बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसरी बनेको थियो राष्ट्रिय झण्डाको डिजाइन्, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?

बुधबार, ०१ असोज २०७६, १७ : ४६
बुधबार, ०१ असोज २०७६

काठमाडौं– नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा  नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए । अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ । 

नेपालको संविधानको धारा ८ मा सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो भनिएको छ ।

झण्डाको धार्मिक, आध्यात्मिक तथा व्यावहारिक महत्व ठूलो छ । हालको अवस्थाको झण्डाको डिजाइन गर्ने आर्किटेक्ट तथा इञ्जिनीयर  ८५ वर्षीय शङ्करनाथ रिमाल रहेका छन् । काठमाडौँको नक्सालमा बस्दै आएका नेपाल कला परिषद्का महासचिव रिमाल बुढेसकालमा समेत कला सिर्जनामा तल्लीन रहेका छन् ।

काठमाडौँको टङ्गालमा जन्मिएका रिमालले कोलकाता विश्वविद्यालय अन्तरगत बङ्गाल इञ्जिनीयरिङ कलेजबाट सन् १९५७ मा इञ्जिनियरिङ पास गरेका हुन् । त्यसपछि उनी सदर पब्लिक निक्सारी अड्डामा जागिरे थिए  ।

विसं २०१८ वैशाख १ गते राजा महेन्द्रबाट उद्घाटन भएको राजधानीकै आकर्षक शहीदगेट उनले नै डिजाइन गरेका हुन् । होटल सोल्टी, नेपाल प्रज्ञा–प्रतिष्ठान, अमृत साइन्स कलेज, शान्तिगृह, शारदा सदन, भैरहवा र पोखराको नेपाल राष्ट्र बैंक उनकै डिजाइनमा तयार भएको हो । 

राष्ट्रकै गौरव गर्नलायक हालको अवस्थाको राष्ट्रिय झण्डाको डिजाइनर रिमाल अहिले झण्डाको महत्व बढ्दै गएकामा हर्षित छन् । उनले आफ्नो  शशी शङ्कर कलालयमा राष्ट्रिय झण्डाको डिजाइन अध्येताहलाई अध्ययन गर्न मिल्ने गरी बनाएरै राखेका छन् ।

झण्डाको महत्वलाई सर्वसाधारण नागरिकले बुझून् र उनीहरुमा पनि अपनत्व महसुस होस् भन्ने हेतुले सरकारले हरेक नागरिकको घरघरमा राष्ट्रिय झण्डा फहराउन सक्ने गरी कार्यविधि संशोधनसमेत गरिसकेको छ । यस पटकको संविधान दिवस नै झण्डामय बनाउन सरकारले आह्वान गरेपछि झण्डाको महत्व र चर्चा चुलिँदो छ । दयाराम श्रेष्ठद्वारा लिखित ‘नेपालको राष्ट्रिय झण्डा’ इतिहासमूलक कृतिले विसं २०५३ मा मदन पुरस्कार पाएको कुरा पनि यहाँनिर स्मरणीय छ । 

यसरी बन्यो डिजाइन

विसं २०१९ अघि नेपालमा निश्चित मापदण्डको झण्डा थिएन । परम्परादेखि नै दुई  त्रिभुज र  चन्द्रसूर्य राख्ने चलन थियो । कसैले सूर्य माथि त कसैले  तल राखेर झण्डा बनाउँथे । त्यसमा मान्छेको अनुहार पनि राखिएको हुन्थ्यो । ‘चन्द्रसूर्य भनेको छ, आफुखुशी जे कल्पना गरेर राखे पनि भो, तर त्रिकोण, चन्द्रसूर्य, रातो र नीलो रङचाहिँ जसले पनि राख्थे’, रिमालले विगतको अनुभव सुनाउँदै भने ।

रिमालका अनुसार  नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य बनेपछि मन्त्री जाँदा एउटा झण्डा, राजा जाँदा अर्को झण्डा, सचिव जाँदा अर्को झण्डा प्रयोग हुन्थ्यो । फरकफरक झण्डा देखेपछि नेपाललाई सोधिएको थियो, नेपालको आधिकारिक झण्डा कुन हो ? सबै अक्क न बक्क भए । यो खबर राजाकहाँ पुग्यो । त्यसबेला संविधान निर्माण समितिका प्रमुख होराप्रसाद जोशी थिए ।

राजा महेन्द्रले शासन हातमा लिएपछि २०१८ सालमा नयाँ संविधान लेख्ने बेला थियो । त्यस समितिका सदस्य कृष्णप्रसाद पन्त रहेका थिए । उनका भिनाजु डा.बलराम जोशीको घर पनि रिमालले नै डिजाइन गरेकाले नियमित अन्तरक्रिया पनि भइरहन्थ्यो । त्यही सम्पर्कका कारण उनलाई राष्ट्रिय झण्डा बनाउने महत्वपूर्ण अवसर मिलेको हो । रिमालले सम्झिए, राजाले ‘गर्न सक्छौ भन्दा, मैले सक्छु भनेँ ।’

त्यसै बनाएर त भएन । ठूलै चुनौतीको भारी बोकेर उनले अनुसन्धान शुरु गरे । त्यस बेलाका बूढापाका जानकारहरुसँग भेट्न थाले । संयोग आफ्ना हजुरबा शिवनाथ  कविराज र संस्कृतका धुरन्धर विद्वान् थिए । जिजुबाजे पण्डित विश्वनाथ शास्त्री पाणिनिको अवतार नै भनिन्थे । उनीहरुबाट प्राप्त सूचना झण्डा बनाउनका लागि अमूल्य स्रोत बन्यो ।

उनले वास्तुशास्त्र पनि अध्ययन गरे । ‘शास्त्रमा तीन बाई चारको रेक्टेङगल बनायो भने अनन्त हुन्छ, यो भन्दा राम्रो नाउँ केही पनि छैन भन्ने पत्ता लाग्यो । हाम्रो झण्डाको नीलो रङ अनन्तको रङ हो, पानी र आकाशको रङ पनि नीलो, आकाश भनेको अनन्त हो, अनन्त कालदेखि आइराखेको मुलुक फेरि अनन्तसम्म जानुप¥यो भनेर डिजाइन गरेँ’, झण्डाको डिजाइनबारे रिमालले भने । तीन हप्ताको प्रयासमा तयार भयो ।  ‘बनाएर बुझाउनेबित्तिकै सबैले हेरे, मन पराए, चित्त बुझाए, ओके गरे, कसैको प्रतिक्रिया नै आएन, एकै पटक संविधानमा आयो सकियो’, रिमालले भने । 

तीन बाई चारको रेक्टेङगललाई हेरेर चन्द्रसूर्यलाई डायग्राममा तयार पारिएको उनी बताउँछन् । रङ फेर्नुपर्छ कि भन्ने उनलाई लागेको थियो तर गोपालप्रसाद रिमालले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ भनेर लेख्नुभएकाले त्यसलाई परिवर्तन गर्दा परम्परा बिग्रन्छ भन्ने उनलाई लाग्यो  ।

सिम्रिक रङ  विवाह, व्रतबन्धलगायत कुनै शुभकार्य, चुनाव लड्दा होस् या घरमा बिदाइ हुँदा होस् या होलीमा होस् हरेक समय प्रयोग हुन्छ । महिलाको सौभाग्यको रङ पनि रातो हो । शक्ति र क्रान्तिको रङ पनि रातो हो । त्यसकारण यति धेरै कुरा मिल्ने हुँदाहुँदै परिवर्तन गर्न मनले मानेन । रिमालले थपे, ‘नीलो भनेको शान्ति, जल र आकाशको पनि रङ भो । त्यो अनन्तकाललाई मास्ने कुरै भएन । सेतोको अर्थ शुद्ध अथवा पवित्रता भइहाल्यो ।’

कलाकार रिमाल महाभारतकालदेखि नै यही किसिमको झण्डा प्रयोग भएकाले यो नेपालको परम्परा भएको बताउँछन् । महाभारतमा कौरवलाई मद्दत गर्न नेपाल (त्यतिबेला नेपाल नै नाम भन्ने थिएन) बाट पनि सेना गएको थियो । ‘त्यो बेलामा पनि नेपाल भन्ने शब्द रहेछ, हाम्रो हिसाबले त सात हजार वर्ष पहिलेको कुरा हो । त्यसैले त्यो महत्व हराउनु पनि भएन ।’ रिमाल थप्छन् । 

चन्द्र र सूर्यको प्रयोग  

झण्डाको माथिल्लो भागमा चन्द्रमा र तल्लो भागमा सूर्यको प्रयोग हुन्छ । सूर्यको बाह्र कला हुन्छ भन्ने मान्यता छ । चन्द्रमाको १६ कला हो । कसैले माथि सूर्य राख्ने कसैले चन्द्र माथि राख्ने गर्थे  । हालको झण्डामा माथि चन्द्रमाको आठ कला मात्रै देखिएको छ । तल सूर्यको १२ कला छ । 

सूर्यलाई धेरै पराक्रमी मानिन्छ । सूर्य प्रज्ञा र चन्द्रमा  करुणाका प्रतीक हुन् । ‘प्रज्ञाभन्दा त करुणा धेरै महत्वपूर्ण हुन्छ नि होइन र, जतिसुकै प्राज्ञ भए पनि करुणा भएन भने रावण जस्तो हुन्छ, करुणा हुनेबित्तिकै बुद्ध हुन्छ, धार्मिक हिसाबले पनि झण्डामा प्रयोग भएको चन्द्रसूर्यको त्यति ठूलो महत्व छ’,उनले प्रष्ट्याए ।

विसं २०६६/६७ मा झण्डा फेर्ने कुरा आउँदा उनी दुखित भए । धार्मिक मान्यता, झण्डाको इतिहास र महत्व बुझेपछि भने झण्डा फेर्ने कुरा हराएको उनले बताए । 

चन्द्र र सूर्य अनुपम

पाकिस्तानको चन्द्र बेग्लै छ । जापानले सूर्योदयको देश भनेर सूर्य राखेको छ । हाम्रो सूर्य र चन्द्रको उपयोग फरक छ । धेरै देशले सूर्य र चन्द्र प्रयोग गरेका छन्  तर हाम्रो व्याख्यासँग कसैको मिल्दैन । 

त्रिकोण किन 

त्रिकोण आकारको नेपालको झण्डा विश्वकै एक मात्र हो । सबै देशको झण्डा चार कुना छ  । हाम्रो झण्डाको माथिल्लो त्रिकोणको माथिको भाग ५७.९४४११ डिग्रीको कोणमा बनेको छ । त्यसको अर्को छेउको दायाँ कुना ३२.७५५८९ डिग्रीको छ । तल्लो त्रिकोण केही ठूलो छ । त्यसको बायाँ कुना ९० डिग्रीको छ भने दायाँ छेउको कुना ४५ डिग्रीको छ । तलमाथिको छेउको रातो भागको चोसो बराबर रेखामा हुन्छ भने माथिको नीलो चोसो अलिकति बाहिर जान्छ । 

उनी भन्छन्, ‘हाम्रो पहाडहरु सबै त्रिकोण नै त्रिकोण छ, हामीलाई त्रिकोण फेर्नुपर्ने के दरकार, हेर्नेबित्तिकै यो नेपालको झण्डा हो भन्ने सीधै पत्ता लाग्छ, अरुको झण्डा एउटै रङको छ, कसैको माथि फर्केको छ, कसैको तल फर्केको छ, कसैको अगाडि त कसैको पछाडि छ, सबै झण्डामा पाँच छ वटा रङमा त छ नि, अलिकति फरक भनेको अफ्रिकनको हो ।’

अरु देशको झण्डा चिन्न त सोध्न जानुपर्छ या इन्साइक्लोपिडिया पल्टाउनुपर्छ तर नेपालको झण्डा खोजिरहनुपर्दैन । यसले परम्परादेखि नै हाम्रो पहिचान राखेर छाडेको उनी बताउँछन् । ‘यस्तो यूनिक देश छ नि हाम्रो, त्यसैले झण्डा पनि यूनिक छ, सानो देश जहिले पनि संसारमा हेर्नेपर्ने मुलक भनेर किन हाम्रो मुलुक माथि आउँछ त ?  फरक छ नि त हाम्रो मुलुक, भलै आर्थिकमा पछि परेको होला’, उनले भने ।

घरघरमा झण्डा  
अमेरिकामा हरेक व्यक्तिले घरमा र मोटरमा समेत झण्डा राख्न पाउँछन् । अहिले सरकारले नागरिकले समेत झण्डा राख्न पाउने व्यवस्था गरेका मा रिमाल खुशी छन् । ‘ढिलै भएपनि सरकारले बुद्धिमतापूर्वक काम गरेको छ, आफ्नो गौरव हो, हरेकको घरमा राख्न किन नदिने ?’ उनले खुशी हुँदै भने ।

अमेरिकामा झण्डा फ्याँक्न पाइँदैन । लडाउन र रङ पोत्न पनि पाइँदैन । सबैले पालना गरेका छन् । नेपालमा भने सरकाले जनतालाई झण्डा प्रयोग गर्न  सिकाउनु पर्ने उनको सुझाव छ ।  

सरकारले यही असोज ३ गते संविधान दिवस नै झण्डामय बनाएर मनाउन लागेको सुन्दा रिमाल औधि खुशी रहेका छन् । ‘पहिले नै गर्नुपर्ने काम ढिलै भए पनि गरेकामा सरकारलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।’ खुशी हुँदै रिमालले भने । यस वर्षको संविधान दिवसको नारा नै ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप