बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
cover-story
न्यूयोर्क

नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम

नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम अमेरिकाको न्यूयोर्कमा रहेको छ । आईसीसी टी–२० विश्वकपलाई ध्यानमा राखी यो स्टेडियम तयार पारिएको हो । यो स्टेडियम ३४ हजार दर्शक क्षमताको रहेको छ । 

समग्रमा टी–२० विश्वकपका लागि अस्थायी रूपमा यो स्टेडियम तयार पारिएको हो । नासाउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियमको निर्माण कार्य यही करिब एक महिनाअघि मात्र पुरा भएको हो । निर्माण पुरा भएलगत्तै उक्त स्टेडियमको औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।

आगामी विश्वकपमा सर्वाधिक चर्चामा रहेको दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तनबिचको खेल पनि यही स्टेडियममा खेलाइने छ । उक्त खेल जुन ९ तारिखमा खेलिने छ । यो स्टेडियमको उद्घाटन समारोहमा न्यू योर्क सहरमा रहेका विभिन्न खेलका चर्चित खेलाडीहरूको उपस्थिति रहेको थियो । 

उद्घाटन समारोहमा विश्वकै सबैभन्दा तीव्र गतिका धावक उसेन बोल्ट पनि उपस्थित थिए । यसका अतिरिक्त वेस्ट इन्डिजका चर्चित क्रिकेटर सर कर्टली एम्ब्रोस, पाकिस्तानका सोएब मलिक, इङ्ल्यान्डका लियाम प्लंकेटलगायतका क्रिकेट पनि सहभागी भएका थिए । अमेरिकी क्रिकेट खेलाडी कोरी एन्डर्सन र मोनांक पटेल पनि कार्यक्रममा उपस्थित थिए ।

सन् २०२१ को नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ को टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा आयोजना गर्ने निर्णय लिएको थियो । त्यसपछि यी दुवै राष्ट्र विश्वकपमा तयारीमा जुटेका थिए ।

खासगरी अमेरिकामा क्रिकेटका पूर्वाधारको निकै अभाव थियो । आईसीसीले सन् २०२३ को जुलाईमा अमेरिकामा हुने विश्वकपका खेलहरू खेलाउने सहरको टुङ्गो लगाएको थियो । त्यसैले निकै कम समयमा यो स्टेडियमको निर्माण कार्य पुरा गरिएको हो । 

यो स्टेडियममा हालसम्म कुनै खेल खेलिएको छैन । तर, औपचारिक रूपमा विश्वकप सुरु हुनुअघि यो स्टेडियममा भारत र बंगलादेशबिच अभ्यास खेल खेलिने छ । उक्त अभ्यास खेल दर्शकको उपस्थितिमा जुन १ तारिखमा खेलिने छ । 

आगामी विश्वकपमा यो स्टेडियममा समूहगत चरणका आठवटा खेल खेलाइने कार्यक्रम रहेको छ । यो स्टेडियममा जुन ३ मा श्रीलंका र दक्षिण अफ्रिकाबिच पहिलो खेल खेलिने छ । दोस्रो खेल भारत र आयरल्यान्डबिच जुन ५ मा खेलिने छ ।

यसैगरी जुन ७ मा क्यानडा र आयरल्यान्ड, जुन ८ मा नेदरल्यान्ड्स र दक्षिण अफ्रिका, जुन ९ मा भारत र पाकिस्तान, जुन १० मा दक्षिण अफ्रिका र बंगलादेश, जुन ११ मा पाकिस्तान र क्यानडा तथा जुन १२ मा अमेरिका र भारतबिच खेल हुनेछ ।

खेल तालिका