मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

सोमबार, ३० भदौ २०७६, १५ : ३३
सोमबार, ३० भदौ २०७६

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अनियमितता हुन नदिन कडा निगरानी गरिनेमा जोड दिँदै उनले परियोजना बैंक खोलिने र लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई बलियो बनाई आधुनिक प्रदेश निर्माण गरिने बताए । हिजो सम्पन्न सुरक्षा बैठकले प्रदेशभरिका सार्वजनिक जग्गा एक महिनाभित्र खोजी गर्न निर्देशन भएको जानकारी गराउँदै मुख्यमन्त्री राईले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह पनि गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षा संयन्त्रलाई बलियो बनाउन र प्रविधिमैत्री बनाउन प्रदेश सरकारको तर्फबाट भएको सहयोगको सराहना गरे । उनले समुदायमा विश्वासको वातावरण सिर्जना गरेर समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सफलता मिल्ने भएकाले अब अपराध र अपराधीको गुञ्जाइस नभएको बताए । आफ्ना कमी कमजोरी सच्याउँदै अघि बढ्न प्रहरीलाई निर्देशन दिँदै महानिरीक्षक खनालले सबैको मर्यादालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव दिए ।
    
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानव जीवनको सर्वोत्तम काम शान्तिसुरक्षा भएको बताए । आन्तरिक मामिला तथा कानून सचिव हरिप्रसाद मैनालीले प्रहरी प्रविधिमैत्री भएमा अपराध नियन्त्रणमा बल पुग्नाका साथै सुरक्षा व्यवस्था सुदृढ हुने र सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप पनि नियन्त्रण हुनेमा जोड दिए ।
    
प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले प्रहरी समयसापेक्ष सुदृढ एवं बलियो हुँदै गएकाले समाजमा शान्तिसुरक्षा कायम गर्न सफल भएको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले रु एक करोड १४ लाखको लागतमा ५८ थान सिसिटिभी जडान भएको र यसबाट मोरङभर ६० किमी क्षेत्रको निगरानी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप