अस्पतालद्वारा मृत घोषित शिशु दाहसंस्कारमा लैजाँदा चल्मलाएपछि...

बाँके– सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो ।
अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइयो । शिशु जन्मिएपछि खुशी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारी गर्न थाले ।
छेडागाड नगरपालिका–९ जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएपछि मिलनले अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलायो । ‘प्रसूतिकक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलोथिनमा राखेर दिए, दुःखी हुँदै हामी पनि सतगद् गर्न बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौँ’, घटनाको विवरण सुनाउँदै मिलनले भने, ‘ज्यूँदो बच्चालाई मृत घोषित गर्दै अस्पतालले गाड्न पठायो, यो अस्पतालको चरम लापरवाही हो कारवाही गरिनुपर्छ ।’
उनले मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग रु दुई हजार रकमसमेत माग गरेको बताए । ‘एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ, त्यसैमा अस्पताल कर्मचारीले हामीसँग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ, यो कहाँको कानून हो ?, कर्मचारीले कपडा धोएको रु ५०० र बच्चालाई गाडेको रु एक हजार ५०० गरी रु दुई हजार मागेपछि हामी आफैँ गाड्छौँ भनेर लैजाँदै गर्दा बच्चा चल्मलायो’, मिलनले भने ।
शिशुलाई अहिले आइसीयूमा भर्ना गरिएको छ । सो अस्पतालको रेकर्डअनुसार कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो । सकुशल जन्मिएको शिशुको तौल ६०० ग्राम रहेको छ । गर्भवती भएदेखि नै अस्पतालकी डा.उर्मिला पराजुली रिसालसँग नियमित जाँच गरिरहेकी कमला जाँचकै लागि बिहीबार नेपालगञ्ज आएकी थिइन् ।
नवजात शिशुलाई भेरी अस्पताल प्रसूतिकक्षमा कार्यरत कर्मचारीको चरम लापरवाहीका कारण मृत घोषणा गरेपछि पीडितहरुले दोषीलाई कारवाहीको माग गरेका छन् । मिलनले भने, ‘यसअघिको हाम्रो बच्चा खेर गयो, सन्तानको नाममा पहिलो शिशुका रुपमा छोरी पाएका थियौँ, अस्पतालका कर्मचारीका कारण ज्यूँदै बच्चालाई गाड्न लगाइयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा