शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यो ‘ढटुवा’ सरकार होइन, जे बोल्छ त्यही गर्छ : मन्त्री बाँस्कोटा

शुक्रबार, २७ भदौ २०७६, २१ : ०८
शुक्रबार, २७ भदौ २०७६

काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता दिन सरकार देश निर्माणको महाअभियानमा व्यस्त रहेको बताएका छन् ।

शुक्रबार पनौती नगरपालिकास्थित लाकुरीभञ्ज्याङ–पनौती–नमोबुद्ध सडक स्तरोन्नति कार्यको शुभारम्भ तथा कुशादेवी माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्तीर्णलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार गत वर्ष बनाएका योजना सञ्चालनमा व्यस्त रहेको र यस वर्षदेखि सरकारले नतिजा दिने बताए ।

उनले भने, “हामी देश निर्माणको महाअभियानमा छौँ, त्यस कारण पनि अब सरकारको कामको नतिजा देखिँदै जानेछन् ।” मन्त्री बाँस्कोटाले कुनै पनि देश एकैपटक, एकै वर्षमा नबनेको उल्लेख गर्दै सरकारले छोटो समयमा हालै मात्र योजना सम्पन्न भएको उदाहरण ‘पाइपलाइन तेल’ आयातलाई लिन आग्रह गरे । 

“गत वर्ष बनाइएका योजनाअनुरुप यस वर्ष क्रमैसँग ठूला–ठूला योजना कार्यान्वयन हुँदै जानेछन्, केही योजनाको प्रतिफल यसै वर्ष पनि देखिनेछ”, उनले भने। मन्त्री बाँस्कोटाले वर्तमान सरकार अरुजस्तो ‘ढटुवा’ सरकार नभएको दाबी गरे । 

“हामी जे बोल्छौँ, त्यही गर्छौैं, हामीलाई कसैको आलोचनाले हाम्रो महाअभियानमा फरक पर्दैन”, उनले भने । सरकारको सङ्कल्प ‘विकासदेखि विकाससम्म’ मात्रै भएको उल्लेख गर्दै सरकारको कामप्रति उत्साहजनक प्रतिक्रिया आइरहेको उनले बताए। 

प्रदेश नं ३ का प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईले जनप्रतिनिधिले निर्वाचनका वाचा पूरा गर्दै गएकाले आउँदो निर्वाचनमा जनताले आफैँ थप योजना दिने अवस्था सिर्जना हुने दाबी गरे । 

प्रदेश नं ३ स्थित पूर्वाधार विकास कार्यालयको रु ३३ करोड ८३ लाखको लागतमा स्तरोन्नति हुने उक्त १६ किलोमिटर सडक आउँदो विसं २०७७ फागुन महीनामा सक्नुपर्ने सम्झौता गरिएको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप