बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री योगेश भट्टराईलाई खुलापत्र

सोमबार, ३० भदौ २०७६, १९ : २९
सोमबार, ३० भदौ २०७६

-अजय सोडारी

माननीय मन्त्रीज्यू
सर्वप्रथम तपाईंलाई बधाई । नेपालमा लोकतन्त्र र गणतन्त्रको झण्डा उदाएको करिब डेढ दशक भयो । योे अन्तरालमा ८ वटा गणतान्त्रिक सरकार गठन भए । ८ जनाले प्रधानमन्त्री भएर मुलुकको बागडोर सम्हाले ।  करिब ४ सयभन्दा बढी सहायक मन्त्री र राज्य मन्त्री भए । तर जनताका दर्दनाक कथा व्यथा बदलिएनन् । 

तपाईं गणतन्त्र नेपालको ९औँ सरकारको कार्यकालमा पर्यटन तथा नागरिक उड्यन मन्त्री हुनुहुन्छ । नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट हेर्नुहोस्, देशमा आर्थिक समृद्धि कति भएको छ ? नेपाली जनताको जीवनस्तर कस्तो छ  ? तपाईंहरुले उठाएका कहाँदेखि कहाँ पुगेको छ ? समृद्धि र परिवर्तन भन्ने नारा कति फैलिएर कार्यन्वयन भएको छ ? 

माननीय मन्त्रीज्यू
नेपालमा भष्ट्राचार, कमिसनखोरी, माफियाकरण, नातावाद, कृपावाद, चाकडीवाद र अस्थिरताले स्थायी रूप लिइराखेको छ । अराजक र अस्थिरताले बिकराल रुप लिँदै गएको छ । राष्ट्रिय गौरवका आयोजनामा दलीय र व्यक्तिगत स्वार्थमा लिप्त छन् । समयमा खानेपानी, जलविद्युत् आयोजना बन्दैनन् । समयमा सडक, विमानस्थल सिंचाइ, कुलो, स्कुल, अस्पताल लगायत अन्य संरचना कति हो कति सबैमा अनियमितता छ । लोकतन्त्रको डेढ दशको उपहार यही हो त ? 

तपाईं दुई तिहाइ बहुमतसहित सरकारमा हुनुहुन्छ । हिजोका पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले जनताका सरोकारका विषयमा राम्रो काम गरेनन् । म जस्ता लाखौँ युवाले तपाईंबाट परिवर्तनको आश गरेका छौँ । अझै लाखौँ लाख जनशक्ति विदेश पलायन भएका छन् । नेपाल बनाउने वीर सपुतले आज साउदी मलेसिया कतार बनाएका छन् । कुबेत र कोरिया बनाएका छन् । खाडी मुलुक बनाएका छन् । तर आफ्नै मुलुक कसले बनाउने हो । आम युवा विदेशका अनेक खालका यातनापूर्ण  काम गर्न बाध्य छन् । सुन्दर सपना बोकेर विदेश गएका युवा लास बनेका छन् । रगत, पसिना, प्रण, मिहिनेत, परिश्रम सबै विदेशको माटोमा पोखिन्छ । बाँकी भौतिक लास नेपालमा, नेपाल आमाले र नेपाली माटोले गिज्याइ रहेको छ मन्त्रीज्यू । 

तपाईंलाई राम्रोसँग थाहा छ, नेता र जनताको जीवन स्तर आकाश र पातलको फरक छ । जनता जीवन धान्न ६० डिग्रीको घाममा मरुभूमिमा भेडा चराई रहेका छन् । १२ देखि १६ घण्टासम्मको कष्टपूर्ण काम गरिरहेका छन् । तर नेता भने काठमाडौँका महँगा महलमा बसिरहेका छन् । करोडौँ मूल्यका कारमा गुडिरहेका छन् । तिनका छोराछोरी विदेशका महँगा कलेजका धाइहरेका छन् । अनि तपाईं समाजवाद र साम्यवादका भाषण गर्न छोड्नु हुन्न । 

वरिपरि घुमेर दाइ भनेर तपाईंबाट सहानुभूति लिने र तपाईंविरुद्ध नै बोल्ने ती आसेपासेहरु मलाई किञ्चित मन पर्दैनन । म पनि कम्युनिजम विचारधारा मन पराउने योद्धा हुँ । तपाईका विचार र सोचहरुलाई धेरै मनपराउँछु । परिवर्तनशील मान्छेको सम्मान र सद्भाव प्रकट गर्नु सबैको दायित्व हो । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अर्थतन्त्र र जनताको जीवनसँग जोडिएको मन्त्रालय हो । यस मन्त्रालयअन्तर्गतका निकायहरु, भष्ट्राचार, कमिसनखोर, अनियमितता, नातावाद र कृपावादले अछुत रहन सकेनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अनियमितता कर्मचारीबाट हुने लापरबाही र दादागीरी आम जनताले भोगेका छन् । बाइडबडी प्रकरण, नेपाल वायु सेवा निगममा खुलेआम भष्ट्राचार भएको आवाज उठिरहेको छ । लुम्बीनी, जनकपुर विकास कोषको लापरबाही र अनियमितताले गर्दा यस मन्त्रालयले आम जनताको विश्वास गुमाएको छ । त्यो गुमेको विश्वासलाई पुनर्जीवन दिने काम तपाईंबाट हुनेछ । 

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल प्रविधि र व्यवस्थापनका मामलामा कमजोर छ । विदेशबाट घुम्न आएका पर्यटकका     ब्याग हराउने, विदेशबाट रगत र पसिना बगाएर थोरै पैसा कमाएर आएका नेपाली दाजु भाइ विमानस्थलकै कर्मचारीबाट लुटिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सुन, चरेस, हतियार, तस्करीको मार्गजस्तो भएको छ । 

यसैगरी लुम्बीनी अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थलको निमार्ण कार्य समयमै सकेर सञ्चालन गर्ने अभिभार तपाईंको काँधमा छ । निजगढ विमानस्थलको सम्पूर्ण मोडालिटी र डीपीआर तयार गरेर छिटै उद्घाटन गर्ने सङ्कल्प तपाईंले गर्नु भएको छ । भूकम्पबाट भत्किएका हाम्रा सम्पदा अझै पुनः निर्माण हुन सकेका छैनन् । 

तपाईंको कार्यकालको ढोका अगाडि नै नेपाल भ्रमण वर्ष २०२० सफल पार्नुपर्ने ऐतिहासिक जिम्मेवारी काँधमा छ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न तपाईंलाई हामी युवाको साथ सहयोग र समर्थन छ ।  पहिलो प्रभाव अन्तिमसम्म रहने हुनाले पर्यटकले पहिलो पाइला टेक्ने काठमाडौँ सहर धुलो, धुवाँ, फोहोर दुषित र दुर्गन्धित छ । यसबाट पर्यटकको मानसपटलमा कस्तो विचार ल्याउला अनि उसले अन्य ठाउँको भ्रमण कसरी गर्ला । यो सोचनीय विषय हो । काठमाडौँलाई धुलो, धुवाँ, फोहोरमुक्त सहर बनाउनुपर्छ । 

अब तपाईं काम गर्ने म्याराथनमा हुनुहुन्छ । यो अवसरलाई कार्यान्वयनमा बदल्नुहोस् । जसले आम जनसमुदाएको मुखमा योगेश गुञ्जायमान होस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप