बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देही गोलीकान्ड : परिवारको आशंका आफन्तैमाथि

सिसीटीभी फुटेजमा कैद भए हत्यारा
बुधबार, ०१ असोज २०७६, १० : १६
बुधबार, ०१ असोज २०७६

बुटवल । रुपन्देही ओमसतिया–५ पट्खौलीका ३५ वर्षीय महेन्द्र कुर्मी (चौधरी) हत्या प्रकरणमा प्रहरीले अझै पनि हत्याराको पहिचान गर्न सकेको छैन ।

भैरहवाको हिमालयन बैङ्कबाट पाँच लाख निकालेर श्रीमतिसहित मोटरसाइकलमा घर फर्कदैँ गर्दा कुर्मीको आइतबार दिउँसो रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरमा अज्ञात समुहले दिनदहाडै गोली हानी हत्या गरेको थियो । लुटेराहरुले बैङ्कबाट निकालेको नगद, चेकबुक अन्य कागजपत्र पनि लुटेर भागेका थिए । 

यता, दिनदहाडै अज्ञात समूहले गोली प्रहार गरी कुर्मीको हत्या भएपछि विभिन्न राजनीतिक दलहरुले हत्यारालाई छिटो पक्राउ गर्न माग गरेका छन् । हत्यापछि हत्यारालाई पक्राउ गरी कारवाहीको माग स्थानीयले शवसमेत उठाउन  मानेका थिएनन् । सोमबार बल्ल शवको शतगत गरिएको छ ।

यसरी हुँदैछ गोलीकाण्डको अनुसन्धान 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रबहादुर शाहीले अहिले नै सबै विषयमा मिडिया बोल्न नमिल्ने बताउँदै प्रहरीले घटनालाई प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी निरीक्षकको नेतृत्वमा एक अनुसन्धान टोली नै गठन गरी पारिवारिक रिसिइबी, लुटपाटदेखि राजनीतिक सबै कोणबाट अनुसन्धान गरिरहेको छ । उनी समाजवादी पार्टीका सदस्यसमेत रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शाहीले शंका लागेको व्यक्ति र केही स्थानीयसँग सोधपुछ जारी रहेको बताउँदै प्रहरीले घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको रातोपाटीलाई बताए । यद्यपि, हत्या भएको तीन दिन बितिसक्दा पनि घटनाको मुलपाटोसम्म प्रहरी अझै पुग्नसकेको छैन ।

शाहिले भने, ‘हामी हरेक कोणबाट अनुसन्धान गरिरहेका छौँ । तर हत्या ठ्याक्कै यही कारणले भएको भन्ने अवस्था अहिले छैन ।’

यता, प्रहरीले सिसीटीभी फुटेजमा हत्याराहरु कैद भएको फेला पारिसकेको छ । नम्बर नखुलेको मोटरसाइलमा आएका दुई जना लुटेरामध्ये पछाडि बस्नेले गोली प्रहार गरेको प्रहरीको भनाइ रहेको छ । त्यही सिसीटीभी फुटेजको अधारमा लुटेराहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ । यता, घटना कसले किन घटना घटायो भनेर पनि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको छ । 

छोरीको आरोप

कुर्मी वैदेशिक रोजगारमा लामो समय बसेर फर्केका व्यक्ति हुन् । उनी नेपाल बसेर पछिल्लो समय खेती किसानी गर्दथे ।

दुई वर्ष अघि मात्र उनको भाइको पनि रहस्यम मृत्यु भएको थियो । भाइको मृत्युको कारण प्रहरीले सवारी दुर्घटना मृत्यु भएको बताए पनि घटना रहस्यमय भएको परिवारका सदस्यहरु बताउँछन् ।


यही बीचमा आइतबार कुर्मीको पनि गोली हानी हत्या भयो । दुई छोराछोरी रहेका कुर्मीकी छोरी सोनमले बुवाको हत्यामा आफ्नै आन्टीको संलग्नता रहेको आरोप लगाएकी छिन् । सोमबार पत्रकारसगँहरु कुरा गर्दे स्पाङगल बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छोरी सोनमले बुबालाई आफ्नै आन्टी (काकी) को योजनामा हत्या गरिएको दाबी गरिन् ।

उनले भनिन्, ‘मेरा अङ्कल धमेन्द्र चौधरीको २०७४ साल कार्तिकमा मृत्यु भयो । के कारणले मृत्यु भन्ने अहिलेसम्म खुलेको छैन । अङ्कलको मृत्युपछि आन्टी घरमा बस्न छाड्नु भयो । उहाँले माइतमा बसेर विभिन्न मान्छे लगाएर हामीलाई धम्काउने गर्नुहुन्थ्यो । उहाँले नै बुवाको हत्या गर्न लगाउनु भयो ।’

उनले आन्टीकै कारण बुबाको हत्या भएको दाबी गर्दै घटनाको छिट्टै सत्यतथ्य बाहिर ल्याउन माग गरेकी छन् ।

यसरी भएको थियो हत्या 

आइतबार दिउँसो हिमालय बैङ्कबाट ५ लाख रुपैयाँ निकालेर कुर्मी दम्पत्ति लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा सवार भएर घर फर्कदैँ थिए ।

बाटोमा दुई जना अपरिचित व्यक्तिले श्रीमान्को कमिज समाएर तानेर बाइकबाट लडाएको सँगै मोटरसाइकलमा सवार रहेकी मृतककी श्रीमति विजयलक्ष्मी कुर्मीले बताइन् । उनका अनुसार ती दुई जनाले कपडाले मुख छोपेका थिए । कुर्मीलाई लडाएपछि उनीहरुले गोली प्रहार गरेको र साथमा रहेको पाँच लाख रुपैयाँ पनि लुटेर मोटरसाइकलमा फरार भएका थिए । उनीहरुले प्रयोग गरेको मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।  

दिनदहाडै भएको हत्याले रुपन्देही प्रहरीको सुरक्षा स्थितिको पोल खोलेको स्थानीय अगुवाहरुको भनाइ छ । स्थानीय राजनीतिक दलहरुले अहिलेको सुरक्षा व्यवस्था माथि प्रश्न उठाउँदै तत्काल हत्यारा पक्राउ गर्न माग गरेका छन् । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले प्रेस विज्ञप्ती जारी गर्दै हत्यारा पत्ता लागाउन माग गरेका छन् ।

प्रहरीले भने अनुसन्धान भइरहेको र छिट्टै हत्यारा पक्राउ पर्ने दाबी गरेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप