बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ मा यसरी अघि बढ्दैछ डेंगु नियन्त्रण अभियान

बुधबार, ०१ असोज २०७६, १६ : ३५
बुधबार, ०१ असोज २०७६

बुटवल– देशभर डेंगु रोगको प्रकोप बढेपछि पाँच नम्बर प्रदेशमा पनि त्यसको नियन्त्रणका लागि अभियान सुरु भएको छ । प्रदेशका विभिन्न स्थानीय निकायहरुमा डेंगु रोग नियन्त्रणका लागि अभियान सुरु भएको हो । प्रदेशका बुटवल उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, रुपन्देहीका तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान थालेका हुन् ।

आजदेखि सिदार्थ नगरपालिकाभित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको बासस्थान र लार्भा नस्ट गर्ने काम सुरु गरिएको छ भने प्रत्येक घरमा पुगेर ज्वरो आएका र डेंगु लागेका विरामीको तथ्यांक संकलन गर्ने अभियान समेत सुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए ।

नगरपालिकाको सुरु गरेको अभियान अन्तर्गत पानी जम्ने ठाउँ नष्ट गर्ने, पानी ट्यांकीलाई छोपेर राख्न सुझाव दिने, फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्न सुझाव दिने, बाहुला भएका वा शरीर ढाकिने लुगा लगाउन र झुलको प्रयोग गर्न सुझाव दिने, लामखुट्टे भगाउने मल्हम प्रयोग गर्न, घर वरिपरि सफासुग्घर राख्न र पानी जम्ने खाल्डाखुल्डी पुर्न नगरबासीलाई सचेतना गराइने कार्यक्रम रहेको उपप्रमुख उमा काफ्लेले बताइन् ।

डेंगु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने अभियानमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपानेको नेतृत्वमा स्वाथ्यकर्मी र स्वयम्सेविका परिचालन गरिएको छ । नगरका १३ वटै वडामा ५० वटा केन्द्रमार्फत् १ सय १ जना स्वयम्सेविका तथा स्वास्थ्यकर्मी, कर्मचारी परिचालन गरिएको न्यौपानेले बताइन् । 

न्यौपानेले भनिन्, ‘यसअघि नगरभित्रका विद्यालयहरुमा अभियान चलाइसकेको छौं । जनप्रतिनिधिहरु पनि परिचालन भएका छन् । वडा कार्यालयमा आउने सेवाग्राहीलाई पर्चापम्पलेट बाँडिएको छ । नगरभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेर डेंगु नियन्त्रणमा लाग्न अपिल समेत गरिएको छ ।’ 

दुई दिने अभियानमा नगरका प्रत्येक घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्ने तरिका सिकाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप