शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेसद्वारा संसद बैठक अवरुद्ध

आइतबार, २९ भदौ २०७६, १४ : ४९
आइतबार, २९ भदौ २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।  प्रतिनिधिसभाको आईतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् ।

बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराईएको आरोप लगाए । जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बांके घटना गराईएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको निन्दा र भत्र्सना गरे । भदौ २६ गते बाँकेको खजुरा गाउपालिका वडा नम्बर १ स्थित सितापुरमा नेपाली काँग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अरिङ्गालको जसरी प्रवेश गरि कार्यक्रम विथोल्नुको साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको दाबी उनले गरे ।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दे दोषीलाई कारवाही हुने प्रतिवद्धता जनाए । उनले बाँके घटनामा संलग्न निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई २८ गते राती नै नियन्त्रणमा लिइएको र संलग्न अन्यको खोजी तिब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताएका थिए । उनले खजुरा गाउपालिका वडा नम्बर १ मा हेमन्त थापा, लोकबहादुर शाही लगायत ६ जनाको समूहले कार्यक्रमलाई विथोल्ने प्रयास गरेको ,होहल्लाको क्रममा सभापति किरण कोइरालाको हात भाच्चिएकोमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनालाई राजनीतिक विषयको रुपमा नलिन आग्रह गरे । उनले सरकारले आफ्नो कारवाहीको प्रक्रियालाई अगाडि बढाइसकेको भन्दै कानुन मिच्ने र शान्ति प्रक्रियालाई खलल पुर्याउनेलाई कडा कारवाही गर्न सरकार दृढ रहेको बताए ।

गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै सांसद दिलेन्द्रप्रसाद बडूले सत्तारुढ दलका वडा अध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भूमिका रहेको दाबी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको जिकिर गरे । त्यसैगरी, सांसद अमरेशकुमार सिंह लगायत काँग्रेसका सांसदहरुले किटानी जाहेरी दिएका सत्तारुढ दलका कार्यकर्तालाई कारवाही हुन्छ कि हुँदैन भनी प्रश्न गरेका थिए ।  

रामबहादुर विष्टले सरकार कमजोर भएर प्रतिपक्षी दलमाथि अरिंगाल प्रयोग गर्ने काम भएको आरोप लगाए । उनले भने, ‘पञ्चालयत कालमा सरकार कमजोर भयो भने मण्डलेहरुलाई अघि सारिन्थ्यो । अहिले सरकार कमजोर भएर हो कि अरिंगालहरुलाई अघि सारिदै छ । अरिंगाल र मण्डले एकै हुन कि फरक फरक हुन ?’

सांसद गगन थापाले घटनाको तथ्यलाई सरकारले तोडमोड गरेर अपराधीको नाम समेत लुकाएको आरोप लगाए । गृहमन्त्री थापाले घटना संलग्नहरु नेपाल कम्युनिष्ट पार्टीका सदस्य थिए र पक्राउ पर्छन् भन्ने प्रतिबद्धता नजनाएसम्म सदन सञ्चालन हुन नसक्ने बताए ।

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सचेतक पुष्पा भुसाल गौतमले बाँके घटनालाई सामान्य रुपमा लिन नसकिने भन्दै गृहमन्त्रीको जवाफमा प्रतिकार गरिन् । उनले भनिन्, ‘यो सत्ताको उन्मादले हो कि सरकार असफल भएको कुण्ठाले हो ? नेपाली काँग्रेसको जनजागरण अभियानका क्रममा बाँकेका सभापति र केन्द्रीय प्रतिनिधिमाथि सांघातिक आक्रमण भएको कुरालाई साधारण भन्न मिल्दैन यसलाई प्रमुख प्रतिपक्षी दलले घोर भत्र्सना गर्दछ । १० जनाको विरुद्धमा किटानी जाहेरी गएको छ । दर्ता गर्नका लागि निर्देशन नदिएसम्म सदनको कारवाही अघि बढ्न सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप