केन्द्रीय संस्करण

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा

इशान पाण्डे र कुशल मल्ललाई अवसर

person explore access_timeअसोज २, २०७६ chat_bubble_outline0
फाइल तस्विर

काठमाडौँ । सिंगापुरमा यही सेप्टेम्बर २७ तारिखबाट सुरु हुने तीन देशबीचको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

सिरिजका लागि बिहीबार पारस खड्काको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम खेलाडीको सूची तयार पारका हुन् । अधिकांश पुरानै खेलाडीको वर्चस्व रहेको टोलीमा इशान पाण्डे र कुशल मल्ल दुई जना नयाँ खेलाडीले मौका पाएका छन् ।

नियमति उपकप्तान ज्ञानेन्द्र मल्ल पारिवारिक कारणले खेल्न नसक्दा टोलीको उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिईएको छ । आईसीसीले यस सिरिजका लागि भारतीय प्रशिक्षक वुरिटी भेन्कटरामलाई नेपालको बलिङ कन्सल्टेन्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । सिरिजमा नेपालसहित आयोजक सिंगापुर र जिम्बाबेले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल २८ सेप्टेम्बरमा आयोजक सिंगापुरसँग खेल्नेछ । डबल राउन्ड रोबिनको आधारमा खेलाईने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ र सिंगापुरसँग अक्टोबर २ तारिख खेल्नेछ । शीर्ष दुई टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ । सिंगापुरले विश्वकप ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गरेको हो । दुई महिना अघि घरेलु मैदानमा भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको थियो ।

यसैगरी नेपाल सिंगापुरको सिरिज खेलेर ओमनमा पाँच देश सम्मिलित अर्को टी–२० सिरिज खेल्न जानेछ । ओमनले आयोजना गरेको सिरिजमा नेपालसहित आयरल्यान्ड, ओमन, हङकङ र नेदरल्यान्ड रहेका छन् । सिरिज अक्टोबर ५ देखि १० तारिखसम्म सञ्चालन हुनेछ  ।

नेपाली टोली

पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, कारण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा र रोहितकुमार पौडेल ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.