बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
cover-story
गुयना

प्रोभिडेन्स स्टेडियम

प्रोभिडेन्स स्टेडियम गुयनामा रहेको छ । त्यसैले यो स्टेडियमलाई ‘गुयना नेशनल स्टेडियम’ पनि भनिन्छ । यो स्टेडियमको निर्माणकार्य सन् २००६ मा सम्पन्न भएको हो । सन् २००७ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको आठवटा खेल यो रंगशालामा खेलाइएको थियो । 

त्यो विश्वकपको सुपर–८ चरणको खेल पनि यो स्टेडियममा खेलाइएको थियो । त्यो विश्वकपका क्रममा यो रंगशालामा खेलिएको श्रीलंका र दक्षिण अफ्रिकाबिच खेलिएको खेल निकै चर्चित बनेको थियो । त्यो खेलमा श्रीलंकाका तिब्रगतिका बलर लासिथ मालिंगाले लगातार चार बलमा चार विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए । यस्तो सफलता हात पार्ने उनी पहिलो बलर हुन् ।

यो स्टेडियम निकै सुविधायुक्त रहेको छ । खासगरी सन् २००७ को विश्वकपलाई ध्यानमा राखेर नै यो रंगशाला निर्माण गरिएको थियो । यो स्टेडियममा थुप्रै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना भइसकेको छ । 

सन् २०१६ मा यो स्टेडियममा दिवा–रात्रि एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलिएको थियो । यो स्टेडियममा सन् २००८ मा श्रीलंका र वेस्ट इन्डिजबिच पहिलो पटक टेस्ट क्रिकेट खेलिएको थियो । सन् २०१० मा सम्पन्न आईसीसी टी–२० विश्वकपको समूहगत चरणको ६ वटा खेल पनि यो स्टेडियममा खेलाइएको थियो ।

यो स्टेडियममा क्रिकेटका अतिरिक्त फुटबल, रग्बीजस्ता अन्य खेल पनि खेलाउने गरिन्छ । सन् २०१० मा मध्य अमेरिकी तथा क्यारेबियन खेलकुद प्रतियोगिता पनि यही स्टेडियममा आयोजना भएको थियो । यो स्टेडियम २० हजार दर्शक क्षमताको रहेको छ । 

टी–२० विश्वकपको नवौँ संस्करणमा यो स्टेडियममा कुल ६ वटा खेल खेलाउने कार्यक्रम रहेको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि जुन २७ तारिखमा यही स्टेडियममा खेलाइने छ । 

खेल तालिका