शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

बिहीबार, ०२ असोज २०७६, १२ : ४०
बिहीबार, ०२ असोज २०७६

भक्तपुर– देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालय डेंगु रोगको जोखिममा रहेकाले जनचेतना फैलाउने कार्यलाई सबैले तीव्रता दिनुपर्ने बताए ।

भक्तपुरमा डेंगु सङ्क्रमण नियन्त्रण बाहिर जाँदै गरेको प्रतिक्रिया दिँदै कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले देशकै बढी जनघनत्व रहेको भक्तपुरमा डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको बताए । यस वर्ष भक्तपुरमा गत भदौ ८ गते पहिलोपटक डेंगु सङ्क्रमितको पहिचान भएको थियो । कार्यालयका अधिकृत न्यौपानेका अनुसार ज्वरो आउनेबित्तिकै डेंगु रोगको आशङ्कामा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गरेको उनले जानकारी दिए । जिल्लामा सबभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रमा डेंगु सङ्क्रमित बिरामी भेटिएको बताइएको छ । 

मानव बस्तीको बीचबीचमा पानीको स्रोत खुला भएको ठाउँमा डेंगु सार्ने लामखुट्टे बढी पाइने भएकाले डेंगु नियन्त्रण गर्न डेंगु फैलाउने लामखुट्टेको खोज र नष्ट गरौं अभियान सञ्चालन गर्नुपर्ने प्रमुख मिजारले बताए । 

उनले टोल, नगर, विद्यालयलगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रम भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहर नराख्ने कार्य गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप