शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालको अवलोकनमा गएका बेलायती प्रधानमन्त्री जोनसनलाई एक विरामी बालिकाका पिताले हप्काए

यो कुनै लाजको कुरा होइन, मेरो कामको हिस्सा हो : प्रम जोनसन
बिहीबार, ०२ असोज २०७६, १३ : १६
बिहीबार, ०२ असोज २०७६

एजेन्सी । बेलायतको एक अस्पतालमा अवलोकन–भ्रमणमा गएका देशका प्रधानमन्त्री बोरिस जोनसनलाई एक विरामी बालिकाका क्रुद्ध पिताले गाली गरेका छन् ।

देशको स्वास्थ प्रणाली ‘नेसनल हेल्थ सर्विस (एनएचएस)’ ध्वस्त भइरहेको र यसको कारण आफ्नो बिरामी छोरीले झण्डै ज्यान गुमाएकोमा उनले असन्तुष्ट व्यक्त गरेका थिए ।  

जोनसनको कन्जरभेटिभ पार्टी वर्षौँदेखि सत्तामा रहँदा स्वास्थ क्षेत्रमा ठूलो मात्रामा बजेट कटौती गरेको छ । यसले गर्दा एनएचएसको अवस्था नाजुक भएको आलोचकहरुको आरोप रहँदै आएको छ । त्यही चिन्तालाई ती व्यक्तिले अभिव्यक्त गरेका थिए ।

क्यामेरामा कैद भएको उक्त भेटमा सात वर्षे विरामी बालिकाका वावु ओमर सलेमले अस्पतालको कमजोर अवस्थाका कारण आफ्नी छोरी झण्डै मरेकी बताउँछन् ।

घटना बेलायतको राजधानी लण्डनको उत्तर–पूर्वमा रहेको विप्स क्रस युनिभर्सिटी हस्पिटलमा भएको थियो ।

देशका प्रधानमन्त्री जोनसनसँग ओमर गुनासो गर्दै भन्छन्, ‘यो वार्डमा प्रयाप्त मानिस छैनन् । डाक्टर पनि प्रयाप्त छैनन् । नर्स पनि प्रयाप्त छैनन् । यो व्यवस्थित पनि छैन ।’

उनले अस्पतालमा राजनीति अभियान गर्ने बोरिस र उनको पार्टीले एनएचएसलाई बेवास्ता गरेको र त्यसले गर्दा स्वास्थ प्रणाली ध्वस्न परिरहेको आरोप लगाए ।

अस्पतालमा प्रचारवाजी गर्न आएको भन्ने ओमरको भनाइ लगतै जोनसन ‘यहाँ कुनै प्रेस छैन’ भन्छन् । तर ओमरले क्यामेरातर्फ औँल्याएर उनको झुट पक्रदै भन्छन्, ‘प्रेस नभए त्यो (टिभी क्यामेरा) के हो ?’

अस्पतालको अवस्थालाई झण्डै आफ्नो छोरी बितेको कुराप्रति असन्तुष्ट व्यक्त गर्दै ओमर जोनसनलाई भन्छन्, ‘मेरी छोरी हिजो झण्डै बितेकी थिइन् । त्यसैले हतारमा मैले उनलाई यहाँ ल्याएँ । तर यहाँ आएपछि दुई घण्टासम्म पनि कोही आएन । यो असह्य कुरा हो । यो वार्ड बालबालिको लागि सुरक्षित छैन । ’

जोनसनले अस्पताल आउनुको कारण देशको स्वास्थ प्रणाली ‘एनएचएस’को अवस्था बुझ्नु रहेको बताएका थिए । जवाफमा ओमर भन्छन् ,‘त्यसको लागि केही ढिलो भएन र ? वर्षौदेखि एनएचएस ध्वस्त जो पारिँदै छ ।’

पछि अस्पतालको वार्डमा कार्यरत डक्टरले पनि ओमरको कुराप्रति समर्थन जनाए । तिनले ओमरले यथार्थ भनेकोमा ‘अत्यन्त खुसी’ भएको बताए ।

ओमर सलेन विपक्षी लेबर पार्टीका कार्यकर्ता भएको खुलेको छ । समाजिक सञ्जालमा केहीले आफ्नो राजनीतिक विचारधारा नमिलेकै कारण ओमरले प्रधानमन्त्रीको विरोध गरेको भन्दै आलोचना पनि गरेका छन् ।

त्यसको जवाफमा ओमरले आफू विपक्षी राजनीतिक कार्यकर्ता भएको कारणले मात्र नभएर आफ्नो छोरीको उपचारका क्रममा अस्पतालको दयनीय अवस्था देखेकाले आक्रोशित भएको बताए । 

जोनसनले यस प्रकरणबारे एउटा समाचर ट्वीट गर्दै आफ्नो धारणा व्यक्त गरेका छन्, ‘म प्रधानमन्त्री भएको ५७ दिन भयो । मेरो पेसाको एउटा काम जमिनी मानिससँग भेटेर तीसँग कुराकानी गर्ने र ठूला समस्याबारे तिनको विचार सुन्नु पनि हो । विचार राख्ने क्रममा सबै मसँग सहमत हुनै पर्छ भन्ने पनि छैन । ती व्यत्तिले मसँग आफ्नो समस्या बताएकोमा म खुसी छ । यो कुनै लाजको कुरा होइन, मेरो कामको हिस्सा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप