शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमाण नपुगेको भन्दै गाउँपालिका अध्यक्ष गिरीमाथिको बहुविवाह मुद्दा खारेज

सोमबार, ३० भदौ २०७६, १३ : ०८
सोमबार, ३० भदौ २०७६

राधिका भुसाल

प्यूठान । गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु कुमार गिरीमाथि लागेको बहुविवाहको आरोप जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले खारेज गरिदिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले मुद्दाका लागि प्रमाण नपुगेको भन्दै अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको हो ।

जिल्ला अदालत समक्ष मुद्दा दर्ता नगर्ने निर्णय गरी उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको निमित्त जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए । ‘अहिलेको प्रमाणबाट मुद्दा चलाउने आधार देखिएन’ आचार्यले भने, ‘मुद्दाको अन्तिम किनारा लागेको छैन ।’

आरोपकै आधारमा लामो समय हिरासतमा रहनुपर्दा सामाजिक क्षति भएको अध्यक्ष गिरीले प्रतिक्रिया दिएका छन् । ढिलै भए पनि मुद्दा खारेज भएकाले सामाजिक क्षतिपुर्ति हुने उनले विश्वास व्यक्त गरे ।

उच्च सरकारी वकिलको कार्यालयले निर्णय सदर नगरेसम्म सम्पर्कमै रहने गरी अध्यक्ष गिरीलाई हिरासत मुक्त गरिएको प्यूठान प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

गत भदौं १० गते श्रीमति सीता केसीले बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन् । फेसबुक च्याटका कुराकानी र फोटोहरुको आधारमा उनले उजुरी दिएकी थिइन् ।

हिरासतबाट मुक्त भए पश्चात् अध्यक्ष गिरीले सहानुभुती राख्ने सबैलाई धन्यवाद दिएका छन् । बहुविवाह नगरेको र प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने भन्दै अध्यक्ष गिरी १५ भदौमा प्रहरी समक्ष स्वयम् उपस्थित भएका थिए ।

अनुसन्धानका लागि प्रहरीले गिरीलाई म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो । गिरी र आरोपित महिलालाई प्युठान प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

गिरीले आफु माथि लगाएका आरोपहरूको खण्डन गर्दै आफूले बहुविवााह नगरेको दाबी गरेका थिए । बहुविवाहको मुद्दा कपोलकल्पित भएको बताउँदै गिरीले १० वर्ष लामो घरायसी समस्याको मसिनो गरी लेखाजोखा गरिदिन आग्रह गरेका थिए ।

गौमुखी गाउँपालिका–४ पूजा निवासी विष्णु कुमार गिरीले स्थानीय सीता केसीसँग २०५५ साल चैत्र १७  गते प्रेमविवाह गरेका थिए । गिरीका श्रीमती र दुई छोरी छन् । तर, पारिवारिक बेमेलका कारण बिहे गरेको १२ वर्ष अर्थात २०६७ सालदेखि नै श्रीमती र छोरीहरुबाट अलग्गै बस्न थालेको पारिवारिक स्रोतले जनाएको छ । श्रीमती सीता र दुई छोरीहरु बिजुवारमा कोठा भाडा लिएर बस्दै आएका छन् । ९ वर्षसम्म अलग्गै बसे पनि उनीहरु कागजी रुपमा अलग भएका छैनन् ।

अध्यक्ष गिरी नेपाली काँग्रेस प्युठानका सचिवसमेत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप