आठ घण्टापछि उडे आकस्मिक अवतरण गरिएका हेलिकप्टर(अपडेट)
मङ्गलबार, ३१ भदौ २०७६, २२ : ११

काभ्रे-मौसम खराबीका कारण यहाँ अवतरण गरिएका चार हेलिकप्टर आठ घण्टापछि काठमाडौँका लागि उडेका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ जोरपाटी र हर्सेमा आज बिहान आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडेका हुन् ।
लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा आज बिहान ८ बजे आकस्मिक रुपमा अवतरण गराइएको थियो । सिम्रिक एयरका दुई तथा मनाङ एयर र कैलाशको एयरको एक÷एक वटा हेलिकप्टरलाई आकस्मिक अवतरण गराइएको हो । सिम्रिक एयरको एउटा हेलिकप्टर यहाँबाट केही घण्टामै काठमाडौँका लागि उडे पनि मौसममा सुधार नआएपछि पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आकस्मिक अवतरण गरिएको थियो ।
यस्तै मौसम खराबीकै कारण पाँचखालको ढुङ्गानाबेँसीका अवतरण गरिएको हेलिकप्टर साँझ काठमाडौँका लागि उडेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।