शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेमकिपाको सातौँ महाधिवेशनः ४५ वर्षको विरासत छोड्लान् त बिजुक्छेले ?

सोमबार, ३० भदौ २०७६, ११ : १०
सोमबार, ३० भदौ २०७६

भक्तपुर । नेपाल मजदुर किसान पार्टी स्थापना भएको ४५ वर्ष पूरा भएको छ । यो पार्टी वि.स २०३१ साल माघमा स्थापना भएको हो ।

आगामी असोज ३, ४ र ५ गते भक्तपुरमा हुन गइरहको नेमकिपाले सातौँ महाधिवेशन आयोजना गर्दैछ । यसपटक महाधिवेशनको सबैभन्दा चासोको विषय नेतृत्व हस्तान्तरण बनेको छ ।

पार्टीको २०४७ साल पुस २८, २९ र ३० गते भैरहवा सम्पन्न प्रथम सम्मेलनदेखि २०७० साल चैत २१, २२, २३ र २४ गते काठमाडौंमा सम्पन्न छैठौं महाधिवेशनसम्म पार्टीको अध्यक्षमा सर्वसम्मत रुपमा नारायणमान बिजुक्छे चुनिदैँ आएका छन् ।

त्यसैले पनि सातौँ महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ वा बिजुक्छेले नै अध्यक्ष जिम्मेवारी पाउँछन् भन्नेमा सबैको चासो रहेको हो ।

वि.सं. १९९६ साल फागुन २६ गते भक्तपुरमा जन्मिएका बिजुक्छे १५ वर्षको उमेरदेखि हालसम्म राजनीतिमा सक्रिय छन् ।

वि.सं. २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छे तत्कालीन पुर्वी पाकिस्तान (बङ्लादेश) माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पुष्पलालसँग मतभेद भएपछि सो समुह छोडेका थिए ।

२०३१ सालमा पुष्पलाल समूहबाट अलग भई बिजुक्छेले २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आएका छन् । पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्दा उनले करिब १० वर्ष उच्च भूमिगत जीवन बिताएका थिए ।

भक्तपुरका सक्रिय राजनीतिक दल, केन्द्रीयस्तरका नेताहरु समेत बिजुक्छेले नेतृत्व हस्तान्तरण गर्न सक्ने अड्कल गरिरहेका छन् । यदि बिजुक्छेले पार्टीमा पछिल्लो पुस्तालाई नेतृत्व दिए भने वर्तमान सचिव प्रेम सुवाल वा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति मध्य एकले पार्टीको नेतृत्व पाउन सक्ने चर्चा छ ।

सुनिल प्रजापति, डिल्ली प्रसाद काफ्ले, अनुराधा थापा मगर, लिला न्याइच्याई पार्टीका नेतृत्वपंक्तिमा रहेर सांसद समेत भई सकेका नेता हुन् । पछिल्लो पुस्तामा रवीन्द्र ज्याख्वा, निरज लवजु, सिर्जना सैजु, सुरेन्द्रराज गोसाई, सरोजराज गोसाईलगायतका युवापुस्ता पार्टीको भातृ संगठन र केन्द्रीय कमिटिमा छन् । 

हाल अध्यक्षमा बिजुक्छे, सचिवमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति कोषाध्यक्षलगायत ३१ सदस्य वर्तमान केन्द्रीय कमिटी रहेको पार्टीले जानकारी दिएको छ ।

अगामी मंसिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र १ (क) (चाँगुनारायण र भनपा १० मात्र) को निर्वाचनमा नेमकिपाको महाधिवेशनबाट आउने नेतृत्वले फरक पार्ने उनीहरुको बुझाइ छ ।

असोज ५ गते सम्पन्न हुने नेमकिपाको बन्दसत्रले नै पार्टीको अगामी नेतृत्व, कार्यदिशा र रणनीति तय गर्ने छ । उक्त महाधिवेशनमा ४८ जिल्लाबाट प्रतिनिधीहरु सहभागी हुने नेमकिपाले जनाएको छ ।

नेमकिपाको इतिहास

नेमकिपाले माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग विचारधारालाई राजनीतिक सिद्धान्त मान्दै आएको छ ।

देशमा भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण रुपमा यो पार्टी सक्रिय रहदैं आएको छ  ।

२०३७ साल जेठ १० गते सम्पन्न भएको जनमत संग्रहलाई निष्पक्ष र धाँधलीरहित बनाउन पाँच पूर्वाधारहरू अगाडि सारी ०३६ भदौ २४ गते भएको आन्दोलनमा पनि यो पार्टी सरिक थियो ।

संसदमा नेमकिपा

वि.सं. २०४८को आम निर्वाचन, २०५१को मध्यावधि र २०५६, २०६४को संविधान सभा, २०७० र २०७४ सम्म नेमकिपा लगातार संसदमा प्रतिनिधीत्व गर्दै आएको छ । 

२०४८ सालदेखि ०७० सम्म लगातार निर्वाचन जित्ने नेताहरुमध्ये मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे एक हुन् । २०५१ सालको संसदीय चुनावमा नेमकिपाले चार स्थानमा जितेको थियो ।

२०६४ सालको संविधानसभा चुनावमा नेककिपाले प्रत्यक्षमा २ सिट र समानुपातिकमा तीन सिट जित्यो । २०७० सालको संविधानसभा चुनावमा भने नेमकिपाले प्रत्यक्षमा एक सिट मात्र जित्यो । प्रत्यक्ष एक र समानुपातिक तीन सिट गरी नेमकिपाले चार सांसदसहित संसदमा प्रतिनिधित्व गरेको थियो ।

पछिल्लो समय नेमकिपालाई एक जिल्लामा मात्रै राजनीति गर्ने पार्टी भनेर आलोचना गर्ने गरिन्छ । २०७४ सालमा सम्पन्न प्रदेश र स्थानीय निर्वाचनमा ३ नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ एक र समानुपातितर्फ एक गरेर दुई सिट र स्थानीय तह अन्तरगत भक्तपुर नगरपालिकको सम्पूर्ण १० वडामा एकलौटी जित हासिल गरेको छ ।

हाल संघीय संसदमा प्रेम सुवाल, ३ नम्बर प्रदेश संसदमा सुरेन्द्रराज गोसाई र सिर्जना सैंजुले नेमकिपाको तर्फबाट प्रतिनीधित्व गर्दै आएका छन् ।

बिजुक्छेको त्यो त्याग

२०७४ सालको मंसिरमा सम्पन्न संघीय संसदको निर्वाचनमा २०४८ सालदेखि लगातर निर्वाचन जित्दै आएका नेपकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएनन् । उक्त क्षेत्रबाट पार्टीबाट वर्तमान सचिव प्रेम सुवालले उम्मेदवारी दिए । सुवाल विजयी पनि भए ।

अन्यपार्टीका नेताहरु कुर्सी र पद मोहमा परेर टिकटको लागि मरिहत्ते गरिरहेको त्यो समयमा एकाएक उनको त्यो त्यागले धेरैलाई आश्र्चय चकित बनायो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा बिजुक्छे एक त्यागी नेताको रुपमा रहे । पटक–पटक संसद भएका उनले न आफुले मन्त्री पदनै लिए न त आफ्नो पार्टीबाट कसैलाई प्रतिनिधित्व गराए ।

सरकारमा नगएर पनि जनताको सेवा गर्न सकिन्छ भन्ने नेमकिपाको पार्टीको धारण सार्वजनिक गर्दै आईरहेको छ ।

समाजवादी गणतन्त्र नआएसम्म मुलुक र जनताको हित नहुने पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप