केन्द्रीय संस्करण

सरकारद्वारा काठमाडौंमा १ हजार सडक बालबालिकाको उद्दार

person explore access_timeभदौ २९, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– सरकारले गत एक वर्षभित्र काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ ।  राष्ट्रिय बाल दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्याँकमा काठमाडौं उपत्यकाबाट सो परिणाममा सडक बालबालिकाको उद्धार गरी पुनस्र्थापना गरिएको उल्लेख गरिएको हो । सो तथ्याँकमा चालू आर्थिक वर्षबाटै देशका मुख्यमुख्य सहरका पनि सडक बालबालिकाको उद्धार र पुनस्र्थापनाको कामलाई सुरु गर्ने योजना पनि समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले देशका अन्य सहरमा पनि सडक बालबालिकाको उद्धार तथा पुर्नस्थापनाको कामलाई चालू आर्थिक वर्षबाटै सुरु गर्नेगरी नीति, योजना र कार्यक्रम तय गरिएको पनि जानकारी दिए । उनले बालबालिकामाथि श्रम शोषण हुन नदिन ‘बाल श्रम गुरुयोजना’ कार्यान्वयनमा ल्याइएको पनि बताए ।

सरकारी तथ्याँकअनुसार पछिल्ला एक वर्षमा सबैभन्दा बढि बालबालिका विरुद्धको घटनामा प्रदेश १ मा भएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा भएको छ । सचिव घिमिरेले एक वर्षयता प्रदेश १ मा सबैभन्दा बढि १३१ वटा बालबालिका विरुद्धको घटना भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको बताए ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बालबालिकामाथि हुने सबै प्रकारको शोषण र विभेद अन्त्यका लागि सरकार प्रतिबद्ध भएर लागि परेको बताए । उनले बालश्रम अन्त्यका लागि सरकारले त्यसको गूरुयोजना नै तय गरेर काम गरिरहेको पनि बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकाको अधिकारको क्षेत्रमा सरकारले उत्साहका साथ काम गरिरहेको दावी गरे । उनले स्थानीय तहसम्म पनि बालअधिकार हनन् हुन नदिन सरकारले सहकार्यका साथ काम गरिरहेको पनि बताए । 

सरकारले बालअधिकार हनन् हुन नदिन उनीहरुको शिक्षा र स्वास्थ्यको अधिकारलाई सुनिश्चित गराउन लागि परेको दावी पनि गरेको छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...