शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा पहिरो : आमाछोराको मृत्यु, पाहुना बस्न आएका ४ जना बेपत्ता भएको आशंका

शुक्रबार, २७ भदौ २०७६, १२ : १४
शुक्रबार, २७ भदौ २०७६

बुटवल-  रोल्पाको थवाङ गाउँपालिका –२ (साविक थवाङ गाविस ७) छेर्लोवाङमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएको आशंका गरिएको छ । 

बिहीबार र शुक्रबार बिहान परेको अविरल बर्षाका कारण छेर्लाेवाङ पहिरोले घर पुरिँदा २ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिला आर्चायका अनुसार थवाङ गाउँपालिका २ छेर्लाेवाङका २८ वर्षीया थीरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढामगरको मृत्यु भएको हो ।  

त्यस्तै पाहुना बस्न आएका अन्य चारजना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ । प्रहरी निरीक्षक आचार्यले रातोपाटीसगँको कुराकानीमा अहिलेसम्म आमा छोराको मात्र शव फेला परेको र  अन्य बेपत्ताबारे केही पत्ता नलागेको जानकारी दिए । पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन् ।

पहिरोमा बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको आचार्यले बताए । सदरमुकामबाट ७४ किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा जिल्लाबाट उद्दारको लागि जान कठिन छ । बर्षातका कारण सडक अवरुद्ध भएकाले हिँडेर पुग्न एक दिन लाग्ने प्रहरीको भनाई छ ।

स्थानीयबासीले राती करिव २ बजेतिर ठूलो अवाज आएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए । त्यतिबेला पहिरोले घर पुरिसकेको थियो । सो गाउँ एकान्त ठाउँमा रहेको प्रहरीको भनाई छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय थवाङ, प्रहरी चौकी खरिबोट रानागाउँ र स्थानीयवासीको सहयोगमा उद्दार कार्य जारी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप