बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए महासचिवका उम्मेदवार हेमराज शर्माको घोषणापत्र : यस्ता छन् संस्थालाई उचाइमा पुर्‍याउने ७ मन्त्र

बुधबार, ०१ असोज २०७६, ०६ : १०
बुधबार, ०१ असोज २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको महासचिव पदका उम्मेदवार डा हेमराज शर्माले आफ्नो प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेका छन् । 

बेलायतबाट आफ्नो घोषणापत्र सार्वजनिक गर्दै शर्माले त्यसलाई कार्यान्वयन गर्न योजना र कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् । 

डा  शर्माले सबैको एनआरएनए, सबल र बहुआयामीक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दीगो एनआरएनए, सिप, ज्ञान र नवप्रवर्द्धनका लागि एनआरएन तथा  उत्तरदायी र पारदर्शी एनआरएनए  गरी निर्देशक सिद्दान्त (मन्त्र)लाई आत्मसात् गर्दै काम गर्ने प्रतिवद्दता जनाएका छन् । 

  शर्माले हाल संघमा न्यून संख्यामा गैरआवासीय नेपाली आवद्ध रहेको भन्दै आम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ मेरो पनि हो भन्ने अपनत्व महसुस गराउन संस्थागत संरचनामा परिवर्तन गर्ने एजेण्डालाई प्राथमिकताका साथ अघि सारेका छन् । 

यस्तै भिजन २०२० एण्ड बियोडको मर्म अनुरुप युवा, महिला, वैदेशिक रोजगार, लगानी, मानवकल्याण, प्राज्ञिक विभाग गरी ६ विभागको गठन गर्ने गरी संस्थागत संरचनामा परिवर्तन गर्ने,  दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघ र नेपालसँगको सामीपत्यता कायम गर्न हरेक राष्ट्रिय परिषद्मा एउटा छुट्टै निकायको व्यवस्था गर्ने, वैदेशिक रोजगारीका समस्या र सम्भावानाका बारे श्वेतपत्र तयार गर्ने,  प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमार्फत थोरै आम्दानी हुने नेपालीहरुले लगानी गर्न सक्ने वातावरण तयार गर्ने जस्ता विषय डा शर्माको प्रतिवद्धतापत्रमा समेटिएको छ।

गैरआवासीय नेपाली संघलाई अन्तर्राष्ट्रियस्तरको नमूना संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गर्ने, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदाय बिच समन्वय गर्न पुलको रुपमा काम गर्ने, गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने जस्ता विषय पनि शर्माको चुनावी प्रतिवद्धतापत्रमन उल्लेख गरिएको छ । 

यस्तै गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने पनि शर्माले बताएका छन् । 

जसअनुसार संघको दुईवर्षे कार्ययोजना सहभागीमूलक रुपमा निर्धारण गरी कार्यक्रमको क्यालेण्डर तयार गर्ने, परियोजना छनोटसम्बन्धी नीति बनाई पुनरावलोकन र मूल्याङ्कन गर्न विज्ञहरुको समिति बनाउने, हाल आयोजना हुँदै आएका क्षेत्रीय बैठकको सट्टा निश्चित योजनामा केन्द्रित विषयगत कार्यशाला र गोष्ठीहरुको आयोजना प्रभावकारी र मितव्ययी रुपमा गर्ने, संघले नेपालमा गर्ने गतिविधी र कार्यक्रमहरुलाई काठमाडौं उपत्यका बाहिर बिस्तार गर्ने जस्ता विषय समेटिएका छन् । 

 यसैगरी सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिने पनि डा शर्माले जनाएका छन् । 

जसअनुसार भिजन–२०२० अनुसार विधानमा व्यवस्था भएको एनआरएनए फाउण्डेसन स्थापना गर्ने,  गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका व्यवसायबाट लाभांशको न्युनतम प्रतिशत एनआरएनका लागि छुट्याउनु पर्ने, संसारभरि छरिएर रहेका एनआरएनएका सदस्यहरु समक्ष आफ्नो उत्पादनको  विज्ञापन पुर्याउन चाहने व्यवसायिक संस्थाहरुबाट शुल्क लिनजस्ता विषय समेटिएको छ । 

 यस्तै गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न एउटा छुट्टै विभागको गठन गर्ने,  संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाईने, आर्थिक पारदर्शिताका कायम राख्न सचिवालयमा एक संयन्त्रको स्थापना गर्ने, एनआरएनए र आम गैरआवासीय नेपाली बीच सिधासम्पर्क गर्न विद्युतिय माध्यमबाट ‘एनआरएनएसँग सिधा संवाद’ कार्यक्रम सञ्चालन गर्ने र  यस्ता कार्यक्रममा गैरआवासीय नेपालीका चासोका विषय (वैदेशिक रोजगार, मतदानको अधिकार, नागरिकता, सम्पत्तिको अधिकार आदि) बारे  पदाधिकारीहरुसँग प्रत्यक्ष संवाद गर्न सकिने शर्माको घोषणापत्रमा उल्लेख छ । 

यसैगरी पदाधिकारी गैरआवासीय नेपाली संघका सदस्यप्रति उत्तरदायी रहनका सागि उच्चआचरण कायम राख्नुपर्ने व्यवस्था कडाईका साथ लागू गर्ने,  एनसीसी र आइसीसीका निर्वाचनलाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाइ राजनीतिक रुप नदिन पहल गर्ने पनि उनको प्रतिवद्धतापत्रमा उल्लेख छ । 

यसैगरी गैरआवासीय नेपालीहरुका चासोको विषयहरुमा संघले आधिकारिक धारणा बनाइ त्यस्ता आधिकारीक धारणा बारे नेपाल सरकार र अन्य सम्वन्धित निकायहरुसँग प्रभावकारी संवाद गर्नका लागि प्रतिनिधिहरुको छनोट गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ। 

आर्थिक पारदर्शिताका लागि संघको अनुमातिक वार्षिक आयव्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गरिने पनि प्रतिवद्धतापत्रमा समेटिएको छ । 

‘गैरआवासीय नेपाली संघ स्थापना भएको सन् २००३ को दाँजोमा अहिले हामी बेग्लै अवस्थामा प्रवेश गरेका छौं। प्रविधिले फड्को मारेको छ । देशभित्रको राजनीति स्थिति र अन्तर्राष्ट्रिय आर्थिक धरातलमा परिवर्तन आएको छ । बाहिर बस्ने नेपालीहरुको संख्यात्मक र गुणात्मक बढोत्तरी हुनुका साथै उनीहरुको आर्थिक तथा पेसागत अवस्था सवल भएकोछ। दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु (विदेशमा जन्मेहुर्केको पुस्ता) को  संख्या क्रमशस् बढ्दो छ । एनआरएनएका संस्थापकहरु संघको सकृय नेतृत्वमा हुनुहुन्न । बदलिएको यस चुनौतीपूर्ण परिस्थितिमा गैरआवासीय नेपाली संघलाई समय सापेक्ष विकास गर्ने र सुदूर भविष्यको मार्गचित्र तयार गर्ने अवसर यसपछिको पुस्तालाई आएको छ । यस ऐतिहासिक घडीमा म पनि यो प्रक्रियाको एक हिस्सा बन्न सक्छु भन्ने आत्मविश्वासका साथ संघको आगामी कार्यकाल (सन् २०१९–२१) का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’ शर्माले आफ्नो चुनावी प्रतिवद्धतापत्रको भूमिकामा भनेका छन् ।  

संघ बलियो भयो भने मात्र मातृभूमिका लागि केही गर्न सकिन्छ भन्ने विश्वासका आफूल उम्मेदवारी दिएको बताउँदै उनले भनेका छन्, ‘महासचिवको रुपमा संघलाई संस्थागतरुपमा बलियो बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

को हुन् डा शर्मा ?
शर्मा विगत १४ वर्षदेखि गैरआवासीय नेपाली संघमा सक्रिय छन् । उनी गैरआवासीय नेपाली संघ जापानको महासचिव, दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, प्रवक्ता हुँदै विगत तीन कार्यकाल संघको सल्लाहकार भए । 

यस्तै उनले विधान समितिको सदस्यबाट शुरु गरेर पछिल्लो तीन कार्यकाल सो समितिको संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । सोही समितिमा रहि संघको नयाँ विधान (२००७ मा परिमार्जित) को खाका कोर्ने देखि संघका अधिकांश नियमावलीहरु निर्माण गर्ने क्रममा उनले नेतृत्वदायी भूमिका खेलेका छन् ।

यस्तै सन् २०१८ को एनआरएन प्रथम विश्व विज्ञ सम्मेलनको संयोजन पनि डा शर्माले नै गरेका थिए भने कार्यकारी पदमा नरहँदा पनि उनी संघले आयोजना गरेका सबै विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन र महत्त्वपूर्ण बैठक गोष्ठीमा सहभागीद हुँदै आएका छन् ।  हालसम्मका पाँच वटै अध्यक्षहरु उपेन्द्र महतो, देवमान हिराचन, जीबा लामिछाने, शेष घले र भवन भट्टको समितिमा रही उनले केही न केही भूमिकामा काम गरेका छन् । 

नेपालको बागलुङमा जन्मि हाल विश्वप्रसिद्ध लिभरपुल विश्वविद्यालयका प्राध्यापक समेत रहेका उनी एनआरएनभित्रका वौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् । 

उनले निरन्तर गैरआवासीय नेपालीहरुको नागरिकता तथा मतदान अधिकारलगायतका आप्रवासी हकहितका विषयमा आवाज उठाउँदै आएका छन् । यसका अतिरिक्त पेशागत रुपमा उनले बेलायत, जापान, जर्मनी, ईटालीका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्यन, अध्यापन र अनुसन्धानबाट ज्ञान, सिप र अनुभव हासिल गरेका छन् । डा शर्मा भन्छन्, ‘म महासचिवमा निर्वाचित हुँदा गैरआवासीय नेपाली संघमा प्राज्ञिकवर्गको प्रतिनिधित्व मात्र हुने छैन संघमा हालसम्म निराशाजनक रहेको यो समुदायकय सहभागितालाई समेत थप उत्साहित बनाउनेमा विश्वस्त छु  । फलतः यसले गर्दा ज्ञान, सिप र प्रविधि नेपालमा भित्र्याउने संघको योजनामा टेवा मिल्ने छ ।’

उनको घोषणापत्रमा भनिएको छ, ‘विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नु हुने मित्रहरुलाई म पद र प्रतिष्ठाका लागि भन्दा संघलाई ठोस् योगदान दिने उद्देश्यले एनआरएनएमा सक्रिय हुदै आएको तथ्य अवगतै छ। त्यही विगतलाई साक्षी राखी यसपटक कार्यकारी पदमा बसेर संघलाई अझ बढी योगदान दिन सकिने विश्वाससहित महासचिव पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ । संघ बलियो भयो भने मात्र मातृभूमीका लागि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ महासचिवको रुपमा संघलाई संस्थागतरुपमा बलियो बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’
एनआरएन विश्वसम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप