्द्र सरकारको निर्देशन अनुसार असोज २, ३ र ४ गतेका लागि संविधान दिवस मनाउने विभिन्न कार्यक्रम तय गरिएको छ । 

प्रदेश सरकारले संविधान दिवस मनाउने औपचारिक निर्णय गरे पनि सरकारमा रहेका मन्त्रीहरूबाटै संविधान दिवसको विरोधमा अभिव्यक्तिहरू आइरहेका छन् । खासगरी राष्ट्रिय जनता पार्टी, नेपालबाट मन्त्री बनेकाहरूले संविधान दिवसको दिन कालो दिवस मनाउने खुलेआम बताउँदै आइरहेका छन् । 
राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभले संविधान दिवस मनाउनेबारे  प्रदेश २ सरकारभित्र नै मतभेद हुनु गलत भएको तर्क गरे । उनले भने, यस्तो पनि हुन्छ, सरकारले एउटा निर्णय गर्छ र त्यही सरकारमा रहेका अर्को मन्त्रीले त्यसको विरोध गर्छ । यसले जनतामा झन् अन्योलन सिर्जना गरेको छ ।’ 

समाजवादी पार्टी र राजपा नेपालमा विगतको भन्दा यसपालि बढी अन्योलनमा रहेको बताउँदै विश्लेषक लाभले यसबारे दुबै दलको स्पष्ट धारणा आउनुपर्ने बताए  । 

‘यो पनि गर्ने, त्यो पनि गर्ने निर्णयले गर्दा जनता अन्योलमा हुन्छ र जब जनता अन्योलमा हुन्छन् राजनीतिक उद्देश्य प्राप्त गर्न पनि गाह्रो हुन्छ’ उनले भने, ‘संविधान संशोधन उनीहरूको मुख्य एजेन्डा हो भने त्यसमा स्पष्ट भएर अगाडि आउनुपर्छ ।’

संविधान अनुसार मन्त्री बन्ने, सांसद बन्ने, लाभका पदमा बस्ने अनि फेरि त्यसैको विरोध गरिनु अलिकति नमिलेको जस्तो देखिएको उनको टिप्पणी थियो ।

राजपाको किन विरोध ?

राजपा नेपालको नेतृत्व गर्दै प्रदेश सरकारको अगुवाई गरेका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले असोज ३ गते आफूहरू कालो दिवस कार्यक्रममा सहभागी हुने बताए ।

०७२ वैशाख ११ गते व्यवस्था परिवर्तन भएको दिनलाई मधेसी जनताले खुसीयालीका रूपमा मनाए पनि संविधान जारी भएको दिनलाई खुशीयाली भन्दा पनि विरोधकै रूपमा मनाउनुपर्ने आफूहरूको बाध्यता रहेको मन्त्री सोनलको तर्क थियो । 

उनले भने, ‘असोज ३ गतेको दिन हामी जेलमा थुनिएका थियौँ र मधेसी जनताले संविधानको विरोधमा घरमा कालो झण्डा राखेर ‘ब्ल्याक आउट’ गरेका थिए । जरबजस्ती पेलेर संविधान जारी भएको थियो भने त्यसलाई

हामीले किन स्वीकार गर्ने ?’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूलाई स्वीकार गर्दै संविधानमा रहेका त्रुटिलाई सच्याउनका लागि विगत ४ वर्षदेखि सङ्घर्ष गरिरहँदा पनि सङ्घीय सरकारले बेवास्ता गरेको कारण आफूहरु कालो दिवस मनाउन बाध्य भएको उनले बताए ।

संविधान संशोधनको एजेन्डालाई यथावत राख्दै यथास्थितिमा संविधान दिवस मनाउन नसकिने मन्त्री सोनलले बताए । उनले प्रदेश सरकारले संविधान दिवस मनाउने विषयबारे गरेको निर्णय आफूहरूलाई जानकारी नरहेको दाबी गरे । 

संविधान जारी भएको दिन स्मरणमा असोज ३ गतेलाई मधेस केन्द्रित दलले आफ्ना असन्तुष्टि व्यक्त गर्दै कालो दिवस मनाउँदै आएका छन् भने संविधान संशोधनको मुद्दा उठाउँदै आएका छन् ।

समाजवादी पार्टीलाई सकस
सङ्घीय सरकारमा समेत सहभागी रहेका समाजवादी पार्टीको नेतृत्वमा प्रदेश २ को सरकार गठन भएको हो । 

संविधान दिवस मनाउने विषयमा समाजवादी पार्टीको आलोचना हुँदै आएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम हुँदादेखि नै सो पार्टीले संविधानप्रति असहमति जनाउँदै समानुपातिक समावेशी एवं विभेदरहित संविधानको माग गरेको थियो । त्यसका लागि पटक–पटक आन्दोलन पनि गरेको थियो । तर अहिले सरकारमा रहेको कारण असोज ३ को दिनलाई समाजवादी पार्टीले विरोध गर्न नसकेको कर्णको विश्लेषण छ । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माण भएपछि त्यसलाई जलाउनुको साथै संविधान पुनर्लेखन गर्नुपर्ने मुद्दा जोडतोडले उठाएका थिए । 

तर सरकारमा सहभागी भएपछि ती सबै कुरा विर्सिएर अहिले न संविधान दिवस मनाउने न कालो दिवस मनाउने अवस्थामा उनी पुगको छन् । तर विश्लेषक कर्ण भन्छन्, ‘समाजवादी पार्टीले जे निर्णय गरे पनि संविधान दिवसलाई समर्थन गरेकै हो । कालो दिवस नमनाउनु नै संविधान दिवस मनाउनु सरह हो ।’

समाजवादी पार्टीको तर्फबाट प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका ज्ञानेन्द्रकुमार यादवले संविधान दिवस मनाउनुपर्ने बाध्यता रहेको बताए । यद्यपि संविधान दिवस मनाए पनि संविधान संशोधनको एजेन्डालाई नछाडेको उनले दाबी गरे । 

यसो त समाजवादी पार्टीका कार्यकर्ताले असोज ३ लाई कालो दिवसका रूपमा मनाउनुपर्ने दबाब दिँदै पनि आएका छन् । गत वर्ष पार्टीले कालो दिवस मनाउनेबारे निर्णय नगरेपनि समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले कालो दिवस मनाएका थिए । त्यतिबेला केन्द्रले कालो दिवस नमनाउने निर्णय गरेपछि तत्कालीन प्रदेश २ की अध्यक्ष रेणु यादवले प्रदेशमा कालो दिवस मनाउने छुट्टै निर्णय समेत गरेकी थिइन् । 

राजपाले के गर्ने ?

सत्तारुढ सहयात्री दल राजपा नेपालले प्रदेश २ मा कालो दिवस मनाउने औपचारिक घोषणा गरिसकेको छ ।

राजपा नेपालले संविधान दिवसको दिन तराई मधेसका प्रत्येक जिल्ला तथा सहरहरूमा दिउँसो विरोध प्रदर्शन र साँझ ७ बजेदेखि १५ मिनेटसम्मका लागि ब्ल्याक आउट गर्ने निर्णय गरेकोे राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप