केन्द्रीय संस्करण

गणतन्त्रका राजाहरू

person explore access_timeभदौ २९, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

एक समय थियो, राजामहाराजाहरू लीला गर्थे । जनताका रगत पसिनामा मोज गर्थे । आत्मआलोचना र सकारात्मक रूपान्तरण राजाका धर्मसंहितामा थिएन ।  राजाको आलोचना गर्ने र सुधारको सल्लाह दिने अधिकार जनतालाई थिएन । परिवर्तनका लागि जनताले युगान्तको विस्फोट कुर्नुपथ्र्यो । निराश जनजीवनमा जुनसुकै कुरालाई पनि बुझी नबुझी एउटै शब्दावलीमा लाक्षणिक टिप्पणी गरिन्थ्यो र भनिन्थ्यो ‘भगवानको लीला !’ कविहरू यसैमा कविता लेख्थे ‘लीला अपार छन् भगवान् हरिका !’ लीला अर्थात् रहस्यमय व्यवहार । बुझि नसक्नुको व्यवहार । अनौठो क्रीडा । रहस्यमय खेल । माया आदि ।

एक समय थियो । ‘माया’ बडो चर्चित शब्द थियो । नबुझिने कुरालाई ‘माया’ भनिन्थ्यो । ‘जे होइन त्यो भएर देखिन, चिनिन खोज्नु’लाई ‘माया’ भनिन्थ्यो । राजनीति, अर्थनीति सबै मायामै अल्झिएका थिए । शासक सुर असुर सबै मायावी थिए । भ्रमहरू, छायाहरू सबै माया थिए । पौराणिक समयमा मय नामका एक महान् कलाकार पनि  थिए । शायद मयको वंंश नै कलाकार वंश थियो । सामान्यतः उनी दैत्य समुदायका कलाकार मानिन्थे । कतै उनलाई मय दानव पनि भनेको पाइन्छ । मयको  कला बुझिसक्नुको थिएन । रहस्यमय र विभ्रमकारी कला सामथ्र्यकै लाक्षणिक अर्थमा ‘माया’, ‘मायावी’ जस्ता शब्दहरू बने । आज पनि एकथरी पण्डितहरू जगत् संसारलाई भगवान्को माया भन्छन् । जहाँसम्म कलाकार मय कुरा छ, एकथरी पौराणिक मान्यताअनुसार उनी देवशिल्पी विश्वकर्माका छोरा थिए । देवशिल्पीका छोरा मय दैत्य समुदायका कलाकार कसरी भए त ? यसका छुट्टै कथा छन् । पुराणले मयलाई कट्टर रूपको पक्षग्राही देखाउँदैन । अन्यथा पाण्डवको इन्द्रप्रस्थ दरबार र कृष्णको द्वारका नगर निर्माणमा मयको योगदान जोडिने थिएन । महाभारतकालमा युधिष्ठिरको दरबारभित्र मयकै कलामा चिप्लेर दुर्योधन डङ्ग्रङ्ग पछारिएको थियो । अहिले माया नामक एक सभ्यता नै पनि भेटिएको छ ।

जहाँसम्म नेपाली जनबोलीको सवाल छ यहाँ मायाबाटै मायाँपिर्ती बनेको छ । मायाममता बनेको छ । मायालु बनेको छ । मायाजाल पनि बनेको छ ।्एक समय थियो, मानिसहरू क्रीडाका कुरा गर्थे । खेल तमासाका कुरा गर्थे । सारा सृष्टि भगवान्कै क्रीडामैदान मानिन्थ्यो । यसै त बालकहरू पनि बालक्रीडा गर्थे । किशोरहरू डण्डीबियो खेल्थे । वृद्धहरू बाघचाल खेल्थे । शासनका ठूलावडाहरू सिकार खेल्थे । खेलकुद शब्द नेपालमा नयाँ हो । यहाँ खेल अलग्गै थियो । कुद अलग्गै थियो । मानिसहरू खेल्थे । यदाकदा कुद्थे पनि । खेलकुद जोडिएको थिएन । यो आयातित शब्द हो ।

हामीकहाँ क्रीडा शब्दको प्रयोग भने पुरानो हो  । क्रीडाको शाब्दिक अर्थ पनि खेल नै हो । पुराकथाहरूमा द्यूतक्रीडाका बखान छन् । वेदमा पनि द्यूतक्रीडाका कुरा  छन् । वेदले आफ्ना पाठकहरूलाई अर्ती दिँदै भन्छ– ‘अक्षैर्मादिव्य’ अर्थात् जुवा नखेल ! वेद पढेका युधिष्ठिरले हस्तिनापुरमा गएर जुवा खेले । धेरै वेद पढेका भीष्मपितामहले टुलुटुलु हेरिरहे । आँटपाँट झिकेर रोकेनन् । यो सत्ताको खेल थियो । भीष्म स्वयम् पनि दुर्योधनको सत्तापालित थिए । खेलमा मायावी शकुनी सम्मिलित थियो । परिणाम पूर्वभासित थियो र पनि कतैबाट खेल रोकिएन । सत्तासीनहरू रुकावट मन पराउँदैनन् । सामन्त संस्कार संस्कृतिका सत्तासीनहरू भीरबाट खुर्मुरिन लाग्दा पनि कसैले रोकेको मन पराउँदैनन् । शानसित खुर्मुरिन्छन् ।

संस्कृत भाषाका महाकवि कालीदासले कुमारसम्भव महाकाव्यमा बालिका पार्वतीले हिमालयमा भकुण्डो खेलेको बयान गरेका छन् । हिउँकै भकुण्डो पनि हुनसक्छ । यो सात्विक क्रीडा वर्णन हो । यसरी कन्दुकक्रीडा अर्थात् भकुण्डो खेल भने हाम्रो हिमाली परम्परामा पनि नयाँ होइन । निश्चित सङ्ख्याको समूह बनेर खेलिने हिजो आजको भलिबल, फुटबल आदि चाहिँ हाम्रो सन्दर्भमा नयाँ हुन् । हामी नेपालीहरू जुवालाई पनि खेल भन्छौँ । भकुण्डोलाई पनि खेल भन्छौँ । दाउपेच गर्नुलाई पनि खेल भन्छौँ । अहिले आएर चुनावी राजनीति पनि एउटा खेलमा परिणत भएको छ । सबै खेलका दाउपेच समावेश भएको जटिल खेल । यसै भएर खप्पिस राजनेतालाई हिजोआज खेलाडी पनि भनिन थालेको छ ।

*****

शब्दको झगडा, शब्दको खेल । विद्रोह भन्नेहरूसँग पनि आमूल परिवर्तनको योजना छैन । जनता को ? जनताका शत्रु को ? चिन्तनमा यथातथ्य वर्गविश्लेषण छैन । व्यवहारमा जननीति छैन ।

*****

मैले आज यहाँ आज यो टिप्पणी प्रस्तुत गर्नुका पछाडि एउटा कारण छ । भर्खरै मैले एक जना पण्डित भेटेँ । उहाँ स्कुलमा छँदा फुटबल खेलाडी हुनुहुन्थ्यो । पछि संस्कृत पढ्नुभयो । अलि वर्ष जागिर पनि खानुभयो । यसैबीच छोराछोरीहरू पाताल भासिए । उहाँलाई पनि डाकेका थिए । भासिन जानुभएन । बुढाबुढी अहिले आफ्नो गाउँठाउँमै जसोतसो धानिएर रहनुभएको छ । अहिलेका सत्तासीन र प्रतिपक्षका राजनीतिक नेताहरूका सन्दर्भमा कुरा हुँदा उहाँले भन्नुभयो– खप्पिस खेलाडी हुन् । शब्दमा लड्छन् । शब्दमा अर्थ बाँकी छैन । अर्थ चाहिएको पनि होइन । निरर्थक लड्छन् । बीपीको समाजवाद, क. पुष्पलालको जनवाद, मदनभण्डारीको बहुदलीय जनवाद, माओवादीको एक्काइसौँ शताब्दीको जनवाद, यी सबै अर्थ निचोरिएर छोक्रा मात्र बाँकी राखिएका खोक्रा शब्दगुम्फनहरू हुन् । तर पनि यी शब्दगुम्फनहरूले आजको नेपालमा काङ्ग्रेस कम्युनिस्टको राजनीति गर्ने मायावी कलाकारहरूलाई मुखुण्डोको काम दिएका छन् । मुखुण्डो लाउने र जनताका भाग्यभविष्यको भकुण्डो खेल्ने । सारमा अहिलेको नेपालको सत्ता राजनीति यति नै हो ।

शब्दको झगडा, शब्दको खेल । विद्रोह भन्नेहरूसँग पनि आमूल परिवर्तनको योजना छैन । जनता को ? जनताका शत्रु को ? चिन्तनमा यथातथ्य वर्गविश्लेषण छैन । व्यवहारमा जननीति छैन । सही सही ठम्याएर चल्ने संस्कृति छैन । जनताबाट केही नलिने, जनतालाई दुःख नदिने पद्धतिका जनसंस्कृति समातेको देखिएन । थर्काउने र असुल्ने परिपाटी त पुरानै हो । जनताले आशावान् बनेर उभिने निर्धक्कको चौतारी बन्न सत्तापक्ष, प्रतिपक्ष विद्रोहीपक्ष कुनैले सकेको छैन ।  स्थिति आज पनि महाभारतको जुवा समारोहजस्तै  छ । आज पनि दुःशासनद्वारा  द्रौपदीको चीरहरण भइरहेको छ ।

****

जनतालाई दुःखको कुरा कति मात्र हो भने ज्यान अर्पेर बोकेका आन्दोलनका खेपहरू निरर्थकजस्तै गए । नेपालमा पनि सिसिफसको कथा बल्झ्यो ।

****

तर पनि कहिल्यै हतास, निराश नहुने प्रवृत्तिको नाम जनता हो । जनता जुवाडे युधिष्ठिर होइनन् । वनवासमा पनि धैर्यवान् युधिष्ठिर हुन् जनता । यक्षप्रश्नका अगाडि उभिएको बुद्धिमान् युधिष्ठिर हुन् जनता । जनता आज पनि परिवर्तनका पक्षमा आशावान छन् । जनता बाढी बनेर उर्लेपछि सूर्यको उदयास्तमा शासन क्षेत्रको हिसाब  गर्ने सम्राटहरू, महासामन्तहरू पनि ढलेका छन् । निर्मूल भएका पनि छन् । विगतमा निक्कै बलिया देखिएका यथास्थिति भत्केका छन् । यो पनि भत्कन्छ । अवश्य भत्कन्छ । फुच्चे सामन्तहरू पनि ढल्छन् । ढिलो छिटो भन्ने कुरा जनताको संज्ञान र पहलले निर्धारित गर्ने कुरा पनि हो ।

यसै त हाम्रो मुलुकमा अभैm गणेशमानका भेडाहरू पनि छन् । बेलाबेला देखिन्छन् । एकाध महिनाअघि चितवनमा पनि देखिए । तर पनि जनताको मूल प्रवाह भने त्यो होइन । रामरहिम जस्ता पात्रलाई कुनै पनि मूल्यमा भगीरथ भन्न सकिँँदैन । रामरहिमको पछि लाग्ने प्रवाह गङ्गा पनि हुन सक्दैन । यति हुँदा पनि नेपालमा गणेशमान चिन्तन अभैm अप्रासङ्गिक बनिसकको भने छैन । खर्कहरू छन् । घाँस सकिए पनि जरा चरिरहेका भेडाहरू पनि छन् । आधा पेटले गोठमा उग्राइबसेका भेडाहरू पनि छन् । यद्यपि यो केवल अवशेष हो । यथार्थमा गणेमान चिन्तनको त्यो युग बुढो भइसकेको छ । त्यसको पुनरुत्थान भनेको राजा आउने कल्पना जस्तै मात्र हो । यसको कुनै आधार छैन ।

समयले त साथ दिएकै हो । नेताहरू संयमित मिलनसार हुन सकेनन् । १४ वर्ष कालकोठरीमा तपस्यारत रहन सक्ने र १० वर्ष युद्धको छुराधारमा हिँडेर जक्सनमा ओर्लन सक्ने राजनेताहरू भोगविलासको आकर्षण बजारबाट जोगिएर संयमको बाटोमा अघि बढ्न सकेनन् । जननीति बनाएर हिँड्न सकेनन् । जनतासित हातेमालो गरेर हिँड्न सकेनन् । बाहिरी क्रान्तिमा त यी नेताहरू अगाडि पनि देखिए आपूmभित्र क्रान्ति गर्न सकेनन् । परिवर्तन गर्न सकेनन् । फिटिक्कै सकेनन् । विलास वैभवको आकर्षणमा आफ्नो राजनीतिक धर्म छाडे । स्खलित भए । आफैबाट पराजित भए । विचारलाई संस्कार र संस्कृतिमा रूपान्तरण गर्न प्रयत्नशील नरहेकाहरू अनायास पुरानै संस्कृतिमा पछारिन्छन् । यो स्वाभाविक नै हो । यस तथ्यलाई हाम्रा पुराणहरूमा बिम्बहरूले प्रमाणित गरिएको पाइन्छ । जस्तै धेनुकासुर महिसासुरजस्ता मायावी दानवहरू युद्धमा विभिन्न रूपरङ्गमा प्रस्तुत भए पनि पराजयको पराकाष्टाका क्षणमा आफ्नै सक्कली रूपमा पछारिन्छन् ।

जनतालाई दुःखको कुरा कति मात्र हो भने ज्यान अर्पेर बोकेका आन्दोलनका खेपहरू निरर्थकजस्तै गए । नेपालमा पनि सिसिफसको कथा बल्झ्यो ।

हुन त नेपालको कुरा अलि फरक पनि छ । नेपालीहरू अभिशाप मान्दैनन् र निराशा जान्दैनन् । नेपाली जनताको संंस्कृति आस्था र विश्वासमा आधारित बहादुरहरूको संस्कृति हो । यस्तो संस्कृति निर्माणका पछाडि नेपालका महान् त्यागी तपस्वी ऋषिमुनिहरूको योगदान छ । गङ्गालाल, दशरथचन्द, शुक्रराज, धर्मभक्त लगायत थुप्रै महान् सहिदहरूको योगदान छ । वाल्मीकिदेखि लक्ष्मीप्रसाद हुँदै कृष्ण सेन इच्छुकसम्मका महिमाशाली कविहरूको योगदान छ । आफ्नो जिउज्यान नभनी क्रान्तिमा होमिने हजारौँ हजार क्रान्तिकारी सहिदहरूको योगदान छ । अपराजेय वीर नेपाली जनताको योगदान छ ।

समाजमा आज पनि असल मान्छेहरू छन् । हरेक दलमा छन् । ती जगमा पुरिएका छन् । सत्तामा असल मान्छे पुग्न सकेका छैनन् । यसै त यो आजको मात्र कुरा होइन । २००७ सालपछिको मात्र इतिहास पढ्दा पनि हामी देख्छौँ, मुखुण्डो लाएर भकुण्डो खेल्ने मायावी राजनेताहरू अघिल्लो बहुदल कालमा थिए । पञ्चायत कालमा थिए । पछिल्लो बहुदल कालमा थिए । अहिले पनि छन् । पहिले पहिचान गाह्रो थियो । अहिले पहिचान सजिलो छ । अहिले त हामी नाकमै आँैला राखेर भनिदिन सक्छौँ तिमी मकुण्डो लाएर भकुण्डो खेलिरहेका खेलाडी हौ । ढिलोचाँडो तिमी दण्डित हुन्छौ । तिमीलाई आकाशबाट जमिनमा उतार्ने र सार्वजनिक रूपमा दुत्कार्ने दिन आउँछ । अवश्य आउँछ । आउँदै छ ।

****

अहिले तिनका चेला चपेटाहरू छन् । अनुशरणकर्ताहरू छन् । ती पनि मासिने क्रममा छन् । मासिन्छन् । हामीकहाँ जनताका भोटलाई भर्याङ् बनाएर सत्तामा उक्लेका फुच्चे सामन्तहरू जो छन्, ती आजको पद प्रतिष्ठालाई सधैँको बिर्ता ठानेर अजम्मरी पाराको शान दिइरहेका छन् ? नसुहाउँदो चुरीफुरी गरिरहेका छन् ? यी भुइँफुट्टा डायनोसरहरू अर्थात् नेपालका गणतान्त्रिक सामन्तहरूको चरीफुरी देखेर समयलाई हाँसो लाग्दो हो र मनमनै सोच्दो हो कठैबरा बिचरा यी भुइँफुट्टा फुच्चे सामन्तहरू कतिसम्म चन्द्राहत !?

****

पुनश्चः

हामी सबैले सुने जानेको कुरा हो–डायनोसरहरू ठूला थिए । भयङ्कर ठूला थिए । भयङ्कर ठूला र शक्तिशाली हुनुकै कारण ती सकिए । जरोकिलो त्यही भयो तिनीहरूको ।

सम्राटहरू, महासामन्तहरू सेरोफेरोका मालिक थिए । तिनका एक झ्वाँकमा संसार थर्र काँप्थ्यो । आफ्ना साम्राज्यमा सूर्य नअस्ताउने सम्राट पनि थिए यसै धर्तीमा । ती पनि डायनोसर मासिएजस्तै गरी मासिए ।

अहिले तिनका चेला चपेटाहरू छन् । अनुशरणकर्ताहरू छन् । ती पनि मासिने क्रममा छन् । मासिन्छन् । हामीकहाँ जनताका भोटलाई भर्याङ् बनाएर सत्तामा उक्लेका फुच्चे सामन्तहरू जो छन्, ती आजको पद प्रतिष्ठालाई सधैँको बिर्ता ठानेर अजम्मरी पाराको शान दिइरहेका छन् ? नसुहाउँदो चुरीफुरी गरिरहेका छन् ? यी भुइँफुट्टा डायनोसरहरू अर्थात् नेपालका गणतान्त्रिक सामन्तहरूको चरीफुरी देखेर समयलाई हाँसो लाग्दो हो र मनमनै सोच्दो हो कठैबरा बिचरा यी भुइँफुट्टा फुच्चे सामन्तहरू कतिसम्म चन्द्राहत !?

भेगका भेग जङ्गल जरोकिलै नराखेर चरेका कारण डायनोसरहरू मासिएका थिए । हाम्रा फुच्चे सामन्तहरू सोच्दा हुन् ‘नेपाल र नेपाली जनताको भाग्य भविष्यको मैदान चरिसक्न अझ कति बाँकी छ । यो जति वर्षसम्म बाँकी रहन्छ त्यति वर्षसम्मका लागि यो चरन हाम्रै हो ।’

जङ्गलका वृक्ष वनस्पति चर्नु र मुलुकका मानिसहरू चर्नु एउटै कुरा होइन । यो नभएरै सम्राटहरू मासिए । राजा महाराजाहरू मासिए । जङ्गलका वृक्ष वनस्पतिहरू बोल्दैनन् । जस्तै आज भोका नाङ्गा नेपाली जनतालाई सडकमा उत्तानो सुताएर आकाशमा चिलजात्रा देखाउने हौसलामा हौसिएर बनाउन लागिएको अन्तर्राष्ट्रिय हवाई मैदन बनाउन बारामा काटिन लागेका २४ लाख रूखहरू बोलेका छैनन् । ती रूखका लागि जनताको फोक्सोले रोएर उच्छ्वास बोल्नुपरेको छ र पनि सत्ताले सुनेको छैन । हो, वृक्षवनस्पतिले आफै विद्रोह गर्दैनन् । प्रकृतिले ढिलोचाँडो प्रतिक्रिया भने दिन्छ । जहाँसम्म मानिसको कुरा छ, ती सचेत छन् भने तुरुन्त बोल्न सक्छन् । आवश्यक पर्दा युगान्तकारी क्रान्तिकारी बनेर आफ्ना भाग्य–भविष्य–चरुवाका विरुद्ध मैदानमा उत्रन सक्छन् । ज्वालामुखी बनेर विस्फोटित हुन पनि सक्छन् । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...