ड्रोन आक्रमणका कारण साउदी तेल उत्पादनमा आधा कटौती
दुबई– यमनका हुथी विद्रोहीहरुले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ । आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ ।
ड्रोन आक्रमणबाट साउदी तेल कारखानामा ठूलो आगलागी भएको थियो, यद्यपि आगो नियन्त्रणमा ल्याइएको साउदी सरकारले जनाएको छ । केही महिनादेखि साउदी अरेबियाका तेलकुवा र कारखानाहरुमा हुथी विद्रोहीहरुले मानवरहित विमान (ड्रोन) बाट आक्रमण तिब्र बनाएका छन् । साउदी गठबन्धनले यमनका हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गरेको भन्दै प्रतिशोध स्वरुप हुथी विद्रोहीहरुले साउदी पूर्वाधारमा आक्रमण गरिरहेका छन् ।
साउदी अरेबियाका ऊर्जा मन्त्री अब्दुलाजिज बिन सल्मानले अब्काक तेल प्रशोधन केन्द्र र खुराइस तेल कुवामा क्षति पुगेका कारण दुबैबाट तेल उत्पादन अस्थायी रुपमा रोकिएको बताए । मन्त्री अब्दुलाजिजले जारी गर्नुभएको विज्ञप्तिमा दुबै ठाउँको आगो नियन्त्रणमा आइसकेको उल्लेख छ ।
मन्त्री अब्दुलाजिजको वक्तव्यमा करिब ५७ लाख ब्यारेल कच्चातेलको आपूर्ति कटौती भएको उल्लेख छ । तेल उत्पादन र आपूर्तिमा प्रभाव पर्ने वा नपर्ने विषयमा साउदी अरेबियाको मुख्य तेल कम्पनी साउदी आराम्कोले विश्लेषण गरिरहेको छ ।
इरान समर्थित हुथी विद्रोहीहरुले ड्रोन आक्रमणको जिम्मेवारी लिएका छन् । हुथी विद्रोहीहरुले हाल यमनको राजधानी साना सहित अधिकाँश क्षेत्रमा नियन्त्रण कायम गरेका छन् । साउदी अरेबियाले सन् २०१५ देखि नै यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोही विरुद्ध हवाई आक्रमण गरिरहेको छ । यस आक्रमणबाट यमनमा ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने साउदी अरेबियामा भएको ड्रोन आक्रमण हुथी विद्रोहीले नभई इरानले गरेको दाबी गरेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘यो आक्रमण यमनबाट भएको कुनै प्रमाण भेटिएको छैन ।’
हुथी विद्रोहीका सैनिक प्रवक्ता याहिया सरीयाले साउदी अरेबियामा १० वटा ड्रान आक्रमण गरिएको र त्यसका लागि सैनिक गुप्तचर सूचना साउदी अरेबियाबाटै प्राप्त गरेको दाबी गरेका छन् ।
उनले परिस्थितिमा सुधार ल्याउन साउदी सरकारले यमनमा जारी राखेको हवाई हमला तत्काल बन्द गर्नुपर्नेमा जोड दिए ।
इरानले यमनी विद्रोहीहरुलाई हातहतियार र ड्रोन आपूर्ति नगरेको बताउँदै आएको छ । तर राष्ट्रसंघ, पश्चिमा मुलुकहरु र अरब खाडी मुलुकहरुले यमनी हुथी विद्रोहीलाई आर्थिक, सैनिक र राजनीतिक समर्थन दिइरहेको बताइरहेका छन् ।
राष्ट्रसंघका अनुसन्धाताहरुका अनुसार हुथी विद्रोहीसँग रहेका ड्रोनले एक हजार ५०० किलोमिटर दूरीसम्म यात्रा गर्न सक्दछ । यी ड्रोनबाट यमनका छिमेकी मुलुकहरु साउदी अरेबिया र युनाइटेड अरब ईमिरेट्ससम्म सहजै प्रहार गर्न सकिने राष्ट्रसंघको भनाई छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सल्मानलाई फोन गरी साउदी अरेबियाको प्रतिरक्षाका लागि अमेरिकाले जस्तोसुकै सहयोग गर्ने बताउनुभएको ह्वाइट हाउसले जनाएको छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण