बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
cover-story
सेन्ट लुसिया

ड्यारेन सामी क्रिकेट स्टेडियम

ड्यारेन सामी क्रिकेट स्टेडियम सेन्ट लुसियामा रहेको छ । यो स्टेडियमको पुरानो नाम ब्युजजोर क्रिकेट मैदान रहेको थियो । यो स्टेडियमको निर्माणकार्य सन् २००२ मा सम्पन्न भएको हो । यो स्टेडियम १५ हजार दर्शक क्षमताको रहेको छ । 

निर्माणकार्य पुरा भएपछि यो स्टेडियममा क्रिकेट घरेलु प्रतियोगिताहरू आयोजना गरिएको थियो । खास गरी विन्डवार्ड आइल्यान्ड क्रिकेट टोलीले यो स्टेडियमलाई आफ्नो घरेलु मैदानका रुपमा प्रयोग गर्ने गरेको छ । 

यो स्टेडियममा सन् २००३ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो । त्यो खेल वेस्ट इन्डिज र श्रीलंकाबिच खेलिएको थियो । क्यारेबियन क्षेत्रमा दिवा–रात्री एकदिवसीय प्रतियोगिता आयोजना गर्ने यो क्यारेबियन क्षेत्रको पहिलो स्टेडियम पनि हो ।

यो स्टेडियम निकै सुविधा सम्पन्न रहेको छ । २२ एकड क्षेत्रफलमा फैलिएको यो स्टेडियममा विशेष अतिथिका लागि १८ वटा कोठा रहेका छन् । प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीका लागि छुट्टाछुट्टै जिमको व्यवस्था पनि गरिएको छ । 

सन् २०१६ को जुलाई २१ तारिखमा यो स्टेडियमको पुरानो नाम परिवर्तन गरी ड्यारेन सामी क्रिकेट स्टेडियम राखिएको थियो । ड्यारेन सामी वेस्ट इन्डिजका पूर्वक्रिकेटर हुन् । उनी आफ्नो समयका प्रभावशाली खेलाडी थिए ।

सामीकै कप्तानीमा वेस्ट इन्डिजले दुईपटक आईसीसी टी–२० विश्वकपको उपाधि चुमेको थियो । उनले सन् २०१२ र सन् २०१६ मा वेस्ट इन्डिजलाई टी–२० विश्वकपको उपाधि दिलाएका थिए । वेस्ट इन्डिज दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र पनि हो । 

ड्यारेन सामी कप्तानको भूमिकामा क्यारेबियन राष्ट्रलाई दुईपटक विश्वकपको उपाधि दिलाउने दोस्रो खेलाडी हुन् । यसअघि क्लाइभ लोयडले वेस्ट इन्डिजलाई दुईपटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए । 

यो स्टेडियमको एक भागको नाम भने जोन्सन चार्ल्सको नाममा राखिएको छ । वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा टी–२० विश्वकपको उपाधि जित्दा जोन्सन चार्ल्स पनि टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

यो स्टेडियममा यसअघि सन् २००७ को एकदिवसीय विश्वकपको केही खेल पनि खेलाइएको थियो । त्यो विश्वकपको अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको सेमिफाइनल खेल पनि यही रंगशालामा खेलाइएको थियो । उक्त खेलमा अस्ट्रेलिया सात विकेटले विजयी भएका थिए । 

यसैगरी सन् २०१० को टी–२० विश्वकपको १० वटा खेल यो स्टेडियममा खेलाइएको थियो । त्यो विश्वकपको दुवै सेमिफाइनल खेल पनि यही रंगशालामा खेलाइएको थियो । आगामी जुनमा आयोजना हुने टी–२० विश्वकपमा भने यो स्टेडियममा समूहगत चरणको तीन र सुपर–८ चरणको तीन गरी कुल ६ वटा खेल खेलाइने छ । 

खेल तालिका