‘गोरी’ मन्त्रको कमाल !
प्रकाश तिवारी
कुरा पञ्चायती शासन कालको हो । जतिबेला प्रधान पञ्चहरूको चकचकी हेर्न लायकको हुन्थ्यो । फिल्डमा खटिई जाने कर्मचारीहरूको कामको रेखदेख उनीहरूबाटै हुन्थ्यो । यतिसम्म कि प्रधान पञ्चको हाजिरी प्रमाणित पेश नगरे फिल्डमा खटिने कर्मचारीको मासिक तलब भुक्तानी हुँदैनथ्यो । यो काम चाकडीबाज कर्मचारीहरूका लागि जति सहज थियो सीधा र इमानदार कर्मचारीका लागि त्यति नै कठिन पनि थियो । चाकडी चाप्लुसीमा माहिर कर्मचारी प्रधानपञ्चको चाकडीकै भरमा घरै बसीबसी सजिलै तलब पकाउँथे ।
जे.टी.ए. कमल एउटा सिधासाधा कर्मचारी थियो । कार्यालयले उसको कार्यक्षेत्र प्रधान पञ्च कुवेरसिं गुरुङको गाउँ पञ्चायतमा तोकिदियो । कमललाई कुवेरसिंले लेखस्थित गोठमा गोठालाहरूसँग मिली गाईभैँसी चराउने गरी कामको जिम्मेवारी दियो । अब पर्यो फसाद ! नजाऊँ भने प्रधानको हातको हाजिरी प्रमाणित नपाउने । जाऊँ भने स्वाभिमानले नदिने । उसले सिधै भनिदियो– प्रधानजी ! म तपाईंको घरमा कमारो बस्न आएको हैन ।’
कुवेरसिं आजसम्म कुनै कर्मचारीले यसरी बोलेको थिएन । ऊ क्रोधले थरर काम्यो । उसले कमललाई भनेको नमाने पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा कार्यालयमा फिर्ता पठाइ दिने धम्की दियो । दुईबीच भनाभन चल्यो । कुवेरसिंको क्रोध थामिनसक्नु भयो । कमल टसमस नभएपछि ऊ कमललाई कसरी ठीक पार्न सकिन्छ भनी षड्यन्त्रको तानाबाना बुन्न थाल्यो ।
कुवेरसिं गाउँ छोडी सदरमुकाम हानियो । सदरमुकाम पुगी कृषिको हाकिम र सीडीओसामु जेटीए कमलले कर्तव्यपालन नगरी राजनीति गरेको आरोप लगाउँदै कडा कारबाहीको माग पेश गर्यो । जल्दोबल्दो पञ्च भएकाले गाउँमा मात्र हैन जिल्लामा पनि उसको ठूलै हाँकडाँक थियो । कृषिका हाकिम र प्रमुख जिल्ला अधिकारीले उसको कुरा नमानी धरै पाएनन् ।
त्यसको केही दिनमै कृषि विकास कार्यालयले छानबिन टोली गठन गर्यो । ‘गाउँका सिधासाधा मानिसहरूलाई भड्काएको, तोकिएको जिम्मेवारी पूरा नगरेको, निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध गतिविधि गरेको’ आदि अभियोगमा कमलमाथि छानविन गरिने भयो ।
केही दिनमै कृषि विकास कार्यालयले गठन गरेको जाँचबुझ टोली कुवेरसिंको गाउँ पुग्यो ।
छानबिन टोलीको स्वागत सत्कारमा कुवेरसिंले कुनै कसर बाँकी राखेन । आधा दर्जन लोकल कुखुराका भाले ढालिए । कोदाको शुद्ध रक्सीका दर्जनौँ बोतल रित्तिए । रोदीको भव्य कार्यक्रम आयोजना गरियो । सुन्दरी रिमेहरू डाकिए । रक्सीको नसामा लठ्ठिएका वरिष्ठ कर्मचारीहरू र सुन्दरीहरूबीच रातभर जमेर दोहोरी चल्यो । ‘यजमान जायगा हमारा क्या जायगा’ भन्दै गाउँका सुन्दरी छोरी चेलीहरू पेश गरिए ।
‘प्रधान हुनु त मुखियाजी जस्तो !’ सेवा सत्कारबाट अति प्रसन्न एक वरिष्ठले भोलिपल्ट बिहान कुवेरसिंसँग भन्यो । ‘आज पनि बस्नुभयो भने अरू नयाँ स्वाद चखाउनेछु सर ! बस, काम हुनुपर्यो । यो कुवेरसिंको राज्य हो ! यहाँका जनता मेरो अगाडि शिर ठाडो गरेर बोल्दैनन् ।’ कुवेरसिंले हाँस्दै भन्यो ।
दिउँसो कमलमाथि लगाइएको आरोपको विषयमा छानबिनको काम सुरु भयो । ‘यो जीटीयू आफूलाई जे मनमा आयो त्यही गर्छ । मेरो निर्देशनको वास्तै गर्दैन । किसानको घरदैलोमा हुनुपर्ने तर कुनै किसानले चिन्दैन । मैले उसलाई गाउँमै बसेर काम गर्नोस् भनी कति सम्झाएँ तर टेरपुच्छर लाएन । कैले गाउँ छोडी कसैको गोठका गोठालाहरूसँग बस्छ त केले कसैको गोठमा पुग्छ । सिधासाधा गोठालाहरूलाई गोर्खा भर्ती र पञ्चायतको विरुद्ध नराम्रा कुराहरू सिकाउँछ । सिधासाधा गोठालाहरूलाई उचाल्छ । जुन थालमा खायो त्यही थालमा आची गर्ने ? राजाको सिन्दूर लाएपछि जथाभावी गर्न पाइन्छ ? यसलाई जागिरबाटै हटाउनुपर्छ । सर्पलाई दूध खुवाएर पाल्यो भने आफैलाई डस्छ ।’ टोली समक्ष बयान दिँदै कुवेरसिंले भन्यो ।
छानबिन समितिले कुवेरसिंले भने बमोजिमकै रिपोर्ट तयार गरी पेश गर्यो । स्पष्टीकरणहरू सोधियो । कमलको जागिर धरापमा पर्ने अवस्था आयो । उसलाई जिल्लास्थित कार्यालयबाट चौबिस घण्टाभित्र उपस्थित हुने आदेश आयो । कमल आदेशको पालना गर्दै कृषि कार्यालय पुग्यो ।
कृषि कार्यालयको पियन गोपीनाथ कमललाई निकै माया गर्दथ्यो । कमलको जागिर धरापमा पर्न सक्ने अवस्था आएकोमा ऊ चिन्तित थियो ।
‘बल्लबल्ल पाएको जागिर गुमाउनु हुन्न सर । अहिलेसम्म कुरा बिग्रिसकेको छैन । कसैगरी हाकिम साहेबलाई मनाउन पर्यो । उनलाई मनाउन सके सबै ठीक हुन्छ । नराम्रो मान्नुहुन्न भने म एउटा सल्लाह दिन्छु । मान्ने नमान्ने सरको विचार ! यी गिद्ध सिनोका भोका हुन् । सिनो भेटे जहाँ पनि पुग्छन् । सिनो खाएर डकारेपछि वायु बोलेभैmँ फटाफट बक्न थाल्छन् । सानो जागिर भए पनि अनुभव धेरै गरेको छु मैले । हाकिम साहेवले खर्दारसापको कुरा सितिमिति काट्दैनन् । सरले साँझ रेस्टुरेन्टमा पार्टीको आयोजना गर्नोस् र त्यहाँ हाकिम साब र खर्दार केदारलाई बोलाउनुस् । काम बन्छ भने कोरीको पनि पाऊ मोल्नु भन्ने उखानै छ सर !’
गोपीनाथको कुरा सुनेपछि कमल सोचमग्न भयो । ‘हाकिम साहेब मैले रेस्टुरेन्टमा बोलाउँदा आउलान् र ?’ क्षणिक मौनतालाई तोड्दै उसले भन्यो ।
‘मैले भने नि सर ! जुकालाई शरीरको गन्ध सुँघाएर हेर्नोस् न के हुन्छ ! पहिले खर्दारसापलाई मनाउनोस् । उसले भनेपछि जहाँ पनि जान्छन् हाकिम ।’
कमलले गोपिनाथले भनेझैँ गर्यो ।
‘तपाईंहरूसँग एकसाथ बसेर खाने मेरो धोको, धोको नै बनेर रह्यो । म आज साँझ डिस्को डान्स बारमा सानो डिनरको आयोजना गर्न चाहन्छु । यसलाई अन्यथा नमानी तपाईं र हाकिम साहेव आइदिनु पर्यो । म तपाईंहरूकोे प्रतीक्षा गरिरहेको हुनेछु ।’ कमलले केदारसँग भन्यो ।
‘ठीक छ, म एक पटक हाकिमसाबसँग कुरा राख्छु । मैले अनुरोध गर्ने हो । जाने नजाने उहाँँको विचार ।’ केदारले जवाफ दियो ।
कमलले भनेका कुरा केदारले प्रमुख कृष्णदाससँग राख्यो । अन्ततः गोपिनाथ मन्त्रले चिताए अनुसारको काम गर्यो । हाकिम कृष्णदास र केदार निम्तो मान्न डिस्को डान्स बार जाने भए ।
भर्खरभर्खर खुलेको भए पनि डिस्को डान्स बार सहरका धनाढ्य, नवधनाढ्यहरूको रात्रि जीवनको अभिन्न अङ्ग बन्दै थियो । साँझको सात, आठ बज्दा नबज्दै त्यहाँ खल्ती गरम भएका कर्मचारीहरू र सम्भ्रान्तहरूको जमघट हुन्थ्यो ।
डान्स बार चारैतिरबाट अग्लो कम्पाउन्डले घेरिएको थियो । बारको बीच भागमा सुन्दर बगैँचा थियो । चारैतर्फ रङ्गीबिरङ्गी फूल र ताराभैmँ पिलपिल बल्ने बत्तीहरू झकिझकाउ थिए । बाहिर छाता आकारको बाँस र खरको छानामुनि गोलाकार टेबुल र लहरै कुर्सीहरू राखिएको थियो । भित्रपट्टि अलग अलग क्याबिन थिए ।
रात छिप्पिँदै गएपछि बार मादकताले मदहोश भर्ई लट्ठिन्थ्यो । धनाढ्यहरू धक फुकाएर नाच्न थाल्थे । पाश्चात्य आधुनिकता जुर्मुराएर उठ्थ्यो । पुरानो चिजमा मोहभङ्ग हुन्थ्यो । नयाँ स्वाद लिने जिब्रो लपलपाउँथ्यो । मोजबिनाको धन के धन ! नखाएको वस्तु पो खानु । नपिएका पेय पो पिउनु । नसुतेको पलङ्मा पो सुत्नु । नचुमेका ओठ पो चुम्नु । नउडेको उडान पो उड्नु । नछोएको गहिराइ पो छुनु । नयाँ भनेको नयाँ नै हो । नयाँ स्वादको नयाँ आनन्द । मन–मस्तिष्कमा नयाँ तरङ्ग ।
यस्तो प्रतीत हुन्थ्यो, सम्भ्रान्तहरू रोमान्सको नयाँ रिसर्च गरिरहेछन् । विशुद्ध विज्ञानको जस्तै । मादकताले लाजसर्मको सीमान्त विन्दु पार गराएको कसैलाई पत्तै हुन्थेन । ‘युरोपियनहरूले भोक तृप्तिको यो आधुनिक डिजाइन त्यसै चुनेका होइनन् !’ मस्तीमा दङ्ग भद्र, प्रतिष्ठित’ ग्राहकहरू भन्थे ।
साँझको साढे सात बजेतिर केदार बारभित्र छिर्यो र सामान्य निरीक्षण गरेर निस्कियो । त्यसको केहीबेरमै कृष्णदास र केदार एकसाथ बारभित्र भित्रिए । कमलले स्वागतका साथ दुवैलाई गार्डेनको क्याबिनमा लगेर राख्यो ।
उनीहरू बसेका मात्र के थिए एउटी बीस बाइस जतिकी केटी दगुर्दै आइपुगी । उसलाई सबैले ‘गोरी’ भनेर बोलाउँथे । छरितो जिउडाल, पुष्ट निधार, मृगकाजस्ता नयन, सुलुत्त परेको नाक, परिपुष्ट वक्षस्थल, घुँडासम्म आउने मिनिस्कट लगाएकी गोरी बारमा सबैको रोजाइको विषय बन्थी । गोरीको विवाह पोहोर साल मात्र भएको रे । लोग्ने धन कमाउन भनी विदेश गएको थियो । आठ कक्षा मात्र पढेकी गोरी स्याङ्जाबाट जागिरको खोजीमा पोखरा आइपुगी । ऊ खाईलाई दिनको पाँच सय पाउने गरी डान्स बारमा काम गर्न थाली ।
कृष्णदासलाई देख्नेबित्तिकै गोरी मुस्कुराई । ऊ लाडिँदै कृष्णदासको काखमा गएर लाजै नमानी थ्याच्च बसी । उसले ‘के छ मेरो बूढा भन्दै कृष्णदासको गाला चिमोटी ।’ यसबाट कृष्णदास र गोरीको चिनाजान पुरानै रहेछ भन्ने सजिलै अनुमान लगाउन सकिन्थ्यो ।
यहीबीचमा कमलले अप्ठ्यारो मान्दै सोध्यो ‘सरले माइन्ड गर्नुहुन्न भने तातो चिसो केही मगाऊँ ?’
‘मैले खाइदिएर तपाईं खुसी हुनुहुन्छ भने ठीकै छ तर आज भने म बियर खाने । निकै गर्मी भइरहेको छ ।’ कृष्णदासले भन्यो ।
कमलले दुई बोतल बियर र आफ्ना लागि एक गिलास कोकाकोला मगायो । साथमा केही स्न्याक्सहरूको अर्डर दियो ।
अर्डर अनुसारका खानेकुरा आइपुग्यो । कमलले कोकको बोतल हातमा लियो । उसले कोक पिउन लागेको देखर कृष्णदासले असहमति जनायो । ‘हामीलाई चाहिँ जँड्याहा सम्झेको । कि तपाईंलाई पनि बियर मगाउनोस् नत्र हामी पनि कोक पिउँछौँ ।’ उसले भन्यो ।
बनेको वातावरण नबिग्रियोस् भनेर कमलले गोरीसँग आफ्ना लागि पनि थप एक बोतल वियरको अर्डर गर्यो । गोरीले कृष्णदाससँग मस्किँदैै भनी ‘अनि कान्छी श्रीमतीको माया लाग्दैन कि क्या हो ? मेरो भाग खै त ?’
‘आमै गोरीको माया नलागे कसको लाग्ने ! के भनेकी त्यस्तो ? तिमीलाई जे मन लाग्छ त्यही ल्याउ ।’ कृष्णदासले भन्यो । गोरीले केही बेरमा आफ्ना लागि पनि दुई वटा बियर लिएर आई । गोरीले एकैसाथ चारवटा गिलासमा बियर खन्याई अनि ‘पहिलो चुस्की मेरो बूढालाई’ भन्दै कृष्णदासलाई पिलाई । त्यसपछि मात्र आफूले पिई ।
एक एक गर्दै बियर थपिँदै र नसाको पारो चढ्दै गयो । नसाको पारो जतिजति चढ्दै जान्थ्यो, गोरी कृष्णदासको नजिकनजिक खिचिँदै जान्थी । घुट्कोघुट्कोमा देहको गर्मी बढ्दै गयो, उत्तेजना उम्लँन थाल्योे ।
केही समयपछि कृष्णदास र गोरी माथिल्लो तलामा उक्लिए । पलभरमैँ दुईबीचको दूरी मेटियो । कृष्णदासले गोरीका ओठहरू पियो । कामुकता छचल्केर पोखियोे । प्यासी अङ्गहरूको पर्खाइ सिद्धियो ।
कृष्णदास तृप्तिको मीठो सास फेर्दै ‘फेरि चाँडै भेटौँला’ भन्दै बन्द कोठाबाट बाहिर निस्कियो ।
जुन उद्देश्यका लागि कमलले कृष्णदासलाई डान्स बारमा बोलाएको थियो, अझसम्म उसले त्यस कुराको उच्चारणसम्म गर्न पाएको थिएन । माथिबाट ओर्लेर कृष्णदास बाहिर निक्लन हतारियो । कमलले केदारको मुखमा पुलुक्क हेर्यो । केदारले कुरा बुझिहाल्यो । ‘ठूला मानिसहरू धेरै बोल्दैनन् । उनीहरूको सानो इसाराबाटै धेरै कुरा बुझ्नुपर्छ ।’ कमलले भन्यो ।
केदारको भनाइकोे परिभाषा खोज्दैै कमलले बिल चुक्ता गर्योे । छुट्टिने बेलामा कृष्णदासले कमललाई यति मात्र भन्यो– ‘आफूबाट गल्ती भएकाले एक पटकलाई माफी पाउँ भनी निवेदन लेख्नु ।’
कमलले त्यसै गर्यो ।
त्यसको एक हप्ता बित्दानबित्दै उसले ‘आइन्दा यस किसिमको कार्य गरे कडा कारबाही गरिने भन्दै एक पटकलाई क्षमा दिइएको ब्यहोराको पत्र पायो । उसको कार्यक्षेत्रको स्थानान्तरण कुवेरसिंको गाउँबाट सदरमुकाम नजिकैको सुगम ठाउँमा भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता