केन्द्रीय संस्करण

कविता : सबै जाने बाटो

person explore access_timeभदौ २८, २०७६ chat_bubble_outline0

कृष्णमणि पराजुली

मलाई लाग्छ के छ र दुनियाँमा
ठूला ठूला पनि
एक दिन उही मूल बाटो खोजी खोजी
अनन्त यात्रामा जानुनै पर्दोरहेछ ।

तर मेरो ठूले त्यस्तो पटक्कै ठान्दैन
उसलाई मर्नु छैन, काल पनि छैन
धेरैलाई लखेट्नु छ, टाढा टाढा धपाउनु छ
धेरै सम्पत्तिको मालिक हुनु छ
असहायलाई शोषण गर्नु छ
गरिबलाई झन् झन् गरिब बनाउनु छ
उसलाई यही रहर छ 
त्यसैले
आजभोलि ऊ त्यसैमा तल्लीन छ ।

पल्ला घरे दर्जी भोकभोकै हुँदा 
उसलाई आशा पलाइरहेछ
ओल्ला घरे परियार औषधि नपाई छटपटीमा
उसलाई आनन्द आइरहेछ
माथिल्लो घरको लुरे पनि छोराछोरीको
स्कुल फी बुझाउन नसकेको खबरले
ठुलेको मन झनै खुसी भइरहेछ ।

तल्ला घरेको घरबारीको पैरो त
उसका लागि मनभित्रको झनै आनन्द छ 
अंश र वंशमा जोडिएकोलाई पनि
उसले यो ठाउँबाट लखेट्नु छ 
हो, यसरी उसले आफूलाई
उन्मादको खुसी ल्याउनु छ 
उन्मादको खुसी ल्याउनु छ ।

उसको आनन्द बिरालोको चुल्हो जस्तो लाग्छ
सबै जहान सकिगएपछि
मेरा लागि सिङ्गै चुल्हो एकलौटी हुन्थ्यो भनेर
बिरालोको मन जस्तो ठुलेको मन हुन्छ ।

आखिर सबै गएपछि
चुल्होको पनि के काम आउँछ र
खै बुझेका ठुला भन्नेहरुले
आफू पनि त त्यही बाटो जानु छ भनेर ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...