शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

बुधबार, ०१ असोज २०७६, १३ : ४४
बुधबार, ०१ असोज २०७६

चितवन– सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । 

त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको बताएका छन् । शुल्क नघटेसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । 

मुख्यरुपमा एमबिबिएसमा सरकारले तोकेभन्दा रु १२ लाख बढी शुल्क कलेजले असुल गरेको चन्दको भनाइ छ । यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएसका लागि शैक्षिक शुल्क रु ४२ लाख तोकेको बताए ।

यसका अतिरिक्त आइओएमलाई जनाकारी गराएर परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी रु छ लाख मात्र अतिरिक्त शुल्क लिइएको उनको भनाइ छ । शुल्कका विषयमा विवाद भएपछि प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिले अध्ययनसमेत गरेको भन्दै उनले सो समितिले दिएको प्रतिवेदन र सुझावअनुसार अघि बढ्न आफूहरु तयार रहेको बताए ।

समितिले शैक्षिक शुल्कका अतिरिक्त कलेजले लिँदै आएको तीन शुल्कबाहेक रजिष्टे«शन, काउन्सिल शुल्क र सम्बन्धन शुल्क लिन पाउने उल्लेख गरेको भन्दै त्यसमा रहेर काम गर्न आफूहरु तयार रहेको प्राडा न्यौपानेले बताए । अन्य सङ्कायमा सरकारले शुल्क निर्धारण गर्नुअघि कलेज स्वयंले निर्धारण गरेको शुल्क बढी भए पनि तोकेपछि भने बढी नलिएको न्यौपानेले जानकारी दिए । पुरानो शुल्क घटाउन नमिल्ने भन्दै नयाँ शुल्क सरकारले तोकेभन्दा बढी नलिइने बताए । 

कलेज बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै उहाँले तत्काल आन्दोलन फिर्ता लिएर नियमित पठनपाठनमा सहयोग पु¥याउन आग्रह गर्दै आएको बताए । नेपालमा हाल १८ वटा मेडिकल कलेज सञ्चालनमा रहेका छन् । सबै मेडिकल कलेजमा यस्ता समस्या भए पनि यहाँमात्र आन्दोलन भएको उनले बताए । ‘सरकारले तोकेको शुल्कमा पढाउन तयार हुँदा अन्यत्र हुने हाम्रोमा मात्र आन्दोलन किन भइरहेको छ हामी अन्योलमा छौँ ?’ न्यौपानेको प्रश्न छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप