बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
cover-story
ट्रिनिडाड एन्ड टोबागो

ब्रायन लारा क्रिकेट एकेडेमी

ब्रायन लारा क्रिकेट एकेडेमी ट्रिनिडाड एन्ड टोबागोमा रहेको छ । यो बहुउद्देश्यीय स्टेडियम हो । यो स्टेडियमको निर्माण कार्य सन् २०१७ मा पुरा भएको थियो । सोही वर्ष यो स्टेडियमको उद्घाटन पनि गरिएको थियो । यो स्टेडियमको निर्माण कार्य भने सन् २००४ मै सुरु गरिएको थियो । 

अन्य खेलसमेत खेलिने भए पनि यो स्टेडियम क्रिकेटका लागि चर्चित छ । यो स्टेडियम कुल १५ हजार दर्शक क्षमताको रहेको छ । यो स्टेडियमको नाम वेस्ट इन्डिजका महान् क्रिकेटर ब्रायन लाराको नाममा राखिएको हो । 

लारा आफ्नो समयका प्रभावशाली खेलाडी हुन् । उनको नाममा अझै पनि विश्व क्रिकेटका थुप्रै कीर्तिमान रहेका छन् । सन् २००८ को अक्टोबर १७ तारिखसम्म उनी टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा थिए । त्यसपछि उनको कीर्तिमान भारतीय खेलाडी सचिन तेन्दुल्करले तोडेका थिए । 

ब्रायन लाराको एउटा भनाई विश्व खेलकुदमा अहिले पनि निकै चर्चित छ । उनी नयाँ कीर्तिमान बनाएपछि भन्ने गर्थे, ‘कीर्तिमानहरू तोडिनैका लागि बन्ने गर्छन् ।’ यो स्टेडियममा सन् २००७ को एकदिवसीय विश्वकपको अभ्यास खेल खेलाउने कार्यक्रम थियो । 

तर, रंगशालाको निर्माण कार्य पुरा नभएकाले त्यो योजना सम्भव हुन सकेन । सन् २०१७ मा क्यारेबियन प्रिमियर लिगको फाइनल खेल यही स्टेडियममा खेलाइएको थियो । यो स्टेडियममा खेलिएको सबैभन्दा ठुलो प्रतियोगिता त्यही थियो । 

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका केही खेल यो स्टेडियममा खेलाउने कार्यक्रम रहेको छ । आगामी विश्वकपको कुल पाँच खेल यो स्टेडियममा खेलाइने छ । 

समूहगत चरणमा वेस्ट इन्डिज र न्युजिल्यान्ड, अफगानिस्तान र पपुवा न्यु गिनी, युगान्डा र न्युजिल्यान्ड तथा पपुवा न्यु गिनी र न्युजिल्यान्डबिचको खेल यो स्टेडियममा खेलाइने छ । यसका अतिरिक्त विश्वकपको पहिलो सेमिफाइनल खेल पनि यही स्टेडियममा खेलाइने छ । 

खेल तालिका