शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी सम्पतिको कन्तबिजोग !

करोडौंको भवनमा माकुराको जालो, भँगेरा र भुस्याहा कुकुरको बास
शुक्रबार, २७ भदौ २०७६, १६ : ००
शुक्रबार, २७ भदौ २०७६

पोखरा– नागरिक उड्यन प्राधिकरणको पोखरामा भवन छ । भवन पाँच तले छ । ०७३ मा निर्माण सम्पन्न भएको उक्त भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन बनाइएको प्राधिकरण बताउँछ । व्यापारिक प्रयोजनका लागि बनाइएको उक्त भवन अहिले खाली छ । भवनका कुनै पनि सटर अहिलेसम्म व्यापारिक प्रयोजनका लागि प्रयोग भएका छैनन् । बरु, भुस्याहा कुकुर र चराचुरङ्गीका लागि बस्ने ठाउँ बनेको छ । भवनका सटर र च्यानल गेट खिया लाग्दै गएका छन् । झ्यालका सिसा ठाउँ ठाउँमा फुटिसकेका छन् । फुटिसकेको भन्दा पनि कसैले फुटाएको जस्तो देखिन्छ । सिँढीका मार्वल पनि ठाउँ–ठाउँमा फुटेका छन् । 

यो सबै देखिसके पछि थाहा हुन्छ कि सरकारी सम्पतिको कतिसम्म दुरुपयोग भएको छ । पोखरा महानगरपालिका १७ मुस्ताङचोकमा पर्ने उक्त भवन निर्माण सकिएको ठ्याक्कै ४ वर्ष पुग्यो । ४ वर्षमा नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको पोखरा विमानस्थल कार्यालयले भवन भाडामा लगाउनका लागि ५ पटक सूचना निकालिसक्यो । तर, सटर भाडामा लिनका लागि एउटै व्यापारीकोे पनि निवेदन परेको छैन ।

पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलकाअनुसार भवन भाडामा लगाउनका लागि विमानस्थलले पहिलोपटक ०७३ साउन १२ मा सूचना निकालेको थियो । पहिलो पटकको सूचनामा कसैको आवेदन नपरेपछि विमानस्थलले १८ भदौमा दोस्रो सूचना निकाल्यो । दोस्रोपटक सूचना निकाल्दा समेत कसैको आवेदन परेन । 

भवन लिनका लागि कसैको आवेदन नपरे पनि विमानस्थलले सूचना प्रकाशित गर्न भने छाडेन । तेस्रो पटक कात्तिक १ मा सूचना निकाल्यो । तेस्रो पटकको सूचनामा पनि कसैको आवेदन परेन । तेस्रो पटकमा पनि निवेदन नपरेपछि चौथोपटक फागुन १ मा अर्को सूचना निकाल्यो । यसरी एक वर्ष भित्रमा चार–चारपटक सूचना निकाले पनि भवनमा कसैले हक दाबी गर्न आएनन् । 

चार–चार पटकसम्म सूचना निकाल्दा समेत भवन भाडामा नगए पनि विमानस्थलले हार मानेन । पाँचौ पटक ०७५ फागुन ४ मा सूचना निकाल्यो । तैपनि कसैको आवेदन परेन । पाँच पटकसम्म सूचना निकाल्दा पनि आवेदन नपरेपछि विमानस्थलले सूचना निकाल्न छाड्यो । विमानस्थलले सूचनासँगसँगै भवन भाडामा नगएपछि विमानस्थलले भवनको पनि वास्ता गर्न छाड्यो । भवनको अघिपछि थुप्रिएको फोहोर, फुटेका सिसाका बोत्तल, भित्तामा कोरिएका अनावश्यक पेन्टिङ, जथाभावी फालिएका भुत्रा कपडा र फुटेका सिढी, झ्यालले यो सब प्रस्ट्याउँछ । 

बढ्दो जनसंख्या बृद्धिले भवन अभाव भईरहँदा बजारकै बीचमा पर्ने सरकारी भवन भने भाडामा जान सकेको छैन । खाली छ । भवनमा सामान्य ५ सटर छन् । अन्डरगग्राउन्डसहित भवन ५ तलाको छ ।  पोखरामा भवन भाडामा लिने, लगाउने व्यापार गर्दै आएका व्यापारीहरु भने उक्त भवनको भाडादर महँगो भएकाले भाडामा नगएको बताउँछन् । ‘पोखरामा चलेको भन्दा बढी रेट भयो त्यसैले लिएनौ,’ पोखरामा लामो समयदेखि भवनको कारोबार गर्दै आएका एक व्यापारीले भने । नाम उल्लेख नगर्ने सर्तमा अर्का व्यापारीले रातोपाटीसँग भने, ‘ऐन पनि सेटिङमै बन्ने त हो । आफ्ना नजिककालाई भाडामा लगाउन महँगो भाडादर तोकिएको हो ।’ पोखरामा भवनको अभाव भएपनि उक्त भवनको भने भाडादर महँगो भएको उनले सुनाए । 

हामीले यस विषयमा विमानस्थलका सूचना अधिकारी पौडेलसँग प्रश्न राख्यौ । सूचना अधिकारी पौडेलले प्रतिमिटर स्क्वायर ३ सयका दरले मात्रै भाडामा लगाउन पाइने ऐनमै प्रष्ट उल्लेख गरिएको जानकारी दिए । ‘ऐनभन्दा बाहिर गएर त कहाँ काम गर्न मिल्छ,’ उनले भने, ‘ऐनमा त्रिभुवन विमानस्थल बाहेकका क्षेत्रीय विमानस्थलका भवनमा ३ सय रुपैयाँ प्रति स्क्वायर मिटरका दरले मात्रै भाडामा लगाउन मिल्छ । यो कुरा ऐनमै छ ।’ विमानस्थलका सूचना अधिकारी पौडेल भने भवनको समायावधि कम राखिएकाले भाडामा नगएको तर्क राख्छन् । 

उनका अनुसार ऐनअनुसार भवन ३ वर्षका लागि मात्रै टेन्डरमा लगाउन मिल्छ । ३ वर्षपछि नयाँ टेन्डर निकाल्नुपर्छ । व्यापारिहरुले मिनिमम १० वर्षका लागि पाए भाडामा लिने इच्छा देखाएको उनले सुनाए । 
सूचना प्रकाशित भैसकेपछि आएका व्यापारीहरुले समयावधी कम भएकाले भाडामा नलिएको उनको भनाई छ । पाँचपटक सूचना निकाल्दा पनि भाडामा नगएपछि आफूहरुले सूचना निकाल्नै छाडेको उनले सुनाए । कम्तिमा पनि भवनको भाडामा दिने समयावधि १० वर्ष बनाउन सके भवन भाडामा जाने उनको तर्क छ । 

‘ऐनले नै ३ वर्षका लागि भने तोकेको छ,’ उनले भने, ‘कम्तिमा पनि १० वर्षको समयअवधी तोकिदिन पाए भवन भाडामा जान्थ्यो । व्यापारीहरुले पनि समयअवधी कम भएको गुनासो गर्नु भएको थियो ।’ भवन भाडाको समयावधी कम भएर भाडामा नभएपछि ऐन सच्याएर समय बढाउन केन्द्रमा माग गर्दै पत्र पठाएको उनले सुनाए ।

जम्मा १३ सय १४ दशमलव ९३ स्क्वायर मिटरको उक्त भवनलाई भाडामा लगाउँदा मासिक ३ लाख ९४ हजार ४ सय ७९ पर्न जान्छ । भवन निर्माणको लागि ६ करोड चानचुनको लागत रहेको विमानस्थल बतााउँछ ।  भवन भाडामा नगए पनि भवनको संरक्षण त गर्नुपथ्र्यो । संरक्षण किन गर्नुभएन ? हामीले पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंलाई प्रश्न राख्यौ । जवाफमा उनले भने, ‘होइन हामीले संरक्षण गरि रहेका छौं । पुलिस प्रशासन पनि लागिरहेको छ । कहिलेकाही रातीमा बद्मासहरुले फुटाउने हुन् । हामी विमानस्थल र पुलिस प्रशासन संरक्षणमा लागि रहेका छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप