शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हत्केलाले सूर्य छेक्न खोज्नेलाई प्रतिवाद गर्नुस् : अध्यक्ष प्रचण्ड

सोमबार, ३० भदौ २०७६, १० : १९
सोमबार, ३० भदौ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र भइरहेकाले प्रतिवाद गर्न आव्हान गरेका छन् ।

‘केही त्यस्ता तत्त्वहरुले हत्केलाले सूर्यलाई छेक्ने जस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ताप्रति सर्तक र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुस्,’ अध्यक्ष प्रचण्डले भने ।

उनले आफुहरु समाजवादको दिशामा नै अघि बढ्ने दावी पनि गरेका हुन् । सोमबार बिहान नेकपाको कार्यालय धुम्वाराहीमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट संविधान जारी र मुलुक समृद्धिको दिशामा अघि बढेको भन्दै अबको यात्रा समाजवादकै भएको बताए ।

‘अब हामी अगाडि बढ्ने भनेको समाजवादको दिशामा नै हो । त्यसैका लागि आवश्यक पर्ने वैचारिक स्पष्टता, समर्पित र अनुशासित कम्युनिष्ट पार्टी, लाखौँ–करोडौँ जनताको भरोसा जित्नसक्ने पार्टी निर्माणका क्रममा छौँ,’ अध्यक्ष प्रचण्डको भनाइ छ ।

उनले यसरी जनताको मन जित्ने र समाजवादको यात्रा पुरा गर्ने काम कम चुनौतीपुर्ण नभएको पनि स्पष्ट पारे । ‘हामी पुँजिवाद, साम्राज्यवाद र व्यक्तिवादी विचलनबाट समेत घेरिएको अवस्थामा समाजवादमा जाने प्रयासमा छौँ,’ उनले भने, ‘समाजवादतर्फ हिँडेका छौँ, तर यो सिस्टम कलिलो छ । यसलाई मार्न सकिन्छ कि भनेर कोही छटपटिएको हामी देख्छौँ । यस्तो बेलामा यो परिवर्तनलाई रक्षा गर्न र समाजवादको सपना पुरा गर्न हामी सबैले संकल्प गर्न अवाश्यक छ ।’

प्रचडले जस्तासुकै समस्या समाधान गर्न सक्ने कुशलता पोष्टबहादुर वोगटीमा रहेको भन्दै उहाँबाट सबैले प्रेरणा लिनुपर्ने बताए । ‘सबैसँग सहज र सरल ढङ्गले घुलमिल हुने, क्रान्तिका निम्ति समेटेर लैजानसक्ने गुण पोष्टबहादुर बोगटीमा रहेका कारण उहाँ सबैका प्रिय नेता हुनुभएको थियो । उहाँ श्रमजीवी वर्गको विश्वास गरेको नेताकारुपमा पनि स्थापित हुनुभएको थियो । उहाँका आदर्शलाई हामी सबैले पछ्याउनुपर्छ,’ प्रचण्डको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप