बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

८२ वर्षका चित्रकारको ४५ चित्रमा यस्तो छ सयौँ वर्ष पुरानो नेपाल (फोटो/भिडियो)

आइतबार, २९ भदौ २०७६, १३ : ४७
आइतबार, २९ भदौ २०७६

आजभन्दा २ सय वर्षअघिको इतिहास कस्तो थियो ? आजभन्दा १५ सय वर्षअघि राज मानदेवको शासनकाल कस्तो थियो ? बुद्धले कसरी आफ्नो दरबार त्याग गरेका थिए ? सम्राट अशोकले लुम्बिनीमा कसरी अशोक स्तम्भ निर्माण गरेका थिए ? पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछिको दृश्य कस्तो थियो ? यी विषयहरू हामीले इतिहासका किताबमा वर्णनात्मक रूपमा हामीले पढ्न सक्छौँ । तर वरिष्ठ चित्रकार हरिप्रसाद शर्माले भने कल्पनाका अधारमा इतिहास झल्किने यस्ता चित्रहरू कोरेका छन्, जसले हामीलाई विगततिर फर्काउन जोड दिन्छ ।

काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्को हलमा उनका ऐतिहासिक दृश्य–चित्रहरू असोज ९ गतेसम्म प्रदर्शनका क्रममा छन् । उनले इतिहासका राजनीतिक, सांस्कृतिक, सामाजिक, विषयका महत्त्वपूर्ण घटनाक्रमहरूलाई जीवन्त ढङ्गले चित्रमा उतारेका छन् ।

कला परिषद्को पहिलो र दोस्रो तलमा शर्माका ४५ वटा ऐतिहासिक दृश्यका तेलचित्रहरू प्रदर्शनमा राखिएका छन् ।

लुम्बिनीमा सम्राट अशोकले स्तम्भ बनाउँदाको दृश्य, नेपालीकी राजकुमारी भृकुटी र तिब्बतका राजा स्रनचङ गम्पोबीचको विवाह समारोह, अरनिकोलाई कसरी चीनमा बिदाइ गरिएको थियो, वि.सं. १९२७ मा राजा प्रताप मल्लले रानीपोखरी निर्माण गरिसकेपछिको भव्य समारोह, राजा प्रताप मल्लले स्वयम्भुमा बज्र चढाउँदै गरेको दृश्य, वि.सं. १८२५ को इन्द्रजात्राको मध्यरातमा कान्तिपुरमाथि आक्रमण गरी पृथ्वीनारायण शाहले विजय हासिल गरेको भोलिपल्ट कुमारीघरको अगाडि कुमारीको हातबाट टीका थापेको क्षणको ऐतिहासिक क्षणलाई चित्रकलामा प्रस्तुत गरेका छन् । साथै प्राचीन कालमा नेपालका सामाजिक जनजीवन, विवाह, कृषिकर्मबारे पनि शर्माका चित्रहरू रहेका छन् ।  

भावी पुस्तालाई इतिहासको घटनाक्रम तिथिमिति घोक्नेभन्दा पनि त्यसको महत्त्वपूर्ण घटनाहरूको चित्रमार्फत छाप बसोस भनेर लामो समय वर्षौंको अनुसन्धान, त्योसँग सम्बन्धित सन्दर्भ सामग्री, विज्ञहरूसँग भेटेर प्रामाणिक कुरालाई आधार बनाएर चित्र तयार गरेको चित्रकार हरिप्रसाद शर्माका छोरा विष्णुप्रसाद शर्माले जानकारी दिए ।

शर्माले प्राचीन कालको जीवन्त संस्कृति, परम्पराका साथै त्यो बेलाको जनजीवनलाई पनि चित्रमा उतारेका छन् । उनले त्यो बेलाको भौतिक सम्पदाको कला कौशललाई जीवन्त ढङ्गले चित्रमा उतारेका छन् ।

अहिले परम्परागत वास्तुकला मासिँदै गएको सन्दर्भमा त्यसलाई कसरी चित्रमा संरक्षण गर्न सकिन्छ भनेर २४ वर्षदेखि प्रयत्न गरेको शर्माले बताए ।

उनले केही अपेक्षा नराखी नेपाली जनताले भोलि भावी पुस्ताले चित्र हेरेर गर्व गर्न सकौँ भनेर चित्रहरू बनाइको बताए ।

चित्र बनाउनका लागि छोरा विष्णुले ऐतिहासिक क्षण अवस्थाको अनुसन्धान गर्ने, विज्ञहरू भेट्ने गर्थे भने पिताले त्यसलाई चित्रमा उतार्ने काम गरे । 

चित्रकला प्रदर्शनीमा भेटिएका उनले भने– ‘मैले रिसर्चका कामहरू गर्छु, त्यो विषयवस्तुका सन्दर्भ सामग्रीहरू सङ्कलन गर्ने, त्यसका विज्ञहरू भेट्ने र त्यसको अधारमा हामी बाउछोरा बसेर कसरी बनाउँदा सबैभन्दा जीवन्त होला, यथार्थता कसरी प्रतिविम्बित होला भनेर खोजी गर्छौं र त्यसरी चार पाँच वर्ष लगाएका सामग्रीहरू खोजको अवस्था छ । एउटा चित्र बनाउन दुई तीन महिनादेखि १ वर्ष बढीसम्म समय लागेको छ ।’

अर्थशास्त्रमा पीएचडी गरेका विष्णुप्रसाद शर्मा पाटन संयुक्त क्याम्पसका प्राध्यापक पनि हुन् । उनले आफ्नो पेसाको समयबाहेकको खाली समय आफ्ना पितालाई दिने गरेका छन् ।

प्रदर्शनमा ४५ वटा चित्र छन् । इतिहास, संस्कृति, जनजीवन, प्राचीन भू–दृश्यका चित्रहरू छन् । प्रदर्शनीका चित्रहरू बिक्रीका लागि नराखिएको बताउँदै उनले राज्यले त्यसलाई उपयोगी हुने गरी कतै सङ्ग्रह गरेर राखिदिए हुने उल्लेख गरे ।

चित्रको आयु दुई चार सय वर्ष बढोस् भनेर बेलायतमा बन्ने तेल रङ्गले चित्र बनाइएको छ ।

को हुन् चित्रकार हरिप्रसाद शर्मा ?

८२ वर्षका चित्रकार हरिप्रसाद शर्मालाई आफू पाँच छ वर्षको हुँदादेखि नै चित्र कोर्न थालेको याद छ । सुरुमा सिलोटहरूमा चित्र कोर्न थालेका उनले पछि कागजमा चित्र बनाउन थालेका थिए । बाल्यकालमा सेतो भित्तामा कालो गोलले मान्छेको चित्र बनाएका कारण उनले पिटाई समेत खाएको उनका छोरा विष्णुप्रसादले बताए ।

ब्राह्मण परिवारमा जन्मिएका शर्मा वेद पढ्नुपर्ने बेला तल्लो जातले गर्ने चित्र बनाउने काम गरेको भनेर उनलाई हतोत्साही पनि गर्न खोजिएको थियो । पछि केही सीप नलागेपछि ११ वर्षको उमेरमा शर्माका पिताले त्यतिबेलाका चित्रकार जीवरत्न शाक्यसँग चित्रकला सिक्न पठाएका थिए । अहिले ललितकला क्याम्पस भएको ठाउँमा रहेको पहिलेको जुद्धकला पाठशालामा उनले ५ वर्ष तालिम लिएपछि उनले चित्रकलाबारे अन्त कतै तालिम वा शिक्षा लिएनन् । स्वअध्ययन तथा अभ्यासका आधारमा उनी निपूर्ण बन्दै गएका थिए ।

उनका छोरा विष्णुप्रसादले भने– ‘उहाँमा जन्मजातै सिद्धहस्तता थियो जस्तो लाग्छ मलाई । रङ्गहरूको छनौटदेखि पहिलेदेखि नै हरेक विषयमा त्यसभित्रका घटना, रङ्ग, आकृति, प्रकाश र छायालाई नजिकबाट हेर्नुहुन्थ्यो र त्यसलाई अहिले चित्रमा प्रकट गर्नुभएको छ । पदर्शनीमा राखिएका सबै चित्रहरू परिकल्पनामा आधारित हुन् । एउटै चित्रमा सय, दुई सय जनासम्म मान्छेहरू छन्, त्यो चाहिँ उहाँको विशेष क्षमता जस्तो लाग्छ मलाई । यो क्षमता चाहिँ समाजको हितमा प्रयोग होस् भनेर हामी लागिरहेका छौँ ।’

देश चिनाउने चित्रकलामा लागे पनि शर्माको उचित कदर नभएकोमा उनका छोरा विष्णुप्रसादले गुनासो गरे । मिडियाहरूले पनि राजनीतिक विषयलाई बढी प्राथमिकता दिने गरेका कारण शर्मा जस्ता अन्य कलाकारका काम ओझेलमा परेको उल्लेख गरे ।

सो प्रदर्शनी पारिवारिक खर्चबाट नै सञ्चालन गरेको उनले बताए ।

बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा झन्डै २४ वर्षअघिदेखि बनाइएका चित्रहरू राखिएका छन् ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप