शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फरार अभियुक्तको सत्कारमा सिडियो र एसपी, संरक्षक मन्त्री

शनिबार, २८ भदौ २०७६, १६ : ५८
शनिबार, २८ भदौ २०७६

बुटवल । एक फरार अभियुक्तलाई नेपाल सरकारका मन्त्रीदेखि गुल्मी जिल्लाका सिडियो, एसपीसहितका सुरक्षा निकायका प्रमुखहरुले स्वागत सत्कार गरेका छन् ।

गुल्मीको साविक वस्तु गाविस वडा नम्वर ३ का विजय भण्डारी वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियक्त हुन् ।

विष्णु प्रपन्चार्यको उपनामले र केही वर्ष यता बालयोगेश्वर महराजको उपनामले विभिन्न स्थानमा महयज्ञका प्रमुख वाचक रहँदै आएका भण्डारी वैदेशिक रोजगार न्यायधीकरण इजलासबाट  वैदेशिक रोजगारको ठगी कसुरमा १ वर्ष ५ महिना र २६ दिन कैद सजायका फरार प्रतिवादी हुन् । २०७५  साल जेठ २७ गते सम्वन्धित जिल्ला अदालत गुल्मीमा उक्त कैद लागत कसी असुल गर्नु भनि जिल्ला अदालत गुल्मीमा पत्र पठाएको छ ।

फरार अभियुक्त रहेका भण्डारीले आइतबारदेखि २१ दिनसम्म सञ्चालन गर्न लागेको विराट महायज्ञ मुल समारोह समितिको प्रमुख संरक्षक संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र वरिष्ठ संरक्षक प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बराल रहेका छन् ।

उक्त पत्र पठाएको झण्डै चार महिना बित्दा पनि अभियुक्त भनिएका विष्णु प्रपन्चार्य भनिने बालयोगेश्वर महाराज उर्फ विजय भण्डारी सिडियोदेखि प्रहरी प्रमुखसँग खुलेआम नमस्कार र  प्रणाम साटासाटा  गरेर हिँडिरहेका छन् ।

आजदेखि २१ दिनसम्म चल्ने धार्मिक महायज्ञको नेपाल पञ्चाङ्ग निर्णय समितिले  रोक लगाउँदा–लगाउँदै पनि प्रमुख वाचकका रुपमा कार्यक्रम सञ्चालन सुरु गरेका छन् । उक्त महायज्ञको  मन्त्री  प्रदीप ज्ञवलीले भव्य समारोहका बीच उद्घाटन गरिरहँदा उनकै पार्टी यहाँका अन्य धार्मिक व्यक्तिहरुले भने विरोध जनाएका छन् । महायज्ञ प्रचारका क्रममा स्याङ्जा, पाल्पा, बुटवल र काठमाडौँसम्मका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई लाखौँ रुपैयाँ खर्चिएको आरोप समेत लागेको छ ।

यस्तो छ भण्डारीमाथि कसुर

बैदेशिक रोजगार न्यायधीकरण इजलासका अध्यक्ष सत्यराज गुरुङ, सदस्यहरु देवेन्द्रराज ढकाल र रमादेवी पराजुलीको इजलासले २०७० सालको मुद्दा नम्वर ४÷४१७ को निर्णय नम्वर २६५ ले भण्डारीलाई वैदेशिक रोजगारको ठगी कसुरदारमा विजय भण्डारी उर्फ  विष्णु प्रपन्चार्य र बालयोगेश्वर महराजलाई ठहर गरेको मिसिलमा उल्लेख छ ।

वैदेशिक रोजगारका लागि अमेरिका पठाउँछु भन्दै विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ अहिलेका बालयोगेश्वर महाराज बनेका भण्डारीले ठगी गरेको भन्दै हर्जानासहित १८ लाख ठगी काण्डका अभियुक्त ठहर गरिएको थियो ।

भण्डारी  र काठमाडौँ महानगरपालिका–१४ का शुशीला भण्डारी र सोही वडाका ईश्वर खड्काविरुद्ध अर्घाखाँचीको साविक ठाडा गाविस–३ घर भई हाल रुपन्देहीको साविक बुटवल नगरपालिका–११ बस्ने  रमेश खनाल, काठमाडौँको साविक मच्छे गाउँपालिका–५ बस्ने प्रकाश ढुङ्गाना, किर्तिपुर नगरपालिका–८ बस्ने प्रमोदकृष्ण अधिकारीले आफूहरुसँग जनही ४ लाखका दरले वैदेशिक रोजगारका लागि अमेरिका पठाईदिन्छु भन्दै ठगी गरेको भन्दै उनीहरुले मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा वैदेशिक रोजगार न्यायधीकरण इजलासका अध्यक्ष गुरुङ, सदस्य ढकाल र पराजुलीको इजलासले भण्डारीसहित अन्य दुई जना विरुद्ध पनि  वैदेशिक रोजगार पीडितहरुले ठगी विरुद्ध मुद्दा दायर गरेपनि अन्य दुइ जनालाई बेकसुर ठहर गरेको थियो भने १८ लाख रुपैयाँ ठगी काण्डका कसुरदार ठहर गरेको थियो ।

भण्डारीले  (वालयोगेश्वर उर्फ विष्णु प्रपन्नचार्य)  अनुसन्धान अधिकृत समक्षको बयानमा आफूले वैदेशिक रोजगारका लागि नभइ जाहेरवालामध्ये प्रमोद अधिकारीसँग धार्मिक  कार्यक्रम गर्नका लागि डेढ लाख रुपैयाँ ऋण लिएको  र अन्य तीन जना मानिसहरु लगाएर जबरजस्ती बैदेशिक रोजगारको कागज गराएको जिकिर गरेका छन् ।

तर  २०६८ साल भदौ १ गते अनुसन्धान  अधिकृत समक्षको बयानमा उनै भण्डारीले प्रकाश ढुङ्गाना र प्रमोदकृष्ण अधिकारीबाट धार्मिक कार्यक्रम गर्नका लागि ६ लाख ऋण लिएको  जिकिर गरेका थिए ।

यस कारण कसुर अपराध गरेको ठहर

 भण्डारीविरुद्धको अभियोग पत्रमा भनिएको छ– ‘प्रतिवादी विजय भण्डारी (विष्णु प्रपन्चार्य ) ले शुशीला भण्डारी र ईश्वर खड्का समेतको मिलोमोतोमा बैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने ईजाजत अनुमति पत्र नलिई जाहेरवालाहरुलाई वैदेशिक रोजगारमा संयुक्त राज्य अमेरिका मुलुकमा पठाइदिन्छु भनि झुटा आश्वासन प्रलोभनमा पारी रकम बुझिलिइ भने बमोजिमको रोजगारमा नपठाएको र लिए खाएको रकम समेत फिर्ता नगरेको हुँदा निज प्रतिवादीको उक्त कार्य वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र ४३  विपरितको कसुर अपराध गरेको ठहर्छ ।’

निज प्रतिवादीहरु विजय भण्डारी  (विष्णु प्रपन्नचार्य ) ले सुशीला भण्डारी र ईश्वर खड्कालाई सोही ऐनको दफा ४३ बमोजिमको सजाय जाहेरवालाबाट तपशिलको बिगो र सोको ५० प्रतिशतले  हुन आउने हर्जाना रकम समेत प्रतिवादीहरुबाट अशुल उपर गरि पाउँ भनि नेपाल सरकारको अभियोग पत्रमा उल्लेख भए पनि प्रतिवादी दुई जनालाई बेकसुर ठहर गरिएको छ  ।

फैसलामा भनिएको छ– ‘२०६८ साल फागुन महिना १२ गते प्रतिवादी विजय भण्डारीले रकम फिर्ता नगरे म फिर्ता गर्छु भनि जमानी बसेको आधारमा र ईश्वर खड्काको हकमा निर्णय नम्बर १०३ को छाँयाप्रति मिसिलसमेत रहेको देखियो र निवेदनमा निज समेत मिलि रकम पचाउने नियत लिएको भनि पोल  गरेको आधारमा मुद्दा चलाएको देखिन्छ । यसरी यी प्रतिवादीहरुले जाहेरवालाहरुलाई वैदेशिक रोजगारमा अमेरिका पठाउँछु भनि झुटा आश्वासन  दिएको वा प्रलोभनमा पारी रकम लिएको वा प्रतिवादी विजय भण्डारीसँग मिलि सो कसुर गर्न सहयोग गरेको वा मतियार भएको वा कसुर गर्न दुरुत्साहन गरेको समेत नदेखिँदा यी प्रतिवादीहरुलाई विना ठोस प्रमाण कसुरदार ठहर गर्न न्यायोचित देखिँदैन ।’

तसर्थ, प्रतिवादी विजय भण्डारीले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र ४३  विपरितको कसुर गरेको देखिँदा निजलाई ऐ.ऐनको दफा ४३ ले (एक वर्ष ६ महिना ) कैद तथा एक लाख पचास हजार रुपैयाँ जरिवाना हुने ठहर गर्छ ।

विगोको हकमा जाहेरवालाहरुले बिगो फिर्ता पाइसके भनि निवदेन दिएकाले सो तर्फको दावी पुग्न सक्दैन । प्रतिवादी शुशीला भण्डारी र  ईश्वर खड्काको हकमा दावी पुग्न सक्दैन । निजहरुले अभियोग दावीबाट सफाई पाउने ठहर छ ।

रिडीमा महायज्ञको पूर्वसन्ध्यामा सदरमुकाम तम्घासमा प्रचारप्रसार ¥यालीमा उनै विजय भण्डारी उर्फ विष्णु प्रपन्नचार्य ठूलो तामझामका साथ आए । उनलाई यहाँका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल, हालै यहाँबाट सरुवा भएका प्रहरी प्रमुख एसपी दीपक कुमार बस्नेतसहितका सुरक्षा निकायका प्रमुखहरुले स्वागत सत्कार गरे । 

उता, मन्त्री ज्ञवाली र प्रदेश सरकारका एक मन्त्री पनि महायज्ञको पूर्वसन्ध्यामा वालयोगेश्वर महराजलाई निवासमा भेट्न पुगिसकेका थिए । उनले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट २०४४ साल असार १ गते जन्ममिति उल्लेख गर्दै साविक वस्तु गाविस वडा  नम्वर ३ घर ठेगानामा २०६३ साल असोज ९ गते पहिलो पटक नागरिकता प्राप्त गरेका छन् ।

त्यसमा उनका बाबुको नाम मनिराम भण्डारी रहेको छ । उनले दोस्रोपटक २०६७ साल वैशाख ६ गते  प्रतिलिपी नागरिकता सोही नाम ठेगानाबाटै लिएका छन् । २०७३ साल चैत २२ गते उनले त्यस नागरिकताको अभिलेख माग गरेका छन् । 

यस सम्वन्धमा  भर्खरै जिल्ला प्रहरी कार्यालयको  जिम्मेवारी सम्हाल्न आएका  एसपी राजेन्द्रसिंह खड्काको ध्यानाकृष्ट गराउँदा आफू भर्खर मात्र आएकाले बुझ्न नसकेको प्रतिकृया दिए । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले मन्त्री सवारी हुने कार्यक्रम भएकोले आफूहरु जानै पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप