हाम्रो बारेमा

रातोपाटी  : सबैको र सबैभन्दा राम्रो 

मिर्मिरेमै पहिलो पाइला
सञ्चार प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले वर्तमानमा सारा संसार नै एउटा सानो गाउँसरह बनेको छ । पत्रकारिताको विकास क्रममा साप्ताहिक वा दैनिक पत्रपत्रिका, रेडियो अनि टेलिभिजन जस्ता सञ्चार माध्यमको आआफ्नै किसिमको योगदान रह्यो । तर अहिले सञ्चारका यी सबै माध्यमलाई एकसाथ प्रतिनिधित्व गर्ने, यी सबैका गुण एकसाथ पाइने अनलाइन न्युज पोर्टलहरू मूलधारको मुख्य सञ्चार माध्यम साबित भएका छन् । सञ्चार माध्यमको यो पछिल्लो विकासको मिर्मिरेमै डिस्कभरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले आफ्नो यात्रा आरम्भ गरेको हो ।

दुई भाषामा संस्करण
–नेपालमा के भइरहेको छ अनि विश्वको अन्य भागमा पनि केके भइरहेका छन् ? सबैतिरको खबर र विचार सबैतिरकाले पढ्न, थाहा पाउन र मनन गर्न सकून् भनी रातोपाटी डटकमले नेपाली र अङ्ग्रेजी भाषाका दुई संस्करणमा सेवा दिँदै आएको छ । यसो गर्दा रातोपाटी डटकम विश्वभर फैलिएका नेपालीमाझ त लोकप्रिय छ नै, नेपाली भाषा नबुझ्ने तर नेपाल बुझ्न चाहने अङ्ग्रेजी भाषीहरू पनि लाभान्वित भएका छन् ।
–रातोपाटी डटकमले नेपाली भाषामा अनलाइन न्युज टेलिभिजन पनि सञ्चालनमा ल्याएको छ, जुन नेपालमा यो प्रकृतिको पहिलोसमेत हो ।    

तीन खम्बा
–रातोपाटी डटकम समयको भरपर्दो साक्षी हो । यसले डिजिटल अक्षर, स्वर र दृश्यको माध्यमबाट प्रतिक्षण वर्तमानको सही अभिलेख राख्छ ।
–राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरूमा विशेष केन्द्रित रातोपाटी डटकममा विज्ञान प्रविधि, सांस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकुद र मनोरञ्जनसँग सम्बन्धित सामग्रीका साथै विश्वभर फैलिएका नेपाली ‘डायस्पोरा’का हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि पोस्ट हुन्छन् । ती सधैँ तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय हुन्छन् ।
–भरपर्दा समाचार स्रोत, विद्वान् लेखक, उदारमना विज्ञापनदाता र शुभेच्छुकहरूको अटुट साथ, सहयोग र स्नेह पाएकाले गर्दा रातोपाटी डटकम प्रतिष्ठित सञ्चार प्रतिष्ठान बन्न सफल भएको छ ।

चार चिजमा चनाखो
पत्रकारितालाई हतारको साहित्य भनिन्छ, त्यसमाथि पनि अनलाइन न्युज पोर्टलहरू त छिनछिनमै ‘अपडेट’ भइरहनुपर्छ, यस्तो स्थितिमा पनि रातोपाटी डटकम–
पत्रकारिताका आधारभूत मूल्य मान्यता,
पत्रकार आचार संहिता,
प्रचलित कानुन र
संविधानको पालना गर्न सदा सचेत र पूर्ण प्रतिबद्ध छ । 

पाँच प्रण
–पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी पनि जिज्ञासु छौँ र त प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको साङ्गोपाङ्गो जवाफ खोज्छौँ ।
–पेसागत मर्यादा र निष्ठाका कारण जे, जे हो त्यो नै हो भन्छौँ हामी । राम्रो काम गर्न खोज्नेलाई शुभ साइतको रातो टीका लगाइदिन्छौँ । राम्रो काम सफलतापूर्वक सम्पन्न गर्नेलाई विजयको रातो अविर लगाइदिन्छौँ । हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिचकिचाहट रातो चिह्न पनि लगाइदिन्छौँ । अर्थात् कुनै प्रलोभनमा परेर अथवा पूर्वाग्रह राखेर नराम्रोलाई राम्रो र राम्रोलाई नराम्रो भन्दैनौँ । 
–हामी सबैका हौँ तर मजदुर, किसान लगायत पिछडिएका क्षेत्र,वर्ग तथा सीमान्तकृत समुदायका सरोकार अर्थात् आवाजहीनहरूको आवाजलाई प्राथमिकता दिन्छौँ ।
–नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी तथा सार्वजनिक ओहोदाधारी वडासदस्यदेखि मुख्य मन्त्री, सांसद, प्रधानमन्त्री एवं राष्ट्रपतिसम्मलाई आआफ्नो जिम्मेवारीमा इमान र लगनका साथ क्रियाशील हुन प्रोत्साहित गर्छौं भने तिनीहरू कर्तव्यच्यूत नहुन् भनेर खबरदारी पनि गर्छौं । 
–निजी क्षेत्रका गतिविधिमाथि पनि निरन्तर निगरानी गर्दै नाफाखोर, बिचौलिया र भुइँफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउन लागिपर्छौं ।
ध्येय छ 

 –नेपाली जनताको दशकौँदेखिको सङ्घर्ष र नेपाल आमाका हजारौँ सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । यो युगीन परिवर्तन जोगाउँदै नेपालीको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्नुछ । 
 –नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमान रक्षाका लागि निरन्तर समर्पित हुनुछ ।
 –संविधानको सर्वोच्चता, समावेशी समानुपातिक लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, सुशासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक र अधिकार अविछिन्न राख्नुछ ।
 –राष्ट्रिय एकता कायम राख्न र नागरिकका बीच भाइचारा बढाउन क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्द्धन गर्नुछ ।
 –शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता आधारभूत आवश्यकता पूरा गराई जनताको जीवनस्तर सुधार्न स्रोत साधनको न्यायोचित वितरण र आर्थिक उन्नति गराउनुछ ।
 –हाम्रो नेपाल सुन्दर छँदैछ, यसलाई शान्त, सभ्य र समृद्धसमेत बनाउनुछ ।

सातै प्रदेशमा शाखा
सदियौँसम्म राजतन्त्रात्मक र केन्द्रीकृत शासन प्रणाली रहेको हाम्रो मुलुकमा जनआकाङ्क्षा अनुरूप लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै सङ्घीयता पनि स्वीकार गरियो । शासन प्रणालीमा आएको यो परिवर्तनअनुसार नै रातोपाटी डटकमले सातै प्रदेशमा ब्युरो खडा गरी प्रदेश पोर्टल सञ्चालन गर्दै आएको छ भने राजधानीमा आफ्नै भवनमा केन्द्रीय कार्यालय छ । 
 
आठै प्रहर जागा
घटना सँगसँगै सूचना अर्थात् समय सँगसँगै समाचार अर्थात् छिनछिनको पत्रकारिता ! यो मामिलामा रातोपाटी डटकम अग्रणी छ । योग्य जनशक्ति सम्मिलित रातोपाटीको पोख्त टिम अहोरात्र अर्थात् आठै प्रहर जागा रहन्छ ।  

नौ लाख भन्दा बढी लाख पाठक
रातोपाटी डटकमको सबैभन्दा प्रमुख शक्ति, मेरुदण्ड नै हाम्रा आदरणीय पाठक हुन् । नेपाल सरहदभित्र र विश्वका विभिन्न मुलुकमा फैलिएका नेपाली र अरू पनि हाम्रा पाठक छन् । रातोपाटी अनलाइन टीभीका दर्शकबाहेक नै दैनिक नौ लाखभन्दा बढी पाठकले रातोपाटी पढ्छन् । यो सङ्ख्या दिनहुँ बढ्दो छ, निरन्तर... ।

सङ्कल्प र विश्वास 
रातोपाटी डटकम सबैको हो भन्ने सत्य साबित भइसकेको छ । रातोपाटी डटकमलाई सबैभन्दा राम्रो अनलाइन न्युज पोर्टल बनाउने हाम्रो दृढ सङ्कल्प छ ।
सचेत पाठक, विद्वान् लेखक, भरपर्दा समाचार स्रोत, उदारमना विज्ञापनदाता र शुभेच्छुकहरूको साथ, सहयोग र स्नेहले हाम्रो यो चुनौतीपूर्ण सङ्कल्प साकार हुनेमा विश्वस्त छौँ हामी ।