कमलसिंह ऐरी नेपाली राष्ट्रिय टोलीका अलराउन्डर खेलाडी हुन् । २३ वर्षीय कमलले पनि देशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । तर, उनसँग सिनियर टोलीबाट धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव भने छैन ।
कमलले हालसम्म देशका लागि तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय र १० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको तीन पालीमा उनले २७ को औसतले कुल २७ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको स्ट्राइक रेट भने ११२.५० रहेको छ । उनको उच्च स्कोर अविजित १८ रन हो । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले हालसम्म दुईवटा चौकामात्र प्रहार गरेका छन् ।
यसै गरी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको तीन पालीमा उनले ६.०० को औसतले केवल १८ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर १३ रन हो । यो ढाँचाको प्रतियोगितामा उनले एक चौका र एक छक्का हिर्काएका छन् ।
यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा दुईवटा विकेट पनि लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ५६ रन खर्चिएर दुई विकेट हो । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनले १५ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १५ रन खर्चिएर तीन विकेट हो ।
कमलसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सन् २०२१ को अप्रिल २२ तारिखमा ‘डेब्यू’ गरेका थिए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको मलेसियाविरुद्धको त्यो खेलमा उनले ३.१ ओभरमा केवल १६ रन खर्चिएर तीन विकेट लिएका थिए । त्यो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो ।
कमलले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको अन्तिम खेल भने सन् २०२२ को अप्रिल २ तारिखमा खेलेका थिए । अर्थात् पछिल्लो दुई वर्षयता उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । कीर्तिपुरमा मलेसियाविरुद्ध नै खेलिएको आफ्नो अन्तिम खेलमा उनले दुई ओभरमा २० रन खर्चिएर दुई विकेट लिएका थिए । त्यो खेलमा पनि नेपाल ८५ रनले विजयी भएको थियो ।
कमलसिंह ऐरीले हालसम्म पाँचवटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । त्यसमा उनले १६.५० को औसतले कुल ३३ रन बनाएका छन् । उनको उच्च स्कोर अविजित १८ रन हो । लिस्ट ‘ए’ क्रिकेटमा उनले सात विकेट पनि लिएका छन् ।
यसै गरी उनले हालसम्म १५ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० प्रतियोगिताको सात पालीमा उनले कुल ५४ रन बनाएका छन् । उनको उच्च स्कोर अविजित १९ रन हो । उनले दुईवटा क्याच पनि लिएका छन् । टी–२० प्रतियोगितामा उनले २१ विकेट लिइसकेका छन् ।
विश्वकप यात्राका लागि प्रस्थान गर्नुअघि उनले घरेलु मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीसँग टी–२० शृङ्खला खेलेका थिए । पाँच खेलको शृङ्खलामा उनले दुईवटा खेलमात्र खेल्ने अवसर पाएका थिए ।
शृङ्खलाको पहिलो खेलमा उनले ब्याटिङ गर्ने अवसर पाएनन् । तर, बलिङतर्फ भने उनले ५३ रन खर्चिएर एक विकेट लिएका थिए । शृङ्खलाको तेस्रो खेलमा उनले ६ रन बनाएका थिए । बलिङतर्फ उनले ५३ रन खर्चिए पनि विकेट लिन सकेका थिएनन् ।
त्यसअघि उनले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’विरुद्ध शृङ्खला पनि खेलेका थिए । आयरल्यान्डविरुद्धको पहिलो टी–२० मा उनले ३९ रन खर्चिएर तीन विकेट लिएका थिए । उनले दोस्रो टी–२० मा ११ रन बनाएका थिए भने एक विकेट पनि हात पारेका थिए ।
यसै गरी तेस्रो टी–२० मा उनले अविजित १९ रन बनाएका थिए भने एक विकेट पनि लिएका थिए । त्यसपछि उनले आयरल्यान्डविरुद्ध दुईवटा लिस्ट ‘ए’ प्रतियोगिता पनि खेलेका थिए । उनले पहिलो लिस्ट ‘ए’ प्रतियोगितामा ६ रन बनाएका थिए भने २१ रन खर्चिएर चार विकेट लिएका थिए । उनले दोस्रो लिस्ट ‘ए’ प्रतियोगितामा ३३ रन खर्चिएर एक विकेट हात पारेका थिए ।