केन्द्रीय संस्करण
समाचार

कोठी नम्बर ६४ : पचासभन्दा बढी नेपाली युवती, सञ्चालिका पनि नेपाली नै

दिल्लीको वेश्यालयको कथा (भिडियोसहित)

person explore access_timeभदौ २७, २०७६ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

केही समयअगाडि मात्रै दिल्लीको जीबी रोडस्थित कोठी नम्बर ६४ बाट नेपालगञ्जकी एक युवतीको उद्धार गरिएको थियो । आफ्नै प्रेमीले श्रीमती बनाएर दिल्ली पुर्याई बेचिएकी एक युवतीलाई उद्धार गरिएपछि हामी दिल्ली पुगेका थियौँ ।

फेसबुकबाट चिनजान भएका युवकसँगै प्रेम हुँदै श्रीमती बनाउँछु भनेर दिल्ली पुर्याएका युवकले युवतीलाई पहिले फ्ल्याट र पछि कोठीमा नै बेचेपछि उनलाई उद्धार गरिएको थियो । ती युवतीलाई कोठीमा जबरजस्ती यौनधन्दामा सामेल गराइएपछि उनकै उजुरीको आधारमा उनलाई उद्धार गरियो । उनले कोठी नम्बर ६४ को कथा सुनाएपछि हामी दिल्ली पुगेका थियौँ ।


रातोपाटीको टोली दिल्लीमै पुगेर कोठीबारे रिपोर्टिङ गर्ने तयारीका साथ भारत पुगेको थियो । कोठीबारे नेपाल प्रहरी, पहिले कोठीमा बेचिएका केही युवतीसँग कुराकानी गरेपछि स्पाई भिडियो गर्ने तयारीका साथ दिल्ली पुगेको थियो ।

कोठी नम्बर ६४ मा नेपाली युवतीहरु छन् र त्यो कोठी नेपालीले नै सञ्चालन गरेको हो भन्ने सामान्य जानकारी आएको थियो ।

त्यसै कोठीबारे रिपोर्टिङ गर्ने र गोप्यरूपमा भिडियो खिच्ने तयारीका साथ हामी त्यहाँ पुग्यौँ ।

जीबी रोड र कोठीमा पनि लुटपाट हुने सूचना हामीलाई थियो । त्यसैले हामी मोबाइल र पर्स होटलमा नै राखेर ७ सय भारतीय रूपैयाँ मात्रै बोकेर जीबी रोड पुग्यौँ । हामीलाई ६४ नम्बर ब्लक मात्रै भनिएको थियो । त्यसबारे थप अरू केही जानकारी थिएन ।

कोठीमा जे देखियो

पहिलो दिन हामी ६४ नम्बरको कोठीमा प्रवेश गर्यौँ । अँध्यारो गल्लीबाट भित्र छिर्ने बित्तिकै फिल्महरुमा देखाइने राक्षसी प्रकृतिका डरलाग्दा महिलाहरु देखिए । म अलमलमा परेको देखेर होला मलाई भित्र बालाएर तान्न खोजे । मैले नेपाली केटी छ भनेर सोधेपछि ‘छ–छ’ भन्दै भित्र लगियो । भित्र लगिएपछि पहिले पैसा मागे । कति हो भनेर सोधेपछि उनीहरुले कति पैसा छ भनेर सोधे । मैले ४ सय छ भनेपछि उनीहरुले त्यो पैसा दिन भने । मैले त्यो सञ्चालिका जस्तो देखिने महिलालाई ४ सय रूपैयाँ दिएँ । उनले ‘लड्की’लाई पनि टिप्स दिन भनिन् । मैले हुन्छ भने ।

फोटो : ६४ नम्बर कोठीको पहिलो तल्लाकी सञ्चालिका 

त्यसपछि ती सञ्चालिकाले एक तेस्रो लिङ्गीलाई म भएको स्थानमा पठाइन् । मैले नेपाली केटी चाहिन्छ भनेपछि तिनी रिसाएर गइन् । फेरि ती सञ्चालिका आइन् र के भयो भनेर सोधिन् । मैले नेपाली लड्की चाहियो भनेपछि उनले थप पैसा लाग्ने बताइन् । मैले टिप्स दिन्छु तर धेरै पैसा छैन भने । ती महिलाले मेरो खल्ती नै छामिन् । खल्तीमा थप २ सय भारतीय रूपैयाँ र केही खुद्रा पैसा भेटिन् । यो पैसा लड्कीलाई टिप्स दिनु भन्दै दुई सय रूपैयाँ छाडेर बाँकी सबै पैसा पनि उनले लगिन् ।

त्यसपछि एक नेपाली युवती आइन् ।


‘सोल्टी तिमी हो ?’ ती युवतीले प्रश्न गरिन् । मैले आफू नै ग्राहक भएको बताएँ । उनी सरासर त्यो अँध्यारो कोठाभित्र छिरिन् र टिप्स मागिन् । मैले एक सय रूपैयाँ दिएँ । तर उनले त्यो पैसा फलिन् र उठेर जान खोजिन् । मैले यत्ति मात्रै छ भनेर अर्को एक सय रूपैयाँ पनि दिएँ । त्यसपछि उनले सरासर आफ्नो वस्त्र खोलिन् ।

मैले केही गर्न नभएर बोर लागेर घुम्न मात्रै आएको बताएपछि उनी केही सम्हालिइन् । मैले केही समय गफ गर्छु र जान्छु भनेपछि उनी तयार भइन् ।

तस्वीर : ६४ नम्बर ब्लकको पहिलो तल्लामा भेटिएकी नेपाली युवती

त्यसपछि उनले आफ्नो लुगा लगाइन् र मसँग कुरा गर्न थालिन् । दिल्ली किन आएको भनेर प्रश्न गर्न थालिन् । मैले कामको सिलसिलामा आएको र अर्को एक महिना दिल्लीमै बस्ने कुरा बताएँ ।

सानो कोठामा ठूलो फ्यानको आवाजले हाम्रो कुराकानी गोप्य क्यामेरामा रेकर्ड हुने सम्भावना ज्यादै कम थियो । मैले ‘कान कम सुन्छु र चिसो लागेको छ’ भन्दै फ्यान बन्द गर्न लगाएँ । उनले आफ्नो घर पूर्व रहेको बताए पनि उनले थप केही कुरा बताउन चाहिनन् ।

मैले यसको सञ्चालिका पनि नेपाली नै होइन भनेर सोधेँ । उनले यो भारतीयले नै चलाएको भन्दै नेपालीले चलाएको र नेपाली मात्रै भएको कोठी एक तल्ला माथि रहेको बताइन् । उनले भनिन्, ‘त्यसो भए आज माथि जाऊ र हेर सोल्टी, अनि भोलि पर्सितिर आए भैगयो नि त ।’ त्यसपछि ती युवतीले मलाई एक सय रूपैयाँ फिर्ता दिइन् भने एक सय रूपैयाँ आफैसँग राखिन् ।



...

त्यसपछि हामी माथिल्लो तल्लामा पुग्यौँ । त्यहाँ भने माहोल फरक थियो । करिब ५० जना युवतीहरु शृङ्गार पटार गरेर ग्राहकलाई कुरिरहेका थिए । त्यहाँ ग्राहकको पनि भीड थियो । ग्राहकहरु आउने र जाने क्रम चलिरहेको थियो । यद्यपि त्यहाँ भने हामीलाई न कसैले केही सोध्यो, न त कसैले जबरजस्ती नै गर्यो ।

तस्वीर : दोस्रो तल्लाकी सारी लगाएकी सञ्चालिका ।

हामी अर्को दिन फेरि आउने निर्णय गरेर त्यस दिन फर्कियौँ ।

दोस्रो दिन साँझ करिब ६ बजे हामी फेरि त्यही कोठीमा पुग्यौँ । त्यसपछि करिब आधा घण्टा त्यहाँको माहोल हेर्यौँ ।

सुन्दर युवतीहरु ग्राहकसँग भित्र जाँदै–आउँदै गर्दै थिए । ग्राहकले युवती छानेपछि ३ सय ५० रूपैयाँ फिक्स्ड रेट तिर्थे । अनि युवतीले अँध्यारो कोठाको बाहिर बनाइएको खोपामा राखिएको कपडा, पत्रिकाको कागज र कण्डम बोकेर भित्र जान्थे ।

हामीले करिब आधा घण्टा गोप्यरूपमा बाहिरको दृश्य लिएपछि हामीले पनि एक युवतीसँग कुराकानी गर्ने सोच बनायौँ ।

हामीले किशोरीलाई नै ३ सय ५० रूपैयाँ दियौँ । किशोरीले त्यो पैसा सञ्चालिकालाई दिइन् । भित्र कोठा ‘प्याक’ भएकाले केही समय हामी बाहिर नै बस्नुपर्यो । करिब १० मिनेटपछि हाम्रो पालो आयो र हामी भित्र गयौँ ।

अघिल्लो दिनको जस्तै त्यस दिन पनि भित्र जानेबित्तिकै ती किशोरीले आफ्नो कपडा खोल्न थालिन् । हामीले केही गर्न नभएर नेपालीसँग कुराकानी नै गर्न नपाएकाले कुराकानी गर्न मात्रै आएको बतायौँ ।

ती किशोरीले ‘केही नगर्ने भए किन आएको त’ भन्दै हामीलाई गाली गरिन् र आफ्नो लुगा लगाइन् । अनि ती किशोरीले ‘म १० मिनेट सुत्छु बाहिर नजा है’ भनिन् । हामीले हुन्छ भन्यौँ । उनी सुत्न थालिन् । यद्यपि हामीलाई कुराकानी गर्नुथियो ।

अनुहारमा डर र त्रास भएकाले ती किशोरीले केही बोल्छिन् होला भन्ने हामीलाई लागेको थियो । तर उनी केही बोल्न तयार थिइनन् ।

कति वर्ष भयौ भनेर ३ पटक सोधेपछि मात्रै उनले २६ वर्ष भनिन् । जबकि उनको उमेर १७, १८ वर्षको जस्तो देखिन्थ्यो । यहाँ आएको कति वर्ष भयो भनेर अर्को प्रश्न गर्यौँ । 

५ वर्ष । उनले छोटो जवाफ दिइन् ।

हामीले उनको नाम सोध्यौँ । धेरै पटक सोधेपछि मात्रै उनले आफ्नो नाम उर्मिला भएको बताइन् । यद्यपि यो उनको असली नाम थिएन ।

अनि हामीले नेपालको ठेगाना पनि सोध्यौँ । उनी केही नबोली बसिरहिन् । धेरै पटक सोधेपछि घर पूर्व रहेको बताइन् । तर थप केही कुरा बोल्न चाहिनन् ।

करिब १० मिनेट हामी उनीसँगै एउटा सानो अँध्यारो कोठामा रह्यौँ । उनी सुत्दा पनि पटक पटक झस्किएकी थिइन् । १० मिनेट सुत्छु बाहिर नजानु भन्नुको कारण पनि उनी थकित थिइन् । तर उनका सञ्चालिकाको डर र त्रास कायम नै थियो । त्यसकारण उनी पटक पटक तर्सिएकी थिइन् ।

हामीले उनीसँग कुराकानी गर्ने प्रयत्न गरे पनि ती किशोरीले बोल्न नमानेपछि हामीले थप केही कुराकानी गर्न सकेनौँ ।

हामीमाथि सुरक्षा खतरा पनि हुने भएकाले हामीले आफूहरु पत्रकार रहेको कुरा पनि भन्न सक्ने अवस्थामा थिएनौँ । त्यसकारण हामी जति हुन्छ भिडियो लिएर बाहिर निस्कियौँ ।

हाटबजारमा तरकारी छानेझैँ रोजीरोजी युवती

नेपाली किशोरी वा युवतीहरुलाई विभिन्न बहाना बनाएर दिल्ली पुर्याउने र कोठीमा बेच्ने गरिएको धेरै उदाहरण छन् । जीबी रोडको कोठी नम्बर ६४ मा करिब ५० जना नेपाली किशोरी र युवतीहरु छन् ।शृङ्गारपटार गरेर ग्राहकको पर्खाइमा उनीहरु बसिरहेका हुन्छन् । त्यहाँ पुग्ने ग्राहकले मन परेको कुनै युवतीलाई रोज्छ । अनि एक पटक ती किशोरी वा युवतीसँग यौन सम्पर्क गरेबापत ग्राहकले पहिले नै ३ सय ५० रूपैयाँ भारतीय रूपैयाँ तिर्नुपर्छ । युवती छानेपछि साहुनीलाई ३ सय ५० रुपैयाँ तिरिन्छ । अनि युवती लिएर कोठीभित्रैकै एउटा सानो बेड भएको कोठामा लगिन्छ । बल्लबल्ल दुईजना छिर्न मिल्ने अँध्यारो कोठामा केही समय युवतीसँग समय बिताएपछि ग्राहकहरु बाहिर निस्किन्छन् । त्यो ग्राहकको समय त सकिन्छ, तर कोठीमा रहेका युवतीहरुले २४सै घण्टा यस्तै ग्राहकहरुका लागि काम गर्नुपर्ने हुन्छ । कोठीको दैनिकी यही नै हो ।

पुराना युवती भए उनीहरुलाई मोबाइल बोक्ने र बाहिर जाने छुट पनि छ । तर यदि युवती नयाँ हो र भर्खरै मात्र कोठीमा ल्याइएको हो भने उनीहरुलाई त्यो कोठीको अँध्यारो कोठाबाट बाहिर निस्कने अनुमतिसमेत हुँदैन । उनीहरु नारकीय जीवन बिताउन बाध्य हुन्छन् ।

दिल्लीका जिबी रोडस्थित ब्लक नम्बर ६४ को दृश्य हेर्नुहोस् ।

भिडियो लिंक

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...