शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिआरआईले सैन्य गठबन्धनको गन्ध दिएको छैन : प्रचण्ड

आइतबार, २९ भदौ २०७६, १२ : ४८
आइतबार, २९ भदौ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) नेपालको हितमा रहेको बताएका छन् ।

नेपाल बुद्धिजिवी संगठनले आइतबार काठमाडौँमा आयोजना गरेको बिआरआई संवाद बिचार गोष्ठीमा अध्यक्ष प्रचण्डले बिआरआईले कुनै सैन्य गठबन्धनको गन्ध नदिएको बताएका हुन् । प्रचण्डले बिआरआई परियोजनाको उद्देश्य सैन्य गठबन्धन नभै बरु विश्व शान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने रहेको बताए ।

‘बिआरआईले कुनै सैन्य गठबन्धनको गन्ध दिएको छैन । यसले सामुहिक ढंगले शान्ति, विकास, समृद्धि र सोसियल हारमोनीको पक्षमा अपिल गरेको छ । त्यसकारण यो सबैको लागि सहज र स्वीकार्य हुन पुगेको छ,’ प्रचण्डले भने, ‘यसबाट हामीले धेरै लाभ लिन सकिन्छ । बिआरआईको मक्सद विश्व शान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने परिकल्पना गरेको छ ।’

अध्यक्ष प्रचण्डले दुई तिहाई जनसङ्ख्याले बिआरआईलाई सकारात्मक लिनु पछाडिको कारण यसले सुपर पावर बन्नका लागि कुनै सैन्य गठबन्धनको कुरा नगरेको बताए ।

‘यसले कुनै सुपर पावर बन्नका लागि सैन्य गठबन्धनको कुरा गरेको छैन । यसले सामूहिक धारणा र कलेक्टीभ एफोर्टको कुरा गरेको छ । हारमोनियस सोसाइटीको कुरा गरेको छ । त्यसकारण यो सबैलाई मान्य भएको छ’, प्रचण्डले भने, ‘हाम्रो लागि बिआरआई आवश्यक छ । किनभने यसले रोड कनेक्टीभिटीको मात्र कुरा हैन, रेल, पाइपलाइन, कम्युनिकेशन कनेक्टीभिटी र संरचनागत कनेक्टीभिटी लगायत विशाल परियोजनामासमेट्न खोजिएको छ ।’

प्रचण्डले बिआरआईलाई अगाडि बढाउन केही ढिला भएको स्वीकार्दै अब सही समय आएको बताए ।

‘बिआरआईका प्रोजेक्ट छनौट गर्ने कुरामा र यसलाई अगाढि बढाउन भित्रबाट गृहकार्य गर्न केही ढिला भयो । तर अव यसलाई गति दिने समय आएको छ,’ उनले भने, ‘राष्ट्रिय हितलाई प्रवद्र्धन गर्नको लागि सबै एकजुट भएर अगाडि बढ्न आग्रह गर्दछु ।’

कार्यक्रममा प्रचण्डले निकट भविष्यमा हुन सक्ने चिनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणको बीचमा बिआरआईको विषयमा बहस सुरु हुनु सकारात्मक भएको बताए ।

अर्को एक प्रशंगमा प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरुको विषयमा बौद्धिक छलफल कमजोर हुँदै गएको बताए ।

‘मानिसहरु अलिबढि सेन्टीमेन्ट, भावनामा वा उत्तेजनामा आउने र समाजलाई त्यसहिसाबले प्रभावित पार्ने प्रवृत्ति देखिएको छ । यसले समाजमा धेरै नकारात्मक सोचहरु बढ्ने खतरा छ । विवेकले गाइड गर्न छोड्यो भने आवेग आउने र आवेगले प्रायः दुर्घटनातर्फ समाजलाई लैजाने खतरा रहन्छ,’ प्रचण्डले भनेका छन्, ‘विश्व इतिहास र आधुनिक राष्ट्रका विकास र विनास लाई हेर्दा कतिवेला विवेकले, विचारले, विज्ञानले गाइड गर्यो । र, कतिबेला आवेगले, सेन्टीमेन्टले गाइड गर्र्यो, ति देशहरुको भविष्य त्यसै अनुसार प्रभावित हुने गरेको छ ।’

तर यसको औचित्य सिद्ध गर्ने कुरामा निरन्तर विवेकको हस्तक्षेप भएन भने उपलब्धिहरु धरापमा पर्ने प्रचण्डले बताए ।

‘विचारको हस्तक्षेप भएन भने त्यसलाई सिद्ध गरिराख्ने र जनता, समाज राष्ट्रलाई उत्थान तिर लान्छ भन्ने सुनिश्ति हुँदैन,’ प्रचण्डले भने, ‘यसो हुँदा उपलब्धिहरु धरापमा पर्ने खतरा रहन्छ । यदि बुद्धिजिवीहरुको तप्काबाट बौद्धिक हस्तक्षेपमार्फत् सामाजिक रुपान्तरणलाई गति दिने प्रयासलाई तिव्रता दिइएन भने आवेग, सेन्टीमेन्ट हावी हुने र राष्ट्रले दुःख पाउने खतरा रहन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप