बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डिजेल नभएपछि थन्किए विद्युत् प्राधिकरणका उपकरण

बिहीबार, २६ भदौ २०७६, २१ : ४५
बिहीबार, २६ भदौ २०७६

जुम्ला – जुम्लामा गत कात्तिक महीनादेखि विद्युत् सङ्कट भएपछि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको डिजेल प्लान्ट त्यसै थन्किएको छ । विद्युत् प्राधिकरणले डिजेल प्लान्ट उपकरण मात्र उपलब्ध गराएको र डिजेल उपलब्ध नगराएपछि उपकरण थन्किएको बताइएको छ ।

जुम्लाको विद्युत् सङ्कटका विषयमा संसद्मा ऊर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत्प्रा धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना भएपछि साउन २९ मा डिजेल प्लान्ट जुम्ला पुगेको थियो । 

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले प्रतिनिधिसभाको बैठकमा मन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बेवास्ता गरेको बताएका थिए। जुम्ला सदरमुकाम खलङ्गा महीनौँदेखि विद्युत्विहीन भएको, तर सम्बन्धित व्यक्तिहरूले फोनसमेत नउठाउने गरेको भन्दै सांसद महतले आलोचना गरे ।

सांसद महतले आलोचना गरेपछि प्राधिकरणले जुम्लाका लागि ३०० केभीको डिजेल प्लान्ट पठाएको हो । डिजेल प्लान्टसँग एक जना कर्मचारीको व्यवस्था गरे पनि प्राधिकरणले डिजेल उपलब्ध नगराएकाले उपकरण थन्किएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए ।

“प्राधिकरणले जुम्लाका सांसदको रिस थाम्नका निम्ति मात्रै विद्युत् उकरण दिएको रहेछ”, उनले व्यङ्ग्य गर्दै भने, “प्राधिकरणले उपलब्ध गराएको डिजेल प्लान्ट हरियो घाँस र पानी हाल्दा पनि चलेन । प्रतिघन्टा ५० लिटर डिजेल खर्च हुन्छ । यो खर्च यहाँबाट जुटाउन सकिएन ।” प्राधिकरणले डिजेल उपलब्ध नगराएपछि मेसिन थन्किएको उनको भनाइ छ ।

अहिले सांसद महतले स्थानीय पूर्वाधार कोषबाट रु २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेसिन खरीद गरी बिजुली बालिएको अध्यक्ष बुढ्थापाले बताए । 

ज्याक्सन कम्पनीको दुई सय केभी ९१६० किलोवाट० को मेसिनबाट बिजुली बालिएको उनको भनाइ छ । डिजेलबाट बिजुली बाल्दा बढी खर्च हुने भएकाले एक दिनमा नौ घन्टा मात्र विद्युत् आपूर्ति गर्न सकिएको अध्यक्ष बुढ्थापाले बताए ।

जुम्ला सदरमुकाम बत्तीविहीन भएपछि सरकारी कामकाजदेखि जनतालाई चाडपर्वको बेला अँध्यारो भएको भन्दै सांसद महतको सांसद विकास कोषबाट रु ५० लाख अल्पकालीन बत्ती बाल्नका लागि विनियोजन गरिएको हो ।

तीन दशकअघि निर्माण भएको साना जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्न गत कात्तिकदेखि विद्युत् आपूर्ति बन्द गरिएको थियो । 

तर नयाँ मेसिन जडान गर्ने क्रममा ‘बेरिङ’ भाँचिएपछि विद्युत् आपूर्ति सहज हुन सकेको छैन । मेसिन मर्मतका लागि धनगढी पठाएको मेसिन एक–दुई दिनमा जुम्ला पुग्ने र भदौ मसान्तसम्म पानीबाट बिजुली बाल्ने तयारी भइरहेको साना जलविद्युत् उपभोक्ता समिति अध्यक्ष बुढ्थापाले बताए ।

नयाँ मेसिन जडानका लागि नेपालस्थित भारतीय दूतावासले सहयोग गरेको थियो । भारतीय कम्पनी पासी शुभकामना जेभीलाई जडानको ठेक्का दिइएको थियो । सो कार्यका लागि भारतीय दूतावासले रु दुई करोड ६३ लाख ७७ हजार र साना जलविद्युत् उपभोक्ता समितिको ४५ लाख २२ हजार ९०० लगानी रहेको छ । 

नयाँ मेसिनको बेरिङ भाँचिएपछि डिजेल प्लान्ट जडान गरिएको हो । उपभोक्ता समितिले स्थानीय पूर्वाधार कोषको रु २६ लाख ४० हजार खर्च गरेर एक सय ६० किलोवाटको डिजेल प्लान्ट जडान गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप