शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लासले गरेको अवज्ञा

शनिबार, २८ भदौ २०७६, १३ : ४४
शनिबार, २८ भदौ २०७६

कृष्णराज खनाल

झमक्क साँझ परेपछि
सरकारी उर्दी जारी भयो
‘ए, मुर्दाहरु हो 
उठ, जाग
हातलाई छातीमा राखेर
सुस्तरी बोल
‘सयौँ थुँगा फूलका हामी 
एउटै माला नेपाली ।’

मेरा चर्र्चर्ती फुटेका पाइतलाहरु 
बागमतीमा डुबेका थिए
मसँग न उभिने आधार थियो
न टेक्ने लौरो थियो
म सुतिरहेँ कहिल्यै नब्युझँने गरी । 

सरकार !
अब मलाई नउठाउनुस्  
म जडवत् लास बनिसकेको छु ।
तपाईंको नुन धेरै खाएँ
तपाईंको आज्ञाको
अवज्ञा गर्ने मेरो मनसाय हुँदै होइन
मलाई प्रतिगामी भने पनि भन्नुस्
दक्षिणपन्थी भने पनि भन्नुस्
जिउँदो हुँदा म उभिएँ
उभिएँ र धेरै उभिएँ
 र 
अहिले जीवनदेखि हारेर 
परत्रका लगि
बागमतीको शरणमा आएको 
एउटा लास न हुँ 
मलाई आरामसँग 
सुत्न दिनुस् 
र, मेरो शव बोकेर
आँखामा बलिन्द्र धारा चुहाउँदै
आउने मेरा सन्तानहरुलाई,
मेरा आफन्तहरुलाई, 
मेरा साथीभाइहरुलाई
कम से कम म खरानी नहुँदासम्म 
आर्यघाटको त्यो भग्न
इँटामाथि बसेर
दुई थोपा आँसु खसाल्ने 
अनुमति त दिनुस् 
कृपया तिनीहरुलाई गीत गाउन नभन्नुस्
सरकार ! 

ए, छोराहरु हो,
म सहरको कोलाहलबाट टाढा 
पशुपति आर्यघाटमा
चिरनिद्रामा लमतन्न सुतिसकेको छु । 
मलाई लागेको थियो
एक पटक ढलेपछि
अब उठ्नुपर्दैन
छिनाझपटीमा लाग्नुपर्दैन,
भ्रष्टाचार र अनाचारका 
दृश्यहरु हेर्न र सुन्न पर्दैन
राष्ट्रगानको धून बजोस् वा 
मृदङ्ग
म उठ्न सक्दिनँ
मलाई 
उठाउने धृष्टता नगर है 
बरु मेरो आत्मा भड्कनुअघि नै
मलाई छिट्टै यो 
संसारबाट मुक्त गरिदेऊ
मेरो यो जीर्ण कायामा
अग्नि प्रज्ज्वलन गर,
मेरो पञ्चभौतिक शरीर नष्ट गर
म इहलोकको महान् यात्रामा छु । 

सरकार ! 
मैले तपाईंको अवज्ञा गरेकै छैन
अन्यथा नलिनुहोला
नाथे लाससँग दागा नधर्नुहोला
मसँग त्यस्तो धृष्टता नै कहाँ छ र ?
सरकार ! 
हजुरसँग त दुई तिहाइको दम्भ छ
जङ्गबहादुरका अवशेष
तपाईंकै जिब्रोमा त छ नि 
जङ्गेले भनेपछि भन्यो भन्यो 
म लाचार छु 
तैपनि 
म त लास न हुँ
लाससँग के शक्ति हुन्छ र ?
लाससँग के पौँठा खेल्नु ?
जति गर सरकार
तपाईंले बजाएको सयौँ थुँगाको धुन बज्दा
म उठ्न सक्दिनँ
लासले अवज्ञा गरेको नसम्झनु ल ।

बोस्टन, अमेरिका ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप