मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डरलाग्दो सापु, यसरी गुम्न सक्छ आँखाको ज्योती

मङ्गलबार, ३१ भदौ २०७६, १७ : ०८
मङ्गलबार, ३१ भदौ २०७६

पोखरा– ‘ठ्याक्कै यही कारण भनेर पत्ता लागेको छैन । जाँच गर्दा पुतलीसँग जसको टच भएको छ अथवा सिधै आँखामा सेतो पुतली पसेको छ उसमा सापु देखिन्छ,’ हिमालय आँखा अस्पतालका डाक्टर इन्द्रमान महर्जनले सापुबारे सुनाए । सेतो पुतली आँखामा पसेको एक, दुई घण्टाभित्रै यस्को संक्रमण देखिन थाल्छ । 

अहिलेसम्म सापु के कारण हुन्छ ? पत्ता नलागे पनि सापुको मुख्य कारण सेतो पुतली नै देखिएको छ । उनले सुनाए, ‘भदौको पहिलो साता बागलुङका एक किशोरमा देखिएको थियो सापु ।’ एक महिनाको अवधिमा १७ जना सापुका बिरामी अस्पतालमा आएको उनले जानकारी दिए । 

‘सेतो पुतलीले छोएको बिरामीलाई एकदुई घण्टाभित्र खपि नसक्नुगरि आँखा पोल्छ, विस्तारै आँखा देख्न पनि छाड्छ । सेतो पुतली पसेको २४ घण्टा भित्रमा अस्पताल आयो भने ठिक हुन्छ । नत्र आँखाको ज्याती नै गुम्ने खतरा हुन्छ,’ सापुको जोखिमबारे उनले सविस्तार सुनाए । 

सापुको उपचारमा २४ घण्टाभन्दा ढिला गरे लगभग आँखाको ज्योती नै गुम्ने खतरा हुन्छ । ‘सेतो पुतलि आँखामा पसेको २४ घण्टाभित्र हामीकहाँ आएका बिरामी सबैजसो निको हुनु भएको छ,’ उनले सुनाए, ‘२५ घण्टाभित्र आउनलाई हामीले उपचारको ग्यारेन्टी पनि लिएका छौं । ढिला भयो भने त आँखाको ज्योती जाने खतरा बढी हुन्छ ।’ २४ घण्टाभित्र आउने सापुका बिरामी निको भएर जाने गरेको उनले जानकारी दिए । 

सापुका धेरैजसो बिरामी बागलुङका रहेको उनले जानकारी दिए । बागलुङ बाहेक स्याङ्जा, म्याग्दी र कास्कीमा पनि फाट्टफुट्ट देखिन थालेको अस्पतालले जनाएको छ ।  विशेषगरी बर्खायामपछि देखिने सापु दुई वर्षको अन्तरालमा देखिन्छ । मंसिरको अन्तिम सातासम्मको समय सापुको संक्रमणको समय रहेको डाक्टर महर्जनले जानकारी दिए । अहिलेसम्म अस्पतालमा आएका बिरामी मध्येमा धेरैजसो हातमा सेतो पुतलीको झुस परेर आँखामा छोएको र डाइरेक्ट आँखामा सेतो पुतली परेर आउने गरेको उनले सुनाए । 

४८ घण्टाभन्दा बेसि समय लगाएर आए कम्तिमा ५० प्रतिशत निको हुने सम्भावना रहने उनको भनाई छ । सेतो पुतली आँखामा पसेको ७ दिनपछि पनि बिरामी आउने गरेको उनले सुनाए । ‘यस्तोमा त आँखाको ज्योती बचाउन सक्ने सम्भावना कति पनि रहन्न,’ उनले भने, ‘हिजो मात्रै बागलुङबाट ३ वर्षका बालक लिएर आउनु भएको थियो । हामीले उपचार सम्भव नहुने बतायौं । उहाँहरु काठमाडौं जानु भएको छ ।’ सेतो पुतलीको सम्पर्कमा आएपछि जतिसक्दो छिटो उपचार गरि हाल्नुपर्छ । नत्र जहाँ गए पनि यसको उपचार सम्भव नहुने उनले सुनाए । 

धौलागिरी गाउँपालिका ५ म्याग्दीका गोरे घर्ती मंगलबार अस्पताल परिसरमै भेटिए । उनी पनि सापुको बिरामी रहेछन् । उपचारका लागि त्यहाँ आएका थिए उनी । सेतो पुतली आँखामा पसेको सात दिनपछि मात्रै उनी त्यहाँ आएका थिए । हामीले सोध्यौ, उपचार गर्न किन ढिला आउनुभयो ? । ‘सुरुमा त निको हुन्छ होला भन्ने लाग्यो,’ उनले भने, ‘निको भए जस्तो पनि भएको थियो । आइतबार आउने भनेको पनि मिलेन ।’ 

यसबारे डाक्टर महर्जन सबैमा सापुबारे जानकारी नपुगेको बताउँछन् । ‘सेतो पुतलीको आँखामा सम्पर्क आउने बित्तिकै अस्पताल आउनुस्,’ उनले भने, ‘जति सक्दो तपाईं अस्पताल आउनुहुन्छ त्यति नै यस्को उपचार सम्भव छ । नत्र आँखाको ज्योती नै गुम्ने खतरा छ ।’

यसरी गुम्छ आँखाको ज्योती 

‘सुरुमा आँखा बेस्सरी पोल्छ । त्यसपछि रातो हुदै जान्छ । आँखा खोल्न गाह्रो हुन्छ,’ उनले भने, ‘सेतो पुतलीको झुस परेको एक, दुई घण्टाभित्रै आँखामा पिप जम्न थाल्छ । त्यो पिप छिटो भन्दा छिटो निकाल्नुपर्छ । नत्र आँखाको ज्योती नै गुम्छ ।’

सेतो पुतलीको आँखामा सम्पर्क हुने वित्तिकै उपचारमा गई हाल्नुपर्ने उनले सुनाए । ‘२४ घण्टाभित्र आउनेहरु निको भएर जानु पनि भएको छ,’ उनले भने, ‘त्यसपछि आउने बिरामीहरुको हकमा चाहि त्यति धेरै चान्स छैन ।’ 

के हो सापु ?

वि.स. २०३२ मा पहिलो पटक पोखराको लामाचौरमा पहिलोपटक यो रोग भेटिएको थियो । आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले यो रोग पत्ता लगाएका थिए । दुई, तीन वर्षको अन्तरालमा देखिने सापुको बिरामी पहिलेको तुलनामा अहिले धेरै कम रहेको डाक्टर इन्द्रमान महर्जनले जानकारी दिए । 

बच्ने उपाय 
सेतो पुतल सेतो बल्बको वरिपरी घुम्छ । साँझको समयमा बत्तिको वरिपरि सेतो पुतली देखिन्छ । रातो बत्तीको वरिपरि भने सेतो पुतली देखिन्न् । उनले सुनाए, ‘सेतो पुतली सेतो बल्बको वरिपरि मात्रै देखिन्छ । विशेषगरी साँझको समयमा देखिन्छ यो,’ उनले भने, ‘यसबाट बच्नको लागि सेतो बल्बको साटो रातो बल्ब बाल्यौ भने त्यो नै राम्रो उपाय हुन सक्छ ।’

सुरु सुरुमा बच्चामा देखिन सापु १० वर्ष माथि उमेर समूहमा पनि देखिन थालेको उनले सुनाए । अस्पतालअमा आएका १७ बिरामीमध्ये ३ जना ठुला बिरामी रहेको उनले बताए ।  अहिलेसम्म भेटिएका सापुका बिरामीमध्ये सेतो पुतलीकै सम्पर्कका कारण छन् । तर, के कारण आँखाको ज्योती गुम्छ भन्ने पत्ता लागि सकेको छैन ।

सेतो पुतलीमा के चिज हुन्छ जस कारण आँखाको ज्योती नै गुम्छ । त्यो पत्ता लागेको छैन । चिकित्सका अनुसार सापुको उपचार भनेको नै आँखाभित्र जमेको पिप जति सक्दो सफा गरेर निकाल्नु हो । सापु के कारण हुन्छ भनेर पत्ता लगाउन सापुका बिरामीको आँखामा जमेको पिप झिकेर परीक्षणका लागि विदशे पठाउने तयारी गरि रहेको हिमालय आँखा अस्पतालका डाक्टर इन्द्रमान महर्जनले जानकारी दिए । 
महर्जन अस्पतालका चिफ मेडिकल डाइरेक्टर हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप