मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको प्रश्न : शान्ति सुरक्षामा धावा बोल्नेलाई प्रतिबन्ध नलगाए के गर्ने ?

‘भ्रष्टचारीहरुको भिडियो क्लिप सरकारसँग आइसकेको छ’
बुधबार, ०१ असोज २०७६, १३ : ०४
बुधबार, ०१ असोज २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रविरुद्ध विभिन्न खाले गतिविधि र षड्यन्त्र भइरहेको भन्दै त्यस्ता गतिविधिहरुलाई सरकारले त्यसै नछाड्ने चेतावनी दिएका छन् ।

बुधबार सिंहदरवारस्थित संघीय संसद भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले उग्र दक्षिणपन्थी र उग्र क्रान्तिकारीकारीको नाममा गतिविधि गर्नेहरुप्रति लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।

‘सरकारले त्यस्ता गतिविधिलाई नियालिराखेको छ । जबसम्म डम्मरुमाथि आक्रमण हुँदैन, तवसम्म बघिनी चुप लागेर बस्छे, आक्रमण भएको थाहा पाएपछि बघिनी जाइलाग्छे,’ प्रधानमन्त्रीले भने, ‘लोकतन्त्रमाथि खतरा उत्पन्न भए सरकारले छाड्दैन, चुप लागेर बस्दैन ।’

त्यस्तै प्रधानमन्त्रीले मुलुकमा हिंसा आवश्यक नभएको पनि प्रष्ट पारे । उनले विप्लव समुहका गतिविधिप्रति संकेत गर्दै भने, ‘लोकतान्त्रिक प्रणालीबाट बनेको सरकार छ । अब केका लागि हिंसा ? केका लागि बम पड्काउने ?’

उनले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि कतिपयले कोकोहोलो मच्चाएको भन्दै असन्तुष्टि पनि जनाए । ‘कतिले सरकारले प्रतिबन्ध लगायो भनेर कोकोहोलो मच्चाए । शान्ति सुरक्षामा धावा बोल्नेलाई प्रतिबन्ध नलगाएर के गर्ने त ?,’ उनले प्रश्न गरे । 

आफ्नो नेतृत्वमा सरकार गठन भएको २ वर्ष हुन लागेको भन्दै उनले सरकारका कामकारवाहीले गति लिएन भन्ने आलोचना आफूले सुनेको र त्यसलाई गम्भीरतापूर्वक लिएको पनि बताए ।

भ्रष्टाचारका विषयमा बोल्दै प्रधानमन्त्रीले भ्रष्टाचारीहरुलाई सरकारले कुनै हालतमा माफि नदिने प्रतिबद्धता दोहोर्याए । ‘नयाँ संसद भवनबनेसँगै भ्रष्टाचार यसरी निर्मुल पार्छौ कि नयाँ संसदमा भ्रष्टारचार बारे छलफल नै नहुने अवस्था आओस्,’ प्रधानमन्त्रीको भनाई थियो ।

‘अब भ्रष्टचारीहरु पनि आनन्दले नबसे हुन्छ । सबैको रेकर्ड राखिएको छ । भिडियो क्लिप सरकारसँग आइसकेको छ । जो भ्रष्टाचारी छन् उनीहरु शान्तिसँग बस्न पाउँदैनन्’ प्रधानमन्त्रीले चेतावनी दिए । निर्धारित समायमा संघीय संसदको भवन निर्माण सम्पन्न गर्न निर्देशन दिदै प्रधानमन्त्रीले वर्तमान सांसदहरुले नै नयाँ संसद भवनमा बस्न पाउने गरी निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । उनले मुलुकमा धेरै परिवर्तन भइसकेपनि नयाँ संसद भवन निर्माण नगर्दा भाडामा बस्नुपरेको भन्दै अब त्यो अवस्थाको अन्त्य हुने दावी गरे ।

सात अर्ब ७३ करोडमा सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण हुने संघीय संसद भवन तीन वर्ष बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप