‘वंशीलालको स्कुल’
“बाावु, तिमी कहिले पढ्छौ खै ? हिजो स्कुलबाट आएर भाँडा माझिरहेका थियौ । अस्ति गोठमा गोबर सोहोरिरहेका थियौ । आज करेसाबारीमा गोलभेँडाका बेर्ना सारिरा’छौ । आमाले गर्ने काम तिमी किन गर्छौ ? हात धोएर आऊ । बसेर पढ ।” हर्कलालले कक्षा ५मा पढ्ने छोरा वंशीलालसँग भन्यो ।
वंशीलालले मुसकुराउँदै बाबातिर हेर्यो र सार्ने क्रममा अर्को बेर्ना हातमा लियो । वंशी, सुनेनौ ? गोलभेँडा रोपेर पाठ पढिन्छ त ? हर्कलालले आवाज अलि बढायो । (यस पटक काठमाडौ गएर आएपछि उसले श्रीमती र छोरालाई तिमी भन्न थालेको छ । उसले तिमी भन्दा वंशीलाई हाँसो उठ्छ । चमेली त अझ खितितिती नै हाँस्छिन् ।)
“स्कुलमा सरले आज करेसाबारीमा तरकारी रोप्नू भन्नुभाछ क्या बाबा, यो पनि हाम्रो होमवर्क नै हो ।” वंशीले भन्यो ।
“हँ ?, तरकारी रोप्ने पनि होमवर्क ?!” हर्कलालले आश्चर्य पोख्यो । उ आँगनमा उभिएर बारीमा छोरालाई हेरिरहेको थियो । चमेली आँगनछेउकै गोठमा गाइका गर्धनबाट किर्ना टिप्दै फाल्दै थिई । वातावरण पहेँलो घामको आभामा नुहाउँदै छ कि जस्तो देखिन्थ्यो । आँप बडहर कटर र कन्तरका रुखमा थरी थरीका चराहरु चहार्दै र चिर्विराउँदै थिए । गौंथलीका जोडी चुच्चोमा चारा लिएर आए र ढोकैमाथि दलिनमा टाँसिएको आफ्नो गुँडमा पसे ।
गोलभेँडाका बेर्ना सार्दै बंशीले भन्यो, हाम्रो विद्यालयमा यस वर्षबाट विद्यार्थीलाई पढ्न मात्र हैन काम गर्न पनि सिकाउने रे । विद्यालय मुनिको रिट्ठे पाटो छ नि, हो, त्यसमा अव हामीले खेती सिक्ने ।
खेती पनि सिक्नु पर्छ र ? हामीले सिकेनौं । खेती गर्छौं त ! हर्कलालले भन्यो ।
नयाँ किसिमले खेती गर्न सिकाउने रे । अग्र्यानिक खेती गर्न सिकाउने रे । वंशीलालले बाबातिर हेरेर भन्यो, हाम्रो स्कूलमा नि बाबा, खाना पकाउन पनि सिकाउँछ । भाँडा माझ्न, कपडा धुन सबै सिकाउँछ । अव अर्को वर्षबाट बिजुलीको काम पनि सिकाउने रे ।
अनि किताप पढ्नेचाहिँ कहिले त ?
किताप पनि पढ्ने काम पनि पढ्ने क्या बाबा, हाम्रा हेडसरले भन्नुभा छ अव हामीले ज्ञान मात्र बटुलेर हुँदैन, काम गर्न पनि जान्नुपर्छ ।
एः अव म तिम्रो स्कूलमा गएर हेडसरसँगै कुरा गर्नुपर्ने भयो । पढ्ने बेलामा काम गराउने कुरा मलाई चित्त बुझेन ।
गोठमागाइभैंसीलाई घाँस दिँदै चमेलीले भनिन्, मलाई त मज्जा लाग्याछ । अअलिकति भने पनि काम सघाउने निस्क्यो । म त हेडसरलाई भेटेँ भने धन्यवाद भन्छु ।
हर्कलालले आँखा तर्दै चमेलीतिर हेर्यो र भन्यो, हामीलाई त यस्ता भाँडा माझ्ने, लुगा धुने, खुर्सानी सार्ने काम हाम्रा बाआमाले कहिल्यै सिकाएनन् ।
यही त गल्ती गर्नुभएछ । चमेली खितितिती हाँसिन् । उता गोलभेँडा सारिसहेको वंशीलाल पनि हाँस्यो । हर्कलाल केही नबोली पिढी उक्ल्यो र फलैँचामा बस्यो ।
भोलिपल्ट स्कुल नलाग्दै हर्कलाल स्कुल पुगिसकेको थियो । उ आज हेडसरसँग कस्सिएर कुरा गर्ने मुडमा थियो ।
“हामी त सक्किएछौं नि हर्कलाल दाइ !” अफिसमा आफ्ना अगाडि मेचमा बसेका हर्कललाले कुरा थाल्नुअघि नै हेडसर राजुमानले भने, “हाम्रो मुलुक किसानीको मुलुक । हामी किसान । अहिले हामीलाई विदेशीले बीउ मल र विषादि पठाइदिएन भने हाम्रो खेतबारी बाँझै हुन्छ । खराब बीउ पठाइदियो भने खेती खलास हुन्छ !”
“हैन, मैले त हेडसरको कुरै बुझिनँ !”
“हर्कलाल दाइ, तपाइँ धानको बीउ कृषिपसलबाट किन्नुहुन्छ । गहूँ मकै दाल तरकारीका बीउ बीजन सवै पसलबाटै किन्नुहुन्छ । आफुलाई चाहिने बीउबीजन आफ्नै खेतीबाट किन बनाउनुहुन्न ?”
हर्कललाल अवाक् भएर हेडसरको अनुहार हेरिरह्यो ।
“तपाइँ अव आफ्ना बाउबाजेले बनाएजसरी आफ्नो खोतीबाट बीउ बनाउनै सक्नुहुन्न । तपाइँले बनाएको बीउ उम्रँदैन !”
“हैन, हेडसरले के भन्न खोज्नु भएको ?” हर्कललाले जिज्ञासा राख्यो ।
“रासायनिक मलले हाम्रो माटो मर्दैछ । त्यो तपाइँलाई पनि थाहा छ । खेतीमा प्रयोग गरेका विषादिले हामी रोगाएर मर्दैछौं । त्यो पनि थाहा छ । विकासे बीउबाट फलेको कुनै कुरा बीउ बन्दैन । त्यो पनि थाहा छ । उनीहरु बीउ बनाउँदा यसरी किन बनाउँछन् त्यो हामीलाई थाहै छैन । कुरा यस्तो छ ।”
“हाम्रो भाग्य भविष्य सवै अरुले खोस्यो !” हर्कलालका आँखामा आँखा जुधाएर हेडसरले भने, “अव हामीले आफ्नो भाग्य भविष्य आफ्नै हातमा लिनुपर्छ । त्यसैका लागि हामीले यस वर्षबाट विद्यालयमा खेतीपाती पनि सिकाउने योजना बनाएकाछौं । हामी हाम्रा विद्यार्थीलाई अग्र्यानिक मल , हानिरहित विषादि बनाउन सिकाउँदैछौं । अग्र्यानिक खेती गर्न सिकाउँदैछौं । बीउबीजन उत्पादन गर्नर ब्याङ्किङ् गर्न पनि सिकाउँदै छौं ।
हर्कलाल ट्वाँ पर्यो । उसले यो पछिल्लो कुरा बुझेन । हेडसरले भने, “हर्कललादाइ, तपाइँकहाँ अहिले कान्छी भटमासको बीउ छ ? बयेर्नी, समुद्रफेनी, मालभोग, झिनुवाजस्ता पुराना धानको बीउ छ ? दन्तलहर मकैको बीउ छ ?”
“छैन । त्यो त कुनै पनि छैन !” हर्कलालले भन्यो, “त्यो अव किन चहियो र ? विकासे बढी फल्छ ।”
“हो, हामी त्यहीँनेर चुक्यौं । हर्कललादाइ, हामीले आफ्नै बीउबीजनलाई आफ्नै किसिमले विकास गरेर जोगाउन सकेनौं । त्यो मासियो । हाम्रो वेलाको धान चामलको बास्ना, स्वाद र शक्ति अहिलेको विकासेमा छ ? छैन नि । बढी फल्छ त जथाभावी रासायनिक मल राखेपछि बढी फलेको छ । अव मलले माटो बिग्रिसकेपछि के फल्छ ? फल्दैफल्दैन !”
“त्यो त हो सर, यसपाली हाम्रो गहिरी खेतमा धानफलेन । भटमास पनि सवै खुइलियो । गेडै लागेन । पारीघरे काकाले भन्नुभयो तिम्रो खेतको माटो बिग्रेरै यस्तो भएको हो !”
“हो, अव माटो सपार्नु पर्यो । हाम्रो देशले वर्सेनी अर्बौंको विषादि आयात गर्छ । खर्बौंको रासायनिक मल आयात गर्छ । यसले हाम्रो माटो बिगारेको छ । हाम्रो स्वास्थ्य बिगारेको छ । अव हामीले आफनै परम्पराको प्रविधिलाई विकास गर्नुपर्यो । खेतीलाई अग्र्यानिक बनाउनुपर्यो । विषादिरहित बनाउनुपर्यो । कतै बाँकी भेटियो भने हाम्रा पुराना धान मकै गेडागुडी र सागपातको बीउ खोज्नुपर्यो । त्यसैको विकास गर्नुपर्यो । पुरानोस्वाद, पुरानो बास्ना र तागतिलो पन फर्काउनुपर्यो । अर्काले बेच्ने बीउबीजन र मलमा भर पर्नु भएन । यसैका लागि हामीले विद्यालयतहबाटै पढाउन सिकाउन थालेको । हाम्रा विद्यार्थी पढाइमा पनि अब्बल हुन्छन् । काममा पनि अब्बल हुन्छन् । तपाइँलाई हाम्रो कुरा कस्तो लाग्यो ?”
हर्कलाल हर्षविभोर भयो ।“ ठीक छ माडसाप, यो गर्नैपर्ने काम हो । अनि मल र विषादिचाहिँ कसरी तैयार गर्ने नि ?”
“मल अग्र्यानिक बनाउने । यसका लागि घर कुँडारमा राख्न सकिने छिटो छरितो किसिमको मसिनको विकास गर्ने । घर कुँडार र गोठबाट निस्केको फोहोर प्रयोग गर्ने । पहिलेको गोबरग्यास प्लान्टभन्दा यो राम्रो र सजिलो हुन्छ । मल बनाउँदा खाना पकाउने, बत्ती बाल्ने ग्यास पनि बन्छ !”
“अनि विषादि ?”
“त्यो पनि हाम्रो आफ्नै वनस्पतिबाट बनाउने । मान्छेको स्वास्थ्यलाई हानि नगर्ने कीटनाशक बनाउने हाम्रा परम्परागत प्रविधिहरुहरु छन् । त्यसैको विकास गर्ने । खेतीलाई पूरै अग्र्यानिक बनाउने । अनि पो हामी निरोगी बन्छौं । हाम्रा छोराछोरी निरोगी बन्छन् । हाम्रो देश निरोगी बन्छ !”
“हो सर, यो काम त गर्नैपर्छ । बरु यसमा मद्दत पुर्याउन मैले चाहिँ के गर्नुपर्ला ?” हर्कलालले सोध्यो ।
“तपाइँहामीले मिलेर गर्नुपर्ने काम धेरै छन् । त्यसका लागि हामी अभिभावकहरुको सम्मेलन गराउँदैछौं । अहिले तत्कालका लागि तपाइँले गर्ने काम भनेको वंशीलाललाई होमवर्क गर्न हौस्याउने । परिआए सघाउने । हेर्नुस् दाइ,” हेडसरले जोड दिँदै भने “अव हामीले हाम्रा सन्तानलाई आफ्नो काम आफैं गर्नसक्ने बनाएर हुर्काउनुपर्छ । हेर्नुस् न, हामीकहाँ बिजुली त आयो । घरमा बत्ती पनि बाल्यौं । भोलि सानातिना मसिन पनि चलाउन मन लाग्ला । फ्यूज गयो भने राख्न जान्दैनौं । अरुलाई गुहार्नुपर्छ । हामी लुगा लाउँछौं । मैलो भए धुन जान्दैनौं । श्रीमतीले धोइदिनुपर्छ । हामीलाई खाना पकाउन, भाँडा माझ्न केही आउँदैन । एक दिन श्रीमती माइत गइन् र रात उतै बसिन् भने यता आफू निस्लाम । हैन त हर्कलालदाई ?” हेडसर हाँसे ।
हर्कलाल पनि हाँस्यो ।
“लौ त हर्कलाल दाइ, आज म अलि व्यस्त छु । बाँकी कुरा अव समय लिएरै गरौंला ।” हेडसर कर्सीबाट उठेर हात जोडे । नमस्कार गर्दै हर्कलाल पनि उठ्यो । बाहिर निस्कँदा विद्यालयभवनका अगाडि गरुगुरुआमा र साथीहरुसँगै वंशीलाल पनि फूलका बिरुवाहरु रोपिरहेको देखियो । हर्कलाल एक छिन उभिएर हेर्यो र बाटो लाग्यो । काममा व्यस्त वंशीलालले हर्कलाललाई देखेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रदेश राजधानीका स्थायी संरचना कहाँ बनाउने ? २० बिघा जग्गा आवश्यक पर्ने
-
सद्भाव थिएटरमा विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' मञ्चन सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारका नाममा ठगी बढेपछि तीन बुँदे ट्राभल एड्भाइजरी जारी
-
सुदूरपश्चिमबाट देशभर सर्दै मौसम बदली, खपिनसक्नु चिसो बढ्ने
-
लयमा फर्कियो इन्टर, घरेलु मैदानमा ३ अंक थप